फेरि भेटिइनन् दिदी
शम्भु सुस्केरा
नमस्कार दिदी !
म हात जोड्दै उनको नजिक गएँ ।
उनको अनुहारमा कुनै प्रतिक्रिया थिएन । न त नमस्कार नै फर्काइन् ।
मैले एकछिन उनको अनुहारमा हेरेँ । र उनको घरतिर आँखा डुलाएँ । घर के भन्नु भत्किनै
लागेको झुप्रो थियो । छानोबाट भाटा झर्नैलागेका, पुराना खिया लागेका जस्ता मुस्किलले
अडिएका थिए छानामा ।
उनको छेउमा एउटी किशोरी पनि थिइन् । मैले दुबै अनुहारतिर हेरेँ ।
नमस्कारको प्रतिक्रिया कसैबाट नआएपछि विस्तारै मैले मेरा हात तल झारेँ ।
को हो तिमरु ? किन आका ? फुङ्ङ उँडेको उनको अनुहार, रुखोजस्तो तर थकित
आवाजमा प्रश्न गरिन् केहीबेर हेरेर ।
उनको प्रस्तुतिले म अलिक हच्केजस्तो भएँ । सायद पहिलोपटक राजनीति र
चुनावी अनुभव गर्दै भएर पनि होला असहज जस्तो लागेको । तैपनि सहज मानेर बोले -म फलाना...,
फलानो पार्टीको उम्मेद्वार भोट माग्न आएको, चुनाव चिन्ह फलानो ।
एकछिन केही बोलिनन् ।
तीस सेकेण्डको आफ्नै मौनता चिर्दै बोलिन् मेरो उपचार गर्न सक्छौ ?
के को उपचार ? मेले सोधेँ । उनी खोक्न थालिन् । उनको छेउकी केटी
झुप्रो भित्र छिरिन् ।
के हुनु निको नहुने रोग लाग्यो रे । बाँच्दिनस् भनेका छन् । उनले जवाफ
दिइन् ।
निको नहुने क्यान्सर रोग लागेको छ । बाँच्दिनस् भनेका छन् ।
मरिन्छ भन्ने पनि थाहा छ तर सहज छ उनको जवाफ । सायद आँसु सकिए होला, पीडा
जीवितै छ अनुहार र आवाजमा ।
भित्रबाट किशोरी स्टिलको गिलासमा पानी बोकेर आइन् र तिनलाई दिइन् उनले घटघटी पिइन् ।
मेरो टिमका एकजना साथी पनि आइपुगे र भने भयो हिँड जाऔँ । उनले खास
कुरा सुन्न पाएका थिएनन् । तपाईहरु जाँदैगर्नुस्
म आउँछु भनेँ । र म केहीबेर त्यहीँ रहेँ ।
भोट माग्न हिँडेको यतिलामो गफिएर हुन्छ ? फतफताउँदै हिँडे तिनी ।
को हुन् यी नानी ? मैले किशोरीतिर हेर्दै सोधेँ ती दिदीलाई ।
छोरी हो । ठूली छोरी ।
अरु ?
एउटीको विहे भयो । छोरो एउटा छ ५ मा पढ्छ ।
श्रीमान् ? मैले सोधेँ ।
१० वर्ष भयो विदेश गएको फर्केर आएन । जिउँदो छ की मरेको थाहा छैन ।
म केही बेर चुप लागेँ सायद बोल्ने कुरा केही थिएन । भोट माग्न आएको
कुरा पनि बिर्सेजस्तो भयो ।
उनैले थपिन्-धेरैलाई भोट दिइयो केही लछारेनन् । अब त के का लागि दिनु
र भोट ?
जसले मेरो उपचार गर्छ उसैलाई दिन्छु ।
उनको अनुहारमा हेरिरहने आँट आएन । के भन्नु के नभन्नु । केही नबोली
निस्केर जानु ? म पो समाधानबिहिन भएँ ।
ठ्याक्कै कुरा आयो मनमा । तपाई र मजस्ता सामान्य मान्छेलाई आज कुनै
ठूलै रोग लाग्यो भने यी यस्तै हुन्छ । आफूसँग सम्पति हुँदैन, सरकारले उपचार गर्दैन
। अब तपाई हाम्रा सन्ततिको यस्तो हालत नहोस् भन्नका लागि पनि हामीजस्ता स्वतन्त्र
र नयाँ राजनीतिक शक्तिलाई भोट हाल्नुपर्ने भो दिदी !
मैले नजानिँदो गरी मेरो चुनावी स्वास्थ्य योजना सुनाएँ ।
धेरै भयो यस्तै सुन्दै आकी । उस्तै निराशाको जवाफ पोखिन् ।
र मलाई उपेक्षा गर्दै उठेर भित्र छिरिन् । एकछिन उभिएँ र म पनि गएँ ।
यही र यस्तै अवस्थाका नेपालीका लागि त राजनीति रोजेँ मैले । थाहा छैन
राजनीतिले मलाई रोज्छ की रोज्दैन । मतदाताले मलाई चुन्छन् की चुन्दैनन् । मैले यी
र यस्ता नेपालीका लागि उपायको कानुन बनाउने अवसर पाउँछु की पाउँदिन ?
मनभरि कुरा खेलाउँदै अगाडि बढेँ । अर्को घरमा छिर्न पनि मन लागेन ।
अलिक जोशिलो हुनुस् न यार । उम्मेद्वारजस्तो देखिनु । चर्किँदै एकजना आए
साथी ।
रीस पनि उठ्यो साथीको कुरा सुनेर । समवेदनाविहिन मान्छे । मनले यसो
भन्यो मुख बोलेन् । घरघर हात जोड्दै कृतिम मुस्कुराउँदै उनीहरुको पछि लागेँ ।
जता गए पनि दिल खुश पारेर भन्थे मान्छेहरू यसपाली त पुरानालाई भोट
नदिने । तँलाई नै दिने । तिनै दिदीलाई सम्झिन्थेँ । जितौँ त दिदी तिमी र तिमीजस्ता
आममान्छेकै लागि गरिछाड्छु । जसअपजस तिम्रै कर्म ।
मंशिर ४ गते पनि आयो ।
बेलैमा आफ्नो मतदान केन्द्रबाट भोट दिएँ । सकेसम्म सबै मतदान केन्द्र
पुग्ने योजना छ । ३ जनाको टिम बोकेर अगि बढेँ म । काठको पुल भत्केको सडकछेको एउटा मतदान
केन्द्र पुगेपछि झसङ्ग तिनै दिदी यादमा आइन् । उनकै घर पर्तिरको केन्द्र थियो त्यो
।
चालक भाइले गाडि रोके । म मतदान केन्द्रभित्र छिरेँ । महिलाको लाइनमा
उनलाई निकैबेर खोजे मेरा आँखाहरुले ।
मनमा लाग्दैथियो- लाखौँ रकम उपचार खर्च कुन उम्मेद्वारले देलान् ।
टोलटोलमा लाखौँ रकम बाँडे रे । कानमा कुरो आयो ।
व्यक्तिपिच्छे रसपानका लागि रकम बाँड्नु भन्दा बरु तिनै दिदीलाई
एकमुष्ट दिएका भए पुञ्य हुन्थ्यो ।
भोट किनेर जित्नु वा हार्नु दुबै अपराध ।
दिदी मतदान केन्द्रमा देखिइनन् । उनको घरतिर गाडि मोड्यौँ ।
आफ्ना सन्तानले आफूलेजस्तो जिउँदै मर्नु नपरोस् भन्ने कुन आमाबाले
सोच्दैन र ? मेरा कुराले हामीप्रति केही आश त गरिन् तिनले । पक्कै भोट मलाई नै
दिइन् । अरुप्रति त उनको आश मरिसकेको थियो ।
यस्तो सोच्दैगर्दा उनको घर अगाडि पुग्यौँ ।
गाडि रोकियो । म उत्रिएँ र उनको झुप्रोनेर गएँ । कोही थिएन घरमा ।
ढोका खुल्लै थियो । यसो भित्र चिहाएर हेरेँ । कोही देखीएन । घरमा ताला नलगाई कता
गइन् । टाढा त पक्कै गएकी छैनन् ।
अलि पर्तिर रहेको अर्को झुप्रोमा गएँ त्यहाँको ढोकामा ताला लगाएको
थियो ।
दिदीको घरको ढोकामा ताला पनि थिएन । बालबच्चा पनि कोही थिएनन् । किन
यस्तो ?
मनमा प्रश्न बोकेर फर्केँ र गाडि चढेँ । गाडि अगाडि बढ्यो । मनभरि
अनेक कुरा खेलिरहे । किन देखिन तिनलाई मतदान केन्द्रमा ? किन थिइनन् घरमा ? तिनका
बालबच्चा कता गए । सोध्ने मान्छे पनि कोही थिएन ।
भोलि स्कुटर चढेर फेरि आउनेछु । मनमनै आफैसँग बाचा गरेँ ।
No comments:
Post a Comment