Sunday, July 30, 2023

डेँगुः परिचय, साबधानी र उपचार

 

डेँगुः परिचय, साबधानी र उपचार

 

डेँगु ज्वरो केहो ?

डेँगु Aedes adegypti जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा ज्वरो हो ।

डेँगु सार्ने लामखुट्टे कहाँ पाइन्छ ?

१.यो लामखुट्टेले सफा पानीमा फुल पार्छ ।

२.वर्षातको समयमा पानी जमेका टिनका डब्बा, रङका खाली बट्टा, टायर, ट्युब, गमला, फूलदानी, एयरकण्डिसन, पानीट्याङ्की आदिमा समेत फुल पार्दछ ।

यो लामखुट्टेको टोकाईबाट बच्न बच्न के गर्ने ?

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो भन्ने भनाइ अनुसारको साबधानी आवश्यक अपनाउनु बुद्धीमानी हो । जस अनुसार

१.   घर वरपर वा कुनै पनि टोकरी बट्टा आदिमा पानी जम्न नदिने ।

२.   ट्याङ्की, कुलर, फूलदानीहरू हरेकदिन सफा गर्ने

३.   पानी जमेको खाल्डाखुल्डीमा भएका लामखुट्टेको लार्भा मार्न स्थानीय तहसँग समन्वय गरी औषधी छर्ने ।

४.   हमेसा लामो बाहुला भएको कपडा लगाउने

५.   घारी, झाडी, फोहोर स्थानमा नबस्ने ।

६.   घर वरपर पानी जम्न नदिने । घर, वस्तीको सरसफाईमा सामुहिक प्रयास गर्ने ।

७.    राति सुत्दा झुल लगाउने वा धुप तथा लिक्विड (रिपेलेण्ट) प्रयोग गर्ने

लाम खुट्टेले दिउँसो मात्र टोक्नेगर्दछ । तर रातमा पनि साबधानी अपनाउनुपर्दछ ।

डेँगुका लक्षणहरू

१.एक्कासी उच्च ज्वरो आउनु । ज्वरो १ देखी ४ दिनसम्म उच्च हुने र ५ देखि ७ दिनसम्म रहिरहन सक्छ ।

२.धेरै टाउको दुख्ने, आँखाको गेडी तथा टाउकोको पछाडिको भाग दुख्ने

३.हाडजोर्नी तथा माङ्सपेशी दुख्ने

४. वाकवाकी तथा वान्ता हुने

५. पेट दुख्ने

६. नाक वा गिजाबाट रगत बग्ने

७. शरीरमा निलडाम तथा बिमिरा देखा पर्ने

डेँगु ज्वरोको उपचार

१.डेँगु भाइरसका कारण लाग्ने भएकाले यसको खास उपचार छैन तर बिरामीमा देखिएका लक्षण अनुसार उपचार गर्ने गरिन्छ ।

२.ज्वरो घटाउन सिटामल तथा शरीरमा ऊर्जा प्रदान गर्न प्रसस्त झोल कुरा खानुपर्दछ । कुनै किसिमको आइब्रुपोफेन र एसपिरिन जस्ता औषधी खानु हुँदैन ।

३. डेँगुको लक्षण देखा परेमा नजिकैको अस्पताल जानु नै हितकर हुनेछ ।

डेँगु सजिलै निको हुने ज्वरो हो । डराउने, आत्तिने भन्दा पनि उच्च मनोबलका साथ उपचार गरे चाँडै निको हुन्छ । अरुलाई डर देखाउने तर्साउनेभन्दा पनि आत्मबल प्रदान गरौँ । एकलभन्दा सामुहिक प्रयासबाट यसको जोखिम घटाउन सकिन्छ ।

स्वास्थ्य सेवी रविन खड्काको सहयोगमा तयार पारिएको सामग्री

 

गोधूलि गीतको सन्देश : माओवादीसँग दु:खेसो, रास्वपासँग शंका

 

गोधूलि गीतको सन्देश : माओवादीसँग दु:खेसो, रास्वपासँग शंका

‘एउटा कुरा भनौं दिदी ?’ उसले सोध्यो।

‘के कुरा ?’

‘आज चामलको भात खाएर मज्जा लाग्यो।’

मासु पाकेको छाक चामलको भात खान पाएको बेलुकी ईश्वरी बुढा मगरसँग खुशी साटेको थियो १० वर्षे कमरेड खड्गबहादुर पुनले। माओवादी लडाकुले दिनैपिच्छे चामलको भात खान्छन् भन्ने सुनेर ऊ माओवादीमा आएको थियो। तर त्यहाँ पनि चामलको भात खान नपाउँदा विरक्तिएको थियो।

बालबालिकालाई सुरक्षाकर्मीले शंका नगर्ने हुँदा झोलामा ग्रिनेड र चिठी बोकाउने जस्ता काममा प्रयोग गरिएको छ।

ताप्लेजुङका भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ को अंश हो माथिको संवाद। यस अघि रुमानी साँझ कथा सङ्ग्रह प्रकाशित गरिसकेका बोखिमको दोस्रो कृति हो। बीबीसी र एण्टेना फाउण्डेसन नेपालमा गरी नौ वर्षजति काम गर्दाको अनुभव र अध्ययनबाट यो उपन्यास लेखेका हुन्। कलम प्रकाशनले प्रकाशित गरेको उपन्यास ३६१ पृष्ठको रहेको छ।

यो गोधूलि गीतको समीक्षा भन्दा पनि त्यसमाथि एउटा पाठकीय दृष्टिकोण र समयको स्वरसँग उपन्यासको तादाम्यता खोज्ने प्रयत्न मात्र हो।

जसले उपन्यासलाई जीवन्त बनाएको छ

सुन्दै कौतूहल लाग्ने रुमानी साँझ कथा सङ्ग्रह प्रकाशित गरेका भानु बोखिमले त्यति आकर्षक र आधुनिक नलाग्ने शीर्षक ‘गोधूलि गीत’ किन पस्किए ? मसँग जस्तै तपाईंसँग पनि यो प्रश्न हुनसक्छ। तर पुस्तक पढेपछि त्यो जिज्ञाशाको चित्तबुझ्दो निवारण भेटिनेछ।

‘गोधूलि साँझ’ वनबाट चरेर फर्केका गाईबस्तुले बाटोमा उडाएको धुलो र अस्ताउँदो रातो घामले उडेको धुलोमा छर्ने रङको सुन्दरता यसको सकारात्मक पाटो, धुलो उडेर बस्तु धपाउँदै हिंड्ने गोठाला र बाटो छेउका बस्तीमा पर्ने प्रदूषण र असर, यो नकारात्मक पाटो। तत्कालीन संघर्षलाई निरपेक्ष भएर हेर्ने हो भने त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन्। ती दुवै पाटाहरूलाई स्पष्ट औंल्याएर लेखिएको गोधूलि गीतको प्रशंसनीय र सच्याउन सकिने दुवै पाटा छन्।

उपन्यासमा अनेकन् पात्रका अनेकन् कथा समेटिएका छन्। राजनीति र सशस्त्र संघर्षले छुनै नहुने वर्ग शिक्षक, साना नानीहरू र तिनको परिवारलाई कसरी प्रभावित पारेको छ ? जसले राजनीति कहिल्यै सोचेन, जानेन, रुचि बनाएन, त्यही वर्ग युद्धमा होमिन र बलिदानी गर्न कसरी बाध्य हुन्छ ? एउटा गहन प्रश्न र प्राप्त नभएको त्यसको जवाफ वा नतिजा हो गोधूलि गीत।

‘क्रान्तिकारी लडेर मर्छ र लडेरै बाँच्छ’

तालिमका क्रममा प्रशिक्षकबाट आएको यो भनाइ ठूला क्रान्तिकारी जति बाँचेर सानाहरू मरेर भए पनि सार्थक भएको छ। सशस्त्र संघर्षमा भूमिगत राजनीतिक दलको संगठन निर्माण, भूमिगत अवस्थाका अप्ठ्यारा, जनताको समर्थन, सरकारी पक्षबाट हुने निगरानी र आक्रमण, त्यसभित्रका सूक्ष्म व्यवस्थापन र अप्ठ्यारा सबै कुरा मिहिन ढंगले एक युद्ध अनुभवीको बयान झैं सलल बगेका छन्।

चार वटी श्रीमती ल्याएको दोषमा श्रमशिविरमा रहेको रामकुमार कार्की भागेकै कारण भोजपुरको पिप्ले एरिया कमाण्डरबाट ईश्वरीलाई हटाएर जलपुर सरुवा गरिनु र लडाकुको अपेक्षा विपरीत कमरेड अमरलाई जिम्मेवारी दिइनुलाई नेतृत्व आफ्नो अनुकूल पार्ने तिकडमको राजनीति देखिन्छ।

यस्तै धरानमा बीए पढ्दै गरेको झापाको ठिटो, रसियन साहित्यबाट प्रभावित भएर परिवारको समर्थन विना नै कमरेड असिम बनेर संघर्षमा होमिन्छ। तर बाबुको सम्पत्ति र दाजुदिदी सरकारी जागिरे भएकै कारण उसलाई कहिल्यै विश्वास गरेर जिम्मेवारी दिइँदैन। यसरी सँगै संघर्ष गरेका माथि अविश्वास, गुटबन्दी जस्ता विकृत राजनीति बन्दुकको नालसँगै भित्रिएको सत्य जीवन्त लाग्छ।

नेतृत्व समर्थनबाट नभई शक्तिबाट लिनुपर्छ भन्ने उदाहरण प्रेमकलाको अभिव्यक्ति र सफलताले स्पष्ट पार्छ। एउटा प्रहरीको प्रेममा परेर छोरी सहित छाडिएकी उनमा राजनीतिक भन्दा बढी बदलाको भावना छ। सबैभन्दा चाँडो केन्द्रीय सदस्य र सभासद् बनेर सम्भ्रान्त र व्यापारीको घेरामा परेकी उनले ईश्वरीलाई उस्तै प्रेरणा भर्छिन्- पार्टीको काम मात्र गरेर हुँदैन ईश्वरी, पार्टीमा आफ्नो स्थान पनि बनाउनुपर्छ। त्यसका लागि चलखेल चाहिन्छ। र, पार्टीले पत्याएर मात्र हुँदैन देशका विद्वान, व्यापारी र ठूलाठालुले पनि पत्याउनुपर्छ। मैले सिफारिस नगरेकी भए तिमी नै कहाँ जिल्ला सेक्रेटरी हुन्थ्यौ त !

पदबाट हटाइदा पनि दुखी नभएकी ईश्वरी आफ्नो कर्म र क्षमताले भन्दा पनि कसैको सिफारिसले आफू जिल्ला सेक्रेटरी भएको थाहा पाएर निराश हुन्छे।

रोल्पाकै परिवेशमा लेखिनु उपन्यासको बलियो पक्ष हो भने एउटा लडाकु वा युद्ध अनुभवीले लेखेझैं युद्धका दृश्य, शब्द र भाषाको प्रयोग, रोपाईंमै प्रहरीको आक्रमण र शहादत, साँझ घरैमा गफ गर्दैगर्दा महिलाहरूमाथि गोली प्रहार र जबरजस्ती करणी, सँगै कलेज पढेको प्रहरी साथीसँग कुरा गरेकै भरमा आफ्नै समर्थक शिक्षकमाथि सुराकीको आरोपमा हत्या, गरिबलाई ऋण दिएर घरजग्गा हडप्नेमाथिको कारबाही, बालबालिकाको प्रयोग र क्षतिमा समाजका विभिन्न पात्रहरूको यथार्थ चित्रण पर्याप्त छन्।

अझ माओवादी र सुरक्षाकर्मीबीचको लुकामारी जीवन्त लाग्छ। प्रहरीले माओवादी भेष धारण गरी झुक्याएर पक्राउ र हत्या गरेका दृश्यहरू, एकापसमा पासवर्ड आदानप्रदान गरेर मात्र आफ्नो इलाकामा छिर्न दिने, बालबालिका र विद्यालयको प्रयोग, त्यसबाट उत्पन्न क्षति, परिवर्तनको पक्षधर नै शंकाको घेरामा परेर मारिएको सत्यले वास्तविक विद्रोहको गतिविधिसँग मेल खाने देखिन्छ।

गीत–संगीतका लागि उसबेला रेडियो नेपाल एक मात्र विकल्प, त्यस समयको श्रोता प्रतिनिधि पनि हो- ईश्वरी। पढाइलेखाइ गर्दा समेत रेडियो नेपाल सुनिरहने समयको कथा जो अहिले पनि दुर्गममा त्यसको निरन्तरता हुनसक्छ, जीवन्त लाग्छ चित्रण।

नसमेटिएको पाटो

रोल्पाको पहिलो र प्रचारित घटना २०५८ सालमा होलेरी प्रहरी चौकीमा माओवादीको आक्रमण र ७१ जना प्रहरीको अपहरण, २०५६ मा जेल्बाङ दङ्गा प्रहरी र घर्ती गाउँ प्रहरीमा आक्रमण र २०५९ लिस्नेमा दिउँसै प्रहरीसँग भिडन्त जस्ता मुख्य घटना कतै उल्लेख छैन।

ज्यादती सुरक्षाकर्मीले मात्र गरेनन् माओवादीले पनि गरेका छन्। त्यो कतै उल्लेख भएन। संघर्षका बेला धेरै सताइएको वर्ग पत्रकार पनि हो। रेडियो नेपाल सुर्खेतमा कार्यरत धनबहादुर रोकायालाई माओवादीले अपहरण गरी मारेका थिए। मुख्य र उल्लेखनीय घटनाहरू नआउँदा त्यो वर्गले उपन्यासमाथि अपनत्व नलिन सक्छ।

रोल्पामा माओवादीबाट पीडा भोग्नेको कथा थिएन कि ? वा सबै जनता माओवादीका समर्थक मात्रै थिए ? सायद पाठकको मनमा यो प्रश्न उठ्न सक्छ।

जसरी सुरक्षाकर्मीबाट भएको यौनशोषण उल्लेख छ माओवादीभित्रको यौन विकृतिको चर्चा हुन्थ्यो उसबेला, त्यो पाटोमा अध्ययन नभएको वा नदेखाएको हो यो। माओवादीलाई अधिक लोकप्रिय बनाएको ‘भाटे कारबाही’ कतै उल्लेख नहुँदा अलिनो लाग्न सक्छ।

कथाको विविधतामा प्रेम

स्वभावमा चञ्चले नदेखिए पनि प्रेम गर्ने सवालमा निकै छिटी देखिन्छे ईश्वरी बुढा मगर। बाल्यावस्थामा सँगै स्कुल पढेको कुमार ओलीसँगको प्रेम अन्त्यसम्म तन्केर आइरहन्छ। जो अन्य प्रेम कथामा जस्तो खुलस्त भने देखिंदैन। कमरेड बतास र प्रशिक्षक कमरेड पासाङसँग पनि तुरुन्तै लोभिएको देखिन्छे। तर दुवै प्रेमीले शहादत प्राप्त गरेपछि सकिन्छ।

सच्याउन सकिने सन्दर्भहरू

निदाउनु छ घना जंगलमा

उठ्नेछ नयाँ बिहानी लिएर

बदल्नको लागि समाज व्यवस्था

जानुछ माटोलाई केही दिएर

मुक्तक भनेर लेखिएको यी ४ लाइन मुक्तक संरचनामा छैन। लेखकले ख्याल नगरे पनि सम्पादकले सच्याउन सक्थे।

त्यसबेलाका त्यहाँका बालबालिकाले सायद ‘रुकस्याक’ थाहा पाएका थिएनन्। पछाडि भिर्ने झोला भन्थे होला, हामी त्यसै भन्थ्यौं।

‘पेन्सन मात्रै पाकेको भए जिल्लै छोडेर हिंड्थें। छोरो जीवनलाई पढाएर आफूभन्दा माथिल्लो तहको शिक्षक बनाउनुछ, छोरी ईश्वरीलाई नर्स बनाउनु छ, के गर्ने होला अझै ३ वर्ष बाँकी छ पेन्सन पाक्न।’ प्रहरीले दुःख दिन थालेपछि श्रीमतीसँग चिन्ता गरेका धनबहादुर बुढामगर केही समयपछि नै मारिन्छन्। तर आमाको नाममा पेन्सन आएको सन्दर्भ त्रुटिवश समावेश भए जस्तो लाग्छ।

उपन्यासमा ६२ वटा शीर्षक छन्। अघिल्ला सन्दर्भका कारण अब के हुन्छ भन्ने कुरा कतिपय शीर्षक हेर्दै अनुमान गर्न सकिन्छ। कुनै कौतूहल हुँदैन। र केही पृष्ठहरू नभए पनि हुनेजस्तो लाग्न सक्छ।

‘हिंडेर आएको बाटो’ शीर्षकमा उपन्यासको सार लेखिएको जस्तो लाग्छ।

४४ प्रतिशत मगरको बाहुल्य रहेको समाजको कथा लेखिंदा तिनको खानपान, जीवनशैली, संस्कृति, संस्कारजन्य मुख्य कुरा आइदिएको भए हुनेथियो भन्ने लाग्नु नकारात्मक होइन।

झनै कारुणिक कथा

रेडियोले भिडन्तको समाचार नभनेको रात मस्तले निदाएकी मनमती आमाको कथा। त्यसबेलाका माओवादी, सैनिक र प्रहरीका आमा, श्रीमती र सन्तानहरूको प्रतिनिधि कथा, धनबहादुर बुढामगर भीरबाट गोरु लडाएर माओवादीलाई खान दिएको आरोपमा मारिन्छन्। परीक्षा दिन हिंडेको उसको छोरो जीवनलाई प्रहरीले दुःख दिन थालेपछि बाबुको न्याय र प्रहरीसँग बदला लिन हतियार बोक्छ र भिडन्तमा मारिन्छ। त्यो खबर उसकी आमा मनमती र बहिनी ईश्वरीले पाउँछन्। तर शोकको घाउ नसेलाउँदै जीवनको चिठी आउँछ।

चिठीमा जीवनकै अक्षर छ। ईश्वरी उत्साहका साथ चिठी पढ्न थाल्छे। आशा, खुशी र कौतूहल बोकेर कान ठाडो पार्छिन् आमा।

‘मलाई सन्चै छ मेरो चिन्ता नगर्नु, म चाँडै घर आउनेछु’ भनेर लेखिएको छ। उनीहरूको एउटै विश्वास छ जीवन मरेको खबर झुटो रहेछ। अब ऊ आउनेछ। खुशीले पुलकित भएकी ईश्वरीका आँसुका धमिला आँखाले जब चिठी लेखेको मिति उसको मृत्यु अघिको हो भन्ने देख्छन् अनि के हुन्छ ? अनुमान गरौं त।

पाठकको आशा विपरीत

माओवादी ज्यादती खेप्न नसकेर रोल्पाबाट कपिलवस्तु सरेका हुन् कुमार ओलीको परिवार। बारम्बार ईश्वरीलाई पत्र पठाइरहने कुमारले युद्ध मैदानमा समेत स्कुले साथीको जीवन बक्सिस दिएर ऊप्रतिको गहिरो प्रेम प्रस्तुत गरेको छ। त्यही कुमार शान्ति प्रक्रिया सुरु भएपछि अचानक बैसाखीको सहारामा भेटिन्छ।

ईश्वरीले नमान्दा नमान्दै पनि आफ्नो घर लिएर जान्छ र मेरी साथी भनेर बाआमालाई चिनाउँछ। आमाले ईश्वरीसँग पीडा पोख्छिन्- नानी मेरो छोरो अपाङ्ग भयो, अब यसको बिहे पनि हुँदैन होला, बुहारी र नाति नातिना हेर्ने रहर पूरा नहुने भयो।

ईश्वरीले कुमारसँग बिहे गरेर बाल्यकालदेखिको प्रेम सार्थक बनाई कथामा संयोगान्त सौन्दर्य थपेको भए कति राम्रो हुन्थ्यो ?

निराशाको उकालो यात्रा

गोधूलि गीत माओवादी सशस्त्र संघर्षमा रोल्पाको जीवन, समर्थन, सहभागिता, अपेक्षा, भरोशा र त्यसबाट सिर्जित असरहरूको एउटा स्पष्ट चित्र हो।

माओवादी युद्धको उद्गम, जहाँ १९०० जनाले शहादत प्राप्त गरे। नन्दकिशोर पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा र वर्षमान पुन जस्ता नेता जन्माएको रोल्पाभूमि, त्यहीं र तिनैको कथामा लेखिएको राजनीतिक उपन्यास ‘गोधूलि गीत’।

यत्रो इतिहास र यत्रा नेता निर्माण गर्न सफल एक नायकमा निराशा संचार हुन थाल्छ जब ईश्वरी काठमाडौं आउँछे र देख्छे आफ्ना नेताहरूको सवारी। जतिसुकै विकटमा पनि पैदल हिंड्थे, जहाँ जे भेटे पनि खान्थे, बाध्य नभई घोडा चढ्दैनथे।

नेता कमरेडहरूको परिवर्तन सोच्दैगर्दा अचानक भेटिएको कमररेड असिमले झन् निराशा थप्छ ‘यिनीहरू पनि काङ्ग्रेस एमाले बन्नेछन् एकदिन।’

देशमै गर्छु, देशमै मर्छु भनेर युद्धमा होमिएका कसैका छोराछोरी अपाङ्ग, कसैका बाआमा, कसैको घर रित्तो कि बाबुआमा बेसहारा, कोही घाइते ज्यान बोकेर त कोही शरीरमा छर्रा बोकेर विदेश पलायन भइरहेका छन्। कमरेड असिम पनि दमकबाट बीए सकेर अष्ट्रेलियातिर लाग्छ।

उपन्यासको स्पष्ट सन्देश

दशवर्षे युद्ध व्यवस्थापन भइसकेपछिको १६ वर्षपछि गोधूलि गीत लेखिनु माओवादीलाई उनीहरूको विगत सम्झाएको त हो नै एउटा धारिलो व्यङ्ग्य र लोप्पा पनि हो। र रास्वपाहरूलाई खबरदारीको चोर औंलो समेत हो भनेर बुझ्न यिनको सन्दर्भ उल्लेख भइरहनुपर्दैन।

जसरी माओवादीले मान्छेको मनमा विद्रोहको बीउ रोपेर आँसु र रगतबाट माटो भिजायो ठिक यस्तै तर आँसु र रगतको क्षति नगरिकन नै रास्वपाले छरेको आशाको शीतलताले जनताको छाती भिजाएको छ।

जसरी कमरेड असिमले माओवादी पनि काङ्ग्रेस एमाले बन्नेछन् भनेर चिन्ता व्यक्त गर्छ, त्यसरी नै हरेक मान्छेको प्रार्थना छ ‘रास्वपा पुराना दल जस्तो नबनोस्।’ भोलिको रास्वपा आजको माओवादी बन्ने डरको घण्टी जनमनमा बजिरहेको छ।

दश वर्षको रगत र पसिनाबाट २०६४ मा माओवादीले जुन मत पायो र गुमायो पनि त्यसलाई फिर्ता ल्याउन सकेन वा फिर्ता पाउने चरित्र निर्माण गरेन। सायद सक्दैन पनि।

तत्कालीन तीन वटा राजनीतिक शक्तिहरूको भ्रूणबाट माओवादी संघर्षको जन्म भए जसरी नै माओवादीकै भ्रूणको सकारात्मक ऊर्जाबाट क्रमशः बालेन, हर्क र रविहरूको जन्म भएको हो। र नकारात्मक मोटिभेशनको त्यही भ्रूणबाट प्रेम आचार्यहरूको आत्मदाह जन्मियो र निरन्तर जन्मिरहेको छ।

६ महिनामै रास्वपाले २०६४ को माओवादी स्तरको जुन विश्वासको सौभाग्य पायो उसले पनि त्यो भरोशालाई बचाउन र बढाउन सकेन भने प्रेम आचार्यहरूको दुर्भाग्य शृङ्खला रोकिने छैन नै आशाको शीतलताले भिजेको जनताको छाती चर्चरी चिरिनेछ।

हिजो माओवादीबाट जो डराउँथे आज तिनैबाट डराएर हिंड्नुपरेको छ वा शिर ठाडो छैन लडाकुको। हेपिएका र अपमानित भएका छन्। बुर्जुवा शिक्षा ठानेर पढाइ छाडी युद्धमा होमिएका कमरेड असिमहरू विदेश हान्निएका छन्। अवसर दिने ठाउँमा पार्टीले पढेलेखेका कमरेडहरू छान्न थालेपछि ईश्वरी बुढा मगरहरू ३० वर्षको उमेरमा फेरि स्कुल धाउन र नर्स बनेर बाबुको सपना पूरा गर्ने सपना देख्न थालेका छन्।

दल खुम्चेर मरीचजत्रो भएको छ तर दोष टण्टलापुर घामलाई दिइरहेको छ र निरन्तर चाउरिंदो यात्रामा छ।

कहिल्यै राजनीति नगरेका युवा हुत्तिएर राजनीतिमा आएका छन्। २०७९ सम्म द्विविधामा रहेका अरु दलका निराश मान्छेहरू २०८० को वैशाखदेखि रास्वपा विद्रोहमा मिसिन थालेका छन्।

जसरी आजकाल जनयुद्ध दिवसका दिन रोल्पा सुनसान हुन्छ त्यसैगरी आगामी दिनका असार ७ गतेहरूमा घण्टीको रालो खुस्कियो भने के हुन्छ ?

त्यसैले उपन्यास गोधूलि गीत राजनीतिक दलको नाकैमा लगेर देखाएको ऐना हो र घण्टीधारीहरूलाई आफ्नै कानमा घण्टी बजाइरहन चेतावनी पनि।

Monday, January 30, 2023

फेरि भेटिइनन् दिदी

 

फेरि भेटिइनन् दिदी

शम्भु सुस्केरा

नमस्कार दिदी !

म हात जोड्दै उनको नजिक गएँ ।

उनको अनुहारमा कुनै प्रतिक्रिया थिएन । न त नमस्कार नै फर्काइन् । मैले एकछिन उनको अनुहारमा हेरेँ । र उनको घरतिर आँखा डुलाएँ । घर के भन्नु भत्किनै लागेको झुप्रो थियो । छानोबाट भाटा झर्नैलागेका, पुराना खिया लागेका जस्ता मुस्किलले अडिएका थिए छानामा ।

उनको छेउमा एउटी किशोरी पनि थिइन् । मैले दुबै अनुहारतिर हेरेँ । नमस्कारको प्रतिक्रिया कसैबाट नआएपछि विस्तारै मैले मेरा हात तल झारेँ ।

को हो तिमरु ? किन आका ? फुङ्ङ उँडेको उनको अनुहार, रुखोजस्तो तर थकित आवाजमा प्रश्न गरिन् केहीबेर हेरेर ।

उनको प्रस्तुतिले म अलिक हच्केजस्तो भएँ । सायद पहिलोपटक राजनीति र चुनावी अनुभव गर्दै भएर पनि होला असहज जस्तो लागेको । तैपनि सहज मानेर बोले -म फलाना..., फलानो पार्टीको उम्मेद्वार भोट माग्न आएको, चुनाव चिन्ह फलानो ।

एकछिन केही बोलिनन् । 

तीस सेकेण्डको आफ्नै मौनता चिर्दै बोलिन् मेरो उपचार गर्न सक्छौ ?

के को उपचार ? मेले सोधेँ । उनी खोक्न थालिन् । उनको छेउकी केटी झुप्रो भित्र छिरिन् ।

के हुनु निको नहुने रोग लाग्यो रे । बाँच्दिनस् भनेका छन् । उनले जवाफ दिइन् ।

निको नहुने क्यान्सर रोग लागेको छ । बाँच्दिनस् भनेका छन् ।

मरिन्छ भन्ने पनि थाहा छ तर सहज छ उनको जवाफ । सायद आँसु सकिए होला, पीडा जीवितै छ अनुहार र आवाजमा ।

भित्रबाट किशोरी स्टिलको गिलासमा पानी बोकेर आइन्  र तिनलाई दिइन् उनले घटघटी पिइन् ।

मेरो टिमका एकजना साथी पनि आइपुगे र भने भयो हिँड जाऔँ । उनले खास कुरा सुन्न पाएका थिएनन् । तपाईहरु जाँदैगर्नुस्  म आउँछु भनेँ । र म केहीबेर त्यहीँ रहेँ ।

भोट माग्न हिँडेको यतिलामो गफिएर हुन्छ ?  फतफताउँदै हिँडे तिनी ।

को हुन् यी नानी ? मैले किशोरीतिर हेर्दै सोधेँ ती दिदीलाई ।

 छोरी हो । ठूली छोरी ।

अरु ?

एउटीको विहे भयो । छोरो एउटा छ ५ मा पढ्छ ।

श्रीमान् ? मैले सोधेँ ।

१० वर्ष भयो विदेश गएको फर्केर आएन । जिउँदो छ की मरेको थाहा छैन ।

म केही बेर चुप लागेँ सायद बोल्ने कुरा केही थिएन । भोट माग्न आएको कुरा पनि बिर्सेजस्तो भयो ।

उनैले थपिन्-धेरैलाई भोट दिइयो केही लछारेनन् । अब त के का लागि दिनु र भोट ?

जसले मेरो उपचार गर्छ उसैलाई दिन्छु ।

उनको अनुहारमा हेरिरहने आँट आएन । के भन्नु के नभन्नु । केही नबोली निस्केर जानु ? म पो समाधानबिहिन भएँ ।

ठ्याक्कै कुरा आयो मनमा । तपाई र मजस्ता सामान्य मान्छेलाई आज कुनै ठूलै रोग लाग्यो भने यी यस्तै हुन्छ । आफूसँग सम्पति हुँदैन, सरकारले उपचार गर्दैन । अब तपाई हाम्रा सन्ततिको यस्तो हालत नहोस् भन्नका लागि पनि हामीजस्ता स्वतन्त्र र नयाँ राजनीतिक शक्तिलाई भोट हाल्नुपर्ने भो दिदी !

मैले नजानिँदो गरी मेरो चुनावी स्वास्थ्य योजना सुनाएँ ।

धेरै भयो यस्तै सुन्दै आकी । उस्तै निराशाको जवाफ पोखिन् ।

र मलाई उपेक्षा गर्दै उठेर भित्र छिरिन् । एकछिन उभिएँ र म पनि गएँ ।

यही र यस्तै अवस्थाका नेपालीका लागि त राजनीति रोजेँ मैले । थाहा छैन राजनीतिले मलाई रोज्छ की रोज्दैन । मतदाताले मलाई चुन्छन् की चुन्दैनन् । मैले यी र यस्ता नेपालीका लागि उपायको कानुन बनाउने अवसर पाउँछु की पाउँदिन ?

मनभरि कुरा खेलाउँदै अगाडि बढेँ । अर्को घरमा छिर्न पनि मन लागेन ।

अलिक जोशिलो हुनुस् न यार । उम्मेद्वारजस्तो देखिनु । चर्किँदै एकजना आए साथी ।

रीस पनि उठ्यो साथीको कुरा सुनेर । समवेदनाविहिन मान्छे । मनले यसो भन्यो मुख बोलेन् । घरघर हात जोड्दै कृतिम मुस्कुराउँदै उनीहरुको पछि लागेँ ।

जता गए पनि दिल खुश पारेर भन्थे मान्छेहरू यसपाली त पुरानालाई भोट नदिने । तँलाई नै दिने । तिनै दिदीलाई सम्झिन्थेँ । जितौँ त दिदी तिमी र तिमीजस्ता आममान्छेकै लागि गरिछाड्छु । जसअपजस तिम्रै कर्म ।

मंशिर ४ गते पनि आयो ।

बेलैमा आफ्नो मतदान केन्द्रबाट भोट दिएँ । सकेसम्म सबै मतदान केन्द्र पुग्ने योजना छ । ३ जनाको टिम बोकेर अगि बढेँ म । काठको पुल भत्केको सडकछेको एउटा मतदान केन्द्र पुगेपछि झसङ्ग तिनै दिदी यादमा आइन् । उनकै घर पर्तिरको केन्द्र थियो त्यो ।

चालक भाइले गाडि रोके । म मतदान केन्द्रभित्र छिरेँ । महिलाको लाइनमा उनलाई निकैबेर खोजे मेरा आँखाहरुले ।

मनमा लाग्दैथियो- लाखौँ रकम उपचार खर्च कुन उम्मेद्वारले देलान् ।

टोलटोलमा लाखौँ रकम बाँडे रे । कानमा कुरो आयो ।

व्यक्तिपिच्छे रसपानका लागि रकम बाँड्नु भन्दा बरु तिनै दिदीलाई एकमुष्ट दिएका भए पुञ्य हुन्थ्यो ।

भोट किनेर जित्नु वा हार्नु दुबै अपराध ।

दिदी मतदान केन्द्रमा देखिइनन् । उनको घरतिर गाडि मोड्यौँ ।

आफ्ना सन्तानले आफूलेजस्तो जिउँदै मर्नु नपरोस् भन्ने कुन आमाबाले सोच्दैन र ? मेरा कुराले हामीप्रति केही आश त गरिन् तिनले । पक्कै भोट मलाई नै दिइन् । अरुप्रति त उनको आश मरिसकेको थियो ।

यस्तो सोच्दैगर्दा उनको घर अगाडि पुग्यौँ ।

गाडि रोकियो । म उत्रिएँ र उनको झुप्रोनेर गएँ । कोही थिएन घरमा । ढोका खुल्लै थियो । यसो भित्र चिहाएर हेरेँ । कोही देखीएन । घरमा ताला नलगाई कता गइन् । टाढा त पक्कै गएकी छैनन् ।

अलि पर्तिर रहेको अर्को झुप्रोमा गएँ त्यहाँको ढोकामा ताला लगाएको थियो ।

दिदीको घरको ढोकामा ताला पनि थिएन । बालबच्चा पनि कोही थिएनन् । किन यस्तो ?

मनमा प्रश्न बोकेर फर्केँ र गाडि चढेँ । गाडि अगाडि बढ्यो । मनभरि अनेक कुरा खेलिरहे । किन देखिन तिनलाई मतदान केन्द्रमा ? किन थिइनन् घरमा ? तिनका बालबच्चा कता गए । सोध्ने मान्छे पनि कोही थिएन ।

भोलि स्कुटर चढेर फेरि आउनेछु । मनमनै आफैसँग बाचा गरेँ ।

 

Sunday, January 16, 2022

 

पढेर पार लाग्छ

शम्भु सुस्केरा

स्कुल कलेज पढ्दा दिक्दारी पोख्थ्यौँ 'पढेर पार लाग्दैन' भनेर । जब पढ्दापढ्दा दिक्क लाग्थ्यो वा जति पढे पनि दिमागमा घुस्दैनथ्यो अनि निस्किन्थ्यो मुखबाट यस्तो प्रतिक्रिया। सायद पढाइमा औसतस्तरका सबै विद्यार्थीलाई यस्तै लाग्ला ।

'तैँले पढेर खाँदैनस्' आफ्ना बालबालिकाले पढ्न अल्छी गरे वा परिक्षामा कम नम्बर ल्याए भने अभिभावकले पनि यसो भनेको सुनिन्छ । तर पनि नपढी धर छैन । त्यसैले त पढेर कहिले सकिएला भन्ने चिन्ता सबै विद्यार्थीको तनावको विषय हुन सक्छ ।

बाध्यात्मक पढाइमा यस्तो लागे पनि रहरको पढाइमा यस्तो हुँदैन । रहरको पढाइ भनेको आफूलाई मन परेको, पाठ्यपुस्तक भन्दा बाहिरको पुस्तक पढ्नु हो । औपचारिक पढाइ सकेपछि मन परेको पुस्तक फुर्सदमा वा फुर्सद निकाले पढ्दाको मजा अर्कै हुन्छ ।

केही वर्षदेखि पुस्तक पसलेको व्यापार कम भएको छ भने इन्टरनेट कंपनी र मोबाइल कंपनीको व्यापार बढेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

पुस्तक, मोबाइल र इन्टरनेले दिने लाभ एकै हो त ? गहन बहस गर्न सकिन्छ यस विषयमा । तर्क क्षमता भएकाले जुनसुकै विषयको पक्ष लिए पनि बहस जित्न सक्छन् ।

तर सत्य यो होइन । पुस्तक पुस्तक नै हो पुस्तकलाई हराउन प्रविधिले सक्दैन । बरू कतिपय अवस्थामा प्रविधिले मानिसको क्षमतामा ह्रास ल्याएको छ ।

यात्रा गर्दासमेत पुस्तक पढेको देखिने पश्चिमाहरुले प्रविधिको उपयोग गरिसकेर, स्वाद चाखिसकेर पुस्ततिर नै फर्किएका हुन् भन्न सकिन्छ । पुस्तकले दिने आनन्द अन्त नभेटेर पनि उनीहरूले यसैलाई प्रेम गरेका हुन् भन्न सकिन्छ । तर मसँग यसकाबारेमा कसैले तयार पारेको रिपोर्ट चाहिँ छैन । पाठकलाई खोजको विषय बन्न सक्छ ।

अनुभवका आधारमा भन्न सकिने केहो भने प्रविधिको अधिक प्रयोगले मानिसको रचनात्मक क्षमता घटाउने मात्र होइन मानसिक र शारिरीक स्वाश्यमा समेत नकारात्मक असर गर्छ ।पुस्तक पढ्ने बानीले यसको ठिक उल्टो प्रभाव पार्दछ ।

त्यसैले बानी छुटेको छ भने पनि पुस्तक पढ्न थालौँ । सुचना प्रविधिको यो युगमा एउटा डिभाइसले संसारका सबै कुरा दिन्छ । थप मूल्य तिरेर किन अनेक थरी पुस्तक किन्नु ? सामान्य सत्य जस्तो लागे पनि यो पूर्ण सत्य होइन । पुस्तक मानषपटल र घर दुवै स्थानमा सङ्ग्रहित गर्न सकिने सम्पति हो । प्रविधिको कहिल्यै भर हुँदैन ।

सामान्यतया डिभाइस वा पुस्तक जेमा पढे पनि पढाइबाट प्राप्त हुने कुरा समान हो । तर त्यसको सकारात्मक र नकारात्मक प्रभावको बारेमा माथि भनियो । तपाईले थप खोज गर्न सक्नुहुनेछ ।

अब चर्चा गरौँ । पढ्नु र नपढ्नुको भेद । वा पढ्नु, सुन्नु वा हेर्नुबाट पाइने आनन्दको भेद ।

पढ्नेहरुको शब्द भन्डार बढ्ने त छँदै छ सूचना र ज्ञानको भण्डार समेत बढ्दछ । पुस्तक र फुर्सद छ भने जहाँ जतिबेला पनि पढ्न सकिन्छ । कहीँ कसैलाई पर्खिनुपर्दाको दिक्दारमा बाटोमा उभिएरै समयको सदुपयोग गर्न पनि सकिन्छ । अध्ययनले मानसिक सक्रियता र सिर्जनात्मक क्षमता पनि बढाउँछ । कहिले कहिँ कसैको एउटा कविता पढ्दा अर्को सुन्दर कविता जन्मिएका उदाहरणहरू धेरैसँग छन् । त्यसैले जज वर्नार्ड शले भनेका होलान् एउटा पुस्तक लेख्न सयओटा पुस्तक पढ ।

मानिस तनाव व्यवस्थापनका लागि अनेक तरिका खोज्छ । तर अध्ययन गर्नेहरू स्वयंमा कम चिन्तित हुन्छन् भनिन्छ । उनीहरू आफूलाई आइपरेको जस्तोसुकै अप्ठ्यारोबाट आफूलाई बाहिर निकाल् सक्छन् नै अरुलाई पनि असहज परिस्थितिबाट सहजतातिर लैजान सक्छन् । मुख्य कुरो त के हो भने संसारका प्रखरवक्ताहरूको वकृत्व क्षमता सम्बन्धित विषयको व्यवस्थित अध्ययनबाटै बढेको हो ।

अध्यन गर्ने, टिपोट गर्ने, सम्झिने र लेख्ने बानीले बोल्नका लागि समेत सहयोग गर्दछ । त्यसैले भनिन्छ पुस्तक ज्ञान र अनुभवको श्रृङ्खला हो यसले जीवन बाँच्न त सिकाउँछ नै मृत्यु बुझ्न र त्यसलाई स्वीकार गर्न समेत सहज बनाउँछ रे ।

के पढ्ने र कसरी पढ्ने भन्ने जिज्ञासा हुन सक्छ । पढ्नका लागि आफ्नो रुचीको विषय हुनुपर्दछ भने कतिपय अवस्थामा जीवन उपयोगी पुस्तक पनि खोजेर पढ्नुपर्ने हुन्छ ।

कतिपय मानिसहरू आजकाल किताबको चाङको फोटो खिचेर सामाजिक सञ्जालमा देखाउने गर्छन् । तर धेरै ओटा पुस्तक पढेर  संङ्ख्याको रेकर्ड राख्नुभन्दा एउटा किताब मिहिन ढंगले धेरै पटक पढ्दा कहिल्यै नबिर्सिने गरी महत्वपूर्ण कुरा सिकिन्छ । धेरैओटा खेल खेल्ने खेलाडिभन्दा लामो समय एउटै खेल खेलेको खेलाडिले राम्रो नतिजा दिएका छन् ।

पढ्दा हतार नगरी पढ्ने, आफ्नै पुस्तक हो भने मन परेको कुरा अण्डरलाईन गर्ने, अरुको मागेर पढेको भए कपिमा टिपोट गर्दै पढ्ने । पढेको कुरा एकछिन रोकिएर मनन गर्दै पढ्ने गर्दा दिमागमा छापिएर बस्न सक्छ । टिपोट गरेको कुरा सङ्ग्रह गरेर राख्नाले पछि लेख्न र त्यस विषयमा बोल्न समेत सहयोग गर्दछ ।प्रखर वक्ताहरू यसै गर्ने गर्दछन् ।

पढेर कति काम लाग्छ भन्ने कुरा के सोचले कसरी पढिन्छ  भन्ने कुराले पनि अर्थ राख्छ । त्यसैले पढ्दाखेरि सुचना पहिल्याउने भन्दा पनि त्यसबाट जीवन बदल्नका लागि उपयोग गर्छु भन्ने सोच बनाएर पढ्न सके बढी फलदायी हुन्छ । पुस्तक अध्ययनका लाभ धेरै रहेछन् भन्ने त थाहा भयो तर पढन अल्छि लाग्छ वा पढ्न रुचि नै हुँदैन के गर्ने भन्ने प्रश्न उठ्न सक्छ । त्यसो हो भने जे गर्न मन लाग्दैन बारम्बार त्यही गरिरहने हो भने एक दिन बानी बन्न सक्छ । त्यसका लागि रुटिन बनाएर नियमित एक्काईस दिनसम्म दैनिक पढ्नाले पढ्ने बानीको विकास हुन्छ  

पढदाखेरि एकान्तमा एक्लै वा समुहमा चर्चा गर्दै जसरी रमाईलो हुन्छ त्यसरी पढने गर्नुपर्छ ।

'रिडर्स आर लिडर्स, लिडर्स सुड बी रिडर' यो सत्य हो । त्यसैले भनिन्छ जसले अध्ययन र सिकाइलाई रोक्छ उसको सफलता पनि रोकिन्छ । यसमा विवाद गर्नुपर्ने कारण छैन बरू अनुसरण गरियो भने आफ्नै हित हुनेछ ।

संसारलाई अगुवाइ गर्नेहरुले कितावमात्र होइन विश्वलाई अध्ययन गर्दछन्, मानवको स्वाभावलाई अध्ययन गर्दछन् । आफूले अगुवाइ गर्नुपर्ने विषयलाई अझ बढी अध्ययन गर्दछन् ।

सकेसम्म पुस्तक नै अध्ययनगरौँ । डिभाइस सजिलो लाग्छ भने त्यसमा पनि अनलाइन वा डाउनलोड पढ्न सकिन्छ । तर एकसाथ लामो समय बसियो भने शारिरीक समस्याहरु आउँछ भन्छन् चिकित्सकहरु यसलाई पनि ख्याल गरौँ । तर पढ्ने वानीको विकास गरौँ । विनास नगरौँ ।

Tuesday, May 25, 2021

https://rojgarmanch.com/opinion/2021/01/19778/संस्मरण : सिपाही भाइलाई श्रद्दाञ्जली !

 

संस्मरण : सिपाही भाइलाई श्रद्दाञ्जली !

सतहत्तर साल पुष ८ गते बुधबार । दुस्खद खबरको बार भइदियो एकाएक ।

बिहानै आएको एउटा खबर स् वासु ढुंगानाको अमेरिकामा निधन भयो रे त । कन्काई नगरपालिका वडा नम्डर १ प्रजापतिमा उनको घर, अहिले गरमकालीमा छ एउटा घर जहाँ उनका भाइ गोपाल बस्छन् । अर्को घर लक्ष्मीपुरमा छ रे जहाँ उनकी आमा र श्रीमती बस्छन् ।

छिनमै अर्को खबर आयो – तल्तो गाउँको डाँगी जेठाकी बुहारीले आत्महत्या गरीन् रे ।

छोरो डिभि भिसा मार्फत अमेरिकामा बस्ने, बुहारी घरैमा सासुससुराको सेवा गरेर बसेकी थिइन् रे । सासु ससुराकी प्यारी नै थिइन् । उताबाट लोग्नेले कुनै पीडा दियो होला र त आत्महत्या गरी । कुरा अनेक चले ।

गए राति निलम राई पनि बित्यो रे । छिनमै आएको अर्को खबर ।

हे भगवान ! के भएको यस्तो ? मृत्युका खबरमात्र किन आइरहेका छन् पानीझैँ दर्केर । यो संयोग मात्रै हो कि सृङ्खलाको सुरुवात । मनमा भय उम्रियो एकाएक ।

मृत्यहरुमा चर्चा चल्न थाल्यो गरमकाली चौकमा । समुहको चर्चाबिच म एक्लो जस्तो भइरहेको छु, बिचारसून्य । निलम राईको मृत्यु, उसँगको मेरो बाल्यकाल र स्कुले जीवन उफ्रीउफ्री आइरह्यो मनमस्तिष्कमा ।

उसको घर मेरोभन्दा ५ मिनेट पश्चिम जामुनाबारीमा पर्थ्यो । सरस्वती प्रावि जामुनाबारीमा शिशु कक्षादेखि सँगै पढ्यौँ । कन्काई माविमा ९ कक्षासम्म सँगै पढ्यौँ ।

साह्रै कम मान्छेमा हुने खालको उटपट्याङ् स्वाभाव उसको । आफूले रमाइलो गर्दा अरूको मन दुख्छ भन्ने कुरा पटक्कै नभएको । तर मनचाहिँ नदीको पानीजस्तै सङ्लो, एकदमै बालापन ।

के भएर बितेछ यार । यादहरू भङ्ग गर्दै बिस्तारै फुसफुसाएँ म ।

खाइ बिमार हो दाइ खाइ बिमार । रामकृष्ण नेपालले प्रतिक्रिया दिए ।

अति नै पिउने । पिएरै रोगाएछ । भद्रपुर बस्ने उसलाई उसका दिदीबहिनीले घरैमा ल्याएर उपचार गरेपछि तङ्ग्रिएको थियो । गाउँघर, आफन्त सबैले रक्सी नखान र यतै आमा दिदीसँगै बस्न अनुरोध गरे । तर मानेन । सानो छोरो र श्रीमतीका साथ साउनमा भद्रपुर गइछाड्यो ।

फेरि सुरु भएछ पिउने क्रम । त्यसबेला लाख बिन्ति गर्दा नसुध्रिएको मान्छे मर्नुअघिल्लो दिन सुधार केन्द्र गएछ । मनमा के आयो कुन्नी जामुनाबारीमा दिदी र काठमाडौँमा भाइलाई फोन गरिवरी गएको रे । सानो छोरो, अल्लारे श्रीमती, यिनका लागि पनि सुध्रिनु पर्छ भन्ने लाग्यो होला सायद ।

उसको सुध्रिने कुरा सुनेर सबै खुशी भए । तर दुर्भाग्य उसको निर्णय नै ढिलो गरी आएछ, त्योभन्दा छिटो उसको मृत्यु आइसकेको रहेछ । सुधारकेन्द्र पुगेकै रात उसको हालत नाजुक भएछ । हतारमा अस्पताल पुर्याउँदा सास गइसकेको रहेछ ।

मित्रहरू देबी अधिकारी, छत्र बोहोरा, छत्र बस्नेत र दुर्गा भण्डारीहरू बितेर गए अल्पायुमै । तर कसैको मलामी जान नजुरेको मलाई निलमकै मलामी जान झापा आएको रहेछु ।
कन्काई घाटको पूर्वी किनाराको सबैभन्दा उत्तरको चितामा जलिरहेछ ऊ, उभन्दा तलतिर डाँगी दाइकी बुहारी ।

उमेरले मभन्दा केही महिना जेठो तर बिहे मभन्दा पछि गरेछ । उसको ५ वर्षे छोरो र युवा वयकी श्रीमतीको अनुहार, उसकी आमा, दिदी, बहिनी र भाइको रोदन सहीसक्नु थिएन हेर्नेका लागि।

अलेली याद छ उसलाई सबैले सिपाही भाइ भन्थे । उसका बा वन रक्षक थिए वर्दीधारी । त्यसैले होला सबैले उसलाई मायाले सिपाही भाइ भन्थे । तर ऊ ठूलो हुँदै गएपछि उसलाई जिस्क्याउने नाम बन्यो ।

९ कक्षासम्म पढ्दाको मिलन ऊ, धुलाबारी गएर रोशन बनेर पढेछ ।

त्यही सिपाही भाई, निलम र रोशन एकसाथ जलिरहेको साक्षी बसिरहेछु आज म । तैले त बाँचुन्जेल पनि खुब सताइस्, मरेपछि पनि आफू जलेर मेरो मन पनि जलाइस्, मेरा आँखाका डिल र मनको कुनो यस्तै बोल्दै थिए कसैले नसुन्ने गरी ।

उसँगका स्मृतिहरु चिताको आगो सरी फरफराइरहे मेरा सम्झनामा । कसैलाई दुखोस् की पोलोस्, ख्यालै नगरी बोल्ने, हाँसी दिने । चिनेको होस् वा अन्जान जो देख्यो भने पनि भनिदिने आम्मामा कत्रो ठूलो नाक, कस्तो कुरुप अनुहार । साथीभाइ होस् वा आफूभन्दा सिनियर कस्ती मोटी तेरी श्रीमती भनिदिने ।

आफ्ना कुराले रिसाए भने गलल हाँस्ने ऊ । सबैसँग समान किसिमले यस्तै व्यवहार गर्थ्यो ।

म पनि ६ कक्षादेखि सुरुङ्गा स्कुल पढ्न थालेँ । अरुका छोराछोरी साइकलमा गएको देखेर होला आमाको मन न हो मलाई पनि तीनसयमा एउटा थोत्रो साइकल किनिदिनु भयो आमाले । मर्मत गरेर चढ्न थालेँ ।

साइकलमा सानले स्कुल जान थालेको मलाई मेरै साथी घाँडो भइदियो ।

साइकलमै स्कुल जाने ऊ स्कुलबाट फर्किँदा मेरो पछिपछि हुन्थ्यो । परबाट तिब्र गतिमा ल्याएर ड्याम्म मेरो साइकलमा ठोक्काउँथ्यो उसको साइकल । ऊ अघि जाओस् भनेर म रोकिन्थेँ तर जाँदैनथ्यो । हाँसेर पर्खिरहन्थ्यो ।

एक दिन म हिँडेर आउँदैथिएँ, ऊ पनि मेरो पछिपछि हिँडेरै आउँदैरहेछ । सिमसिम पानी परिरहेको थियो । ओइ शम्भु तेरो गणित किताब ले त भन्यो । केही नसोधी, केही नसोची दिएँ ।
ऊ मभन्दा अघि फटाफट हिँड्यो र मेरो किताब पल्टाएर उत्तानो पारेर टाउकोमा ओढ्यो पो । उसको व्यवहारले एकछिन अलमल्ल परेँ र किताब थुत्न उसको पछि दौडेँ । ऊ झन दौडियो । करिब आधा घण्टाको बाटो ऊ अघि म पछि दौडिरह्यौँ ।

आफुसँग भएका किताब पनि पानीबाट जोगाउनु थियो । उसलाई भेट्न सकिन । उसको घर नजिक चोकमा फुत्त किताब फालेर घरतिर लाग्यो । किताब टिपेर म उसको पछि लागेँ । आजचाहिँ भकुर्छु भन्ने नै छ रिस ।

ऊ घरभित्र पसेन टाँडे घरको वरिपरि दौडियो, म उसको पछिपछि । दुईचार चक्कर काटेर माथि चढ्यो र ढोका लगायो । म फर्किएँ ।

सुरूङ्गा गाविसको वडा नम्बर १ मेरो, उसको ३ । हरेक वर्षजसो जामुनाबारीको चौरमा वडा स्तरीय फुटबल खेल हुने गर्दथ्यो । प्रायस् फाइनल प्रतिष्पर्धा १ र ३ कै हुने गर्दथ्यो । वर्ष यकिन छैन, आयोजक समितिको तर्फबाट म सहसचिब थिएँ ।

वडा नम्बर १ र ३ को खेल चलिरहँदा विवाद भयो । १ नम्बरका खेलाडि जंग थापाले आफ्नै छिमेकी ३ नम्बरका खेलाडि साथीबाट कुटाइ खाए । समितिको तर्फबाट हामी सबै चौरमा गयौँ । विवाद मत्थर गरेर पुनस् खेल संचालन गर्नुथियो । हुलकोबिचमा थिएँ म । बोल्दैबोल्दै यसो आकासतिर के आँखा परेका थिए निलम त आफ्ना दुई हातलाई बन्चरोजस्तो बनाएर मेरो टाउकोमा प्रहार गर्न लागेको थियो ।

मैले देख्नासाथ हिहि गर्दै हाँसेर पछि हट्यो ।

अर्को अनुभव छ खेलकै । मेरो घर नजिक गरमकालीस्थित जंगलको किनारमा भएको सानो चौरमा बालबालिकाका लागि फुटवल र ठूलाहरुका लागि अन्य खेलहरु आयोजना गरेका थियौँ । हाल एपिएफ क्लबको खेलाडि रहेको उसको भाइ १३ वर्ष नाघेको कारण ३ नम्बर वडाको टिमबाट खेल्न पाएन । आफ्नो भाइले खेल्न नपाएका कारण रिसले जंगलको बाटो हुँदै मलाई काट्न खुकुरी बोकेर आएको रहेछ ।

गाउँका महिला केटाकेटीहरू खुब डराए । मलाई थाहा थियो उसले मलाई कहिल्यै प्रहार गर्दैन । गरेन पनि । मेरो छेउमै आएन । खेल पनि अवरोध गरेन ।

उसको स्वाभावजस्तै बिचित्रको सम्बन्ध थियो उसको र मेरो । ऊ भद्रपुरतिर लागेछ । म प्रहरी सेवामा आएँ । त्यसपछि भेटघाट हरायो ।

केही वर्षअघि एउटा नयाँ नम्बरबाट फोन आयो । मैले उठाएँ । ओइ ! पुलिस भएर मनपरी गरेको छस्, तँलाई ठिक पारौँ भन्यो ।

कोहो तपाई भनेर सोधेँ । म जोसुकै हुँ, तँ सुध्री भन्यो । तपाई अख्तियारको प्रमुख भए पनि यसरी प्रस्तुत हुन मिल्दैन । तपाईलाई कसले के सुचना दियो मलाई थाहा छैन । पहिले मलाई चिन्नुस्, आफूले पाएको सुचनाको सही विश्लेषण गर्नुस् अनि अनुसन्धान गर्न मन लागे गर्नुहोला । तर यस्तो असभ्य व्यवहार प्रस्तुत नगर्नुस् ।

मेरो कुरा सुनेर ऊ गलल हाँस्यो र भन्यो ओइ चिनिनस् म निलम राई । एकछिन त्यस्तै अन्टसन्ट कुराकानी भए । अरु साथी र दाइहरुलाई पनि यसै गरी थर्काउँदा त उनीहरु डराएका थिए । को हजुर, बसेर कुरा गरौँ सर भन्थे तँ त डराइनस् भन्यो ।

गल्ति गरेपो डराउनु । मैँले जवाफ दिएँ ।

त्यसपछि पनि एकदुई पटक नयाँ नम्बरबाटै फोन गर्यो । तर परिचय दिन्थ्यो पहिले ।

सम्बन्ध सौहार्द्र पनि भएन, सत्रुता पनि रहेन, मित्रता अनौठो रहिरह्यो । माया बसिरह्यो एकअर्कामा । व्यक्तिगत र पारिवारिक समस्या साझेदारी गर्ने निकट साथिहरूको मलामी जाने अवसर जुरेन ।

कस्तो संयोग निलम ! तेरो चिता जलेको हेरिरहेको छु । भिजेका आँखाले साक्षी बसिरहेको छु म । सायद तँ हाँसिरहेको होलास् हगि मलाई देखेर ।

तेरो स्वाभाव र साथित्वको फोटो मेरो मनमा सधैँ रहिरहनेछ । हार्दिक श्रद्दान्जली सिपाही भाइ, बैकुण्ठ बास होस्

https://rojgarmanch.com/opinion/2021/05/24592/‘अपराधी र राजनीतिज्ञको चरित्र फरक देखिएन’

अपराधि र राजनीतिज्ञको चरित्र फरक देखिएन 

‘अपराधी र राजनीतिज्ञको चरित्र फरक देखिएन’

news-details

सन १९३१ मे ७ मा अमेरिकास्थित न्युयोर्कको एक गिरफ्तारी उनीहरूका लागि सबैभन्दा चर्चित गिरफ्तारी थियो । ‘दुई बन्दुके’ भनिने क्रोलेलाई एक प्रहरी हत्याको आरोपमा गिरफ्तारी गरिएको थियो । क्रोलेलाई पक्राउ गर्न १५० जना प्रहरी र केही जासुसहरू संलग्न थिए । दुईहप्तासम्म दुईजना प्रहरी पछि लागेर उसलाई पक्राउ गरिएको थियो ।

त्यस दिन न्युयोर्कको एक ठूलो भवनमा प्रेमिकासँग रहेको अवस्थामा क्रोलेलाई पक्राउ गरियो । पक्राउ गर्न लाग्दा प्रहरीमाथि नै निरन्तर फायर गरेकोले घरको भित्तोमा प्वाल पारेर अश्रुग्यास हानेर उसलाई समातिएको थियो ।

चुरोट, रक्सी जस्ता कुनै अम्मलको लत नभएको क्रोलेले केही दिनअघि एक प्रहरीको हत्या गरेको थियो । सडककिनारामा कार रोकेर आफ्नी प्रेमिकासँग रोमान्स गरिरहेको उसलाई प्रहरीले लाइसेन्स माग्यो । त्यही निहुँमा तत्कालै उसले प्रहरीमाथि लगातार गोलि प्रहार ग¥यो । त्यतिले मात्र नपुगेर लडेको लासमाथि पनि निरन्तर प्रहार गरिरह्यो ।

मैँले यो प्रसङ्ग किन यहाँ उल्लेख गरेको भने उसलाई फासी दिनु केही अघि उसले सगर्व बोलेको थियो ‘मेरो छातिभित्र थकित, शान्त र दयालु मुटु छ । म कसैलाई कहिल्यै नोक्सान पु¥याउन सक्दिन ।’

अब वर्तमान नेपालको कुरा गरौँ । नेपालका सबैजसो गुण्डा र हत्याराहरू आफुलाई समाजसेवी ठान्छन् । क्रोलेलेझैँ दयालु मान्छे ठान्छन् ।

केही हप्ताअघि मात्रै गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले एक आपराधिक चरित्रको व्यक्तिलाई नियुक्त गरेको भनेर आलोचना भयो ।

यिनले त आफूलाई महान मात्र ठानेनन् रमेश खरेल र नेपाल प्रहरीलाई नै गुण्डा भनिदिए । भ्रम पैदा हुन्छ यिनका कुरा सुन्दा । यी समाजसेवी, राजनितिज्ञ हुन् भने सच्चा समाजसेवी र राजनितिज्ञ चाहीँ को हुन् ? यिनलाई सम्झेर तिनले के ठान्लान आफूलाई । यिनको गुण्डागर्दीका बिरुद्ध यिनलाई कानुनी दायरामा ल्याएका कारण प्रहरी गुण्डा भए ।

यिनकै कुरामा व्यवहारतः सहमत देखिन्छन् राजनैतिक दल र नेता पनि । राजनैतिक परिवर्तनको नाममा २०५२ देखि २०६२ सम्म आफ्ना विरोधीहरू माथि तरबार र बन्दुक चलाए, के फरक छ र अहिले पनि ? सरकारमा बसेर जनतालाई भेन्टिलेटर, आइसियु वा समग्रमा उपचार उपलब्ध गराउन नसक्नुमा । फरक तरिकाले मान्छे मार्नु नै हो ।

खर्च गर्न नसकेको अनेक शीर्षकमा अनेकथरी बजेट भएर पनि हातबाट काम खोसिएका जनतालाई दुईछाक खान नदिनु र महामारीले छटपटिएकालाई उपचार नदिनु उसबेला खुकुरी हानेर तड्पाइ तड्पाइ मार्नुभन्दा केही फरक छ र ?

फेरि एकछिन अमेरिकाकै बिगत हेरौँ । अमेरिकाका २६ औँ राष्ट्रपति थियोडोर रुजबेल्टले जब आफ्नै दलका विलियम हावर्ड टाफ्टलाई राष्ट्रपतिमा समर्थन गरे, जिताए । अनि आफू सिकार खेल्न अफ्रिका गए ।

फर्केपछि रुजबेल्टले टाफ्टलाई देश र जनताप्रति अनुदार देखे । उनकै बिरुद्ध अर्को पार्टी खडा गरे उमेदवारी दिए र टाफ्टलाई नराम्ररी हराए । तर पनि टाफ्टले आफु र रिपब्लिकन हार्नुको कारण आफू भएको स्वीकार गरेनन् । आजका हाम्रा दलका अनुदार नेताको जस्तै चरित्र त्यसबेला त्यहाँ देखिएको थियो । यसको अर्थ हाम्रो राजनीति सय वर्ष अघिको अमेरिकाको भन्दा तल छ ।

धुजाधुजा पारेर पार्टी फुटाउँछन् । सार्वभौम सत्ता राजालाई बुझाउँछन् । देश र जनताप्रति हदैसम्म अनुदार हुन्छन् । महामारीमा रोग र भोकले जनता मरेको थाहासम्म पाउँदैनन् कुर्सी युद्धमा मस्त हुन्छन् ।

जनताले रूचाएका रमेश खरेल, नवराज सिलवाल र कुलमान घिसिङहरूलाई पाखा लगाउँछन् । डङडङी गनाएका भ्रष्टहरूलाई खुलेआम बचाउ गर्छन् । आफ्नो चिल्लो चाकडी गर्ने जो कोहीलाई नियुक्ति पत्र थमाउँछन् र तिनैलाई काखमा लिएर बुबु खुवाउँछन् । अनि आफुलाई तिनैबाट राष्ट्र नायक भनाउँछन् ।

गुण्डा नाइकेहरू चरी र घैटे मर्दा डाँको छोडेर रूनेहरू महामारीले गरिब मर्दा चित्त दुखाउँदैनन् । बरू त्यसबाट आफ्नो सम्पन्ताको अवसर निर्माण गर्छन् । भुकम्पको बिपदमा होस् वा कोरोनाको महामारीमा आफुजस्तै कालो मनका व्यापारीहरूसँग मिलेर कात्रोमासमेत कालोबजारी र कमिसन खान्छन् ।

कुनै दल र नेता त्यसको बिरोध गर्दैनन् । आफु र आफ्नो दललाई नपोस्ने व्यापारीलाई रमेश गोर्खाली, दिपक मनाङे, चक्रे मिलन र स्थानिय यस्तै चरित्र र अनुहारहरू लगाएर धम्क्याउँछन्, असुल्छन् । नसके अर्को बाटो अपनाउँछन् ।

अनि सयवर्ष अघिको अमेरिकन हत्यारा क्रोलेले झैँ भन्छन् मेरो मुटु दयालु छ । म जनताको दुखप्रति आँसु झार्छु । यसको शिक्षा के हो भने अविकसित अवस्थाको राजनैतिक चरित्र र आपराधिक चरित्रमा केही भिन्नता देखिन्न चाहे त्यो जुनसुकै मुलकको होस् ।

राजनीतिमा आपराधिकरण र अपराधमा राजनीतिकरण भनेको यही हो । यसमा थप कालाबजारीकरण, तस्करीकरण, घुसखोरी र भ्रष्टीकरण भएपछि कसरी ऊँभो लाग्छ देश । कसरी उन्तत बन्छ जनताको जीवन स्तर । जब अपराध र राजनीति दुबैको चरित्र एकै छ भने कसलाई कसले मन्त्री बनायो भनेर कराउनुको तुक छैन । दुबै जुम्ल्याहा हुन् ।

राजनीतिबाट भ्रष्ट्राचार, तस्करी, कालाबजारी, घुसखोरी र अपराधलाई अलग गराएर तिनलाई बिषादी खुवाउनुछ भने बोलेर हुन्न अब संगठीत भएर अगाडि नआइ सुख छैन । आफू अघि नसर्ने भए बोल्न छाडौँ । त्यो ढोँग हुनेछ ।

नमिठो लाग्ला तर आँखा चिम्लेर सोचौँ त जसरी गुण्डाको पछि लाग्नेहरू गुण्डा हुन् त्यसरी नै राजनीतिक गुण्डाको पछि लाग्नेहरू पनि उस्तै हुन् । यो कुरा बुझौँ । यी पछुवाहरूको पनि भूमिका छ देशको अधोगति हुनुमा ।

आजको कोराना संक्रमणबाट मात्र होइन यस्ताखाले राजनीतिक संक्रमणबाट देशलाई मुक्त गर्नुछ भने यिनको भरले सम्भव छैन । यो जनताको आरोप होइन । व्यवहारतः उनीहरू आफैँले प्रमाणित गरिसके । अझै पनि हामी उनीहरूलाई विश्वास गर्छौँ भने हाम्रो नालायकी हो ।

आजको मितिसम्म यो दुर्गन्धित राजनीतिको बिकल्प पनि देखिएको छैन । केही सामाजिक संजालमा राजनीति गर्नेहरू दुई पात नहुँदै च्यातिइसके, यिनको पनि आश रहेन ।

सरकारको पात्र फेरिने सम्भावना हट्यो । हिन्दी सिनेमा शैलीमा सहमति बन्यो । त्यही शैलीमा पुनः असहमति आउन सक्छ । तर एउटा चरित्रलाई अर्को समान चरित्रले पालो दिनुको कुनै अर्थ पनि थिएन ।

मेरो दलकोतर्फबाट गगन थापा, विश्वप्रकाश शर्मा वा मिनेन्द्र रिजालको पुस्ता वा यस्तै क्षमता र भिजनले देश चलाउनेछ भनेर ठूलो छाति बनाउन सकेका पनि त थिएनन् अरुले पनि । १० पटक भए पनि म आफैँ हुनुपर्छ । यही लोभले परिवर्तन र विकासका सम्भावनाहरू टरिरहन्छन् ।

तथापि राष्ट्र बिनासक यस्ता पार्टी र नेताको बिकल्प अझै बाँकी छ । हरेक दलमा निष्ठाको राजनीति चाहने असल नेता र कार्यकर्ता धेरै छन् जो आफ्नै दलको नालायकीमा बोल्न सकेका छैनन् ।

ती एक ठाउँमा आउनुपर्छ । स्वच्छ छवि भएका सेवा निवृत्त वा सेवा छाडेरै भएपनि प्रहरी, प्रशासक, पत्रकार, लेखक, कलाकार, विभिन्न पेशाकर्मी, किसान र देशप्रति चिन्ता गर्नेहरू सबै एकसाथ अघि सर्नुपर्छ अब ।

सपनामात्र बोकेर होइन एउटा गतिलो भिजनसहित अघि बढ्नुपर्छ । एकचोटि मुटुमाथी ढुंगा राखेर भएपनि यी सबै दललाई मतदान गर्ने शुभचिन्तकहरु सच्चिनैपर्छ । यिनलाई सुधार्नका लागि पनि यसपटक यिनलाई त्याग्नैपर्छ । घुर्की नै सही ।

सधैँका लागि त्याग्न नसके पनि एक पटकका लागि, यो देश र भावी पुस्ताको भविष्य सोचेर भए पनि यति आँट गर्नैपर्छ । यो आँटिलो निर्णयले देश र जनताका लागि तीनओटा फाइदाहरू हुनेछन् ।

एक, जब यी पाखा लाग्छन् नेपालको राजनीतिमा भएको यस्तो ‘मौन आन्दोलन’ एक ऐतिहासिक सिकाइ हुनेछ । यसबाट अरू देशले पनि सिक्नेछन् । केजरीँवालले दिल्लीमा देखाएको साँघुरो सिकाइभन्दा माथि हुनेछ हाम्रो सन्देश ।

दुई, नव उदय शक्तिले केही त गर्छ । किनभने यसमा नयाँ नेता, नयाँ भिजन र नयाँ उमङ्ग मात्र होइन राम्रो नगरे बढारिन्छु भन्ने डर पनि हुनेछ ।

तेस्रो, लामो इतिहास र संघर्षबाट बनेको तर बाटो बिराएका पुराना दलहरू या त सुध्रिएर आउनेछन् या त कहिल्यै आउने छैनन् । सुध्रेर आए पनि बिलाए पनि देश र जनताको हित नै हुनेछ ।

यति भए देशको राजनीति सुध्रिनेछ । राजनीति फोहोरी खेलको विशेषणबाट मुक्त हुनेछ । नयाँ पुस्ता राजनीतिमा आउनेछ । पलायन भएकाहरू देश फर्किनेछन् । नव युवाहरूले पनि मतदान गर्ने दल भेट्ने छन् ।

विभिन्न नाममा बिरोध मात्र नगरौँ । साँच्चै देशको माया छ र देशलाई योगदान गर्ने रहर छ भने यो अभियान आजैबाट सुरु गरौँ ।