Saturday, August 20, 2022

https://rojgarmanch.com/आमा आइजिपी !’ – शम्भु सुस्केरा

 https://rojgarmanch.com/opinion/2022/08/43514/

‘आमा आइजिपी !’ – शम्भु सुस्केरा

२०७९ साल असार ८ गते नेपाल प्रहरीका १७ जना एसएसपीहरु डिआइजिपीमा बढुवा हुनुभएको छ । कोही एक नम्बरमा हुनुहुन्छ कोही सत्रमा र अरु बिचबिचमा । एक नम्बरबाहेक अरु सबैलाई धेरथोर चिनेको रहेछु मैले पनि ।

जो जति नम्बरमा भए पनि, मैले चिनौँ वा नचिनौँ त्यसमा खास अर्थ छैन । व्याच क्रस भएको छैन, सबै एकै व्याचका हुनुहुन्छ र कार्यसम्पादनमा सबै एक नम्बरी नै हुनुहुन्छ भन्ने अपेक्षा महत्वपूर्ण हो ।

मैले थाहा पाएसम्म यो व्याचले नेपाल प्रहरीका वर्तमान आइजिपी धिरजप्रताप सिँहलाई पालो दिनेछ । नेपाल पुलिस सक्नकै लागि २०५२ सालदेखि हालसम्म अनवरत राजनीति गरिरहेको एउटा पात्र र त्यसको सिको गर्नेहरुका हातमा छ बाँकी कुरा त ।

तैपनी आशा गरौँ आफ्नो मान्छेलाई आइजिपी बनाउन कुनै नयाँ पद, नयाँ उमेर, नयाँ अवधि रचना हुनेछैन । २०१२ सालको ऐन र २०७१ सालको नियमावलीले नै काम गर्ला (ऐन बनाउँदा प्रहरी बलियो हुनेगरी बनाउनु पर्यो प्रहरी बलियो बनाउँदा मुसो जसरी खेलाउन पाइन्न । त्यसैले ऐन बनाउने ह्याउ देखिँदैन, डर अनेक छन् ।

मैले उठाउन खोजेको कुरा माथिको एक, दुई, तीन कुनै पनि होइन । केही वर्ष अघि ‘आमाको देश’ शीर्षकमा एउटा कथा प्रकाशित गरेको थिएँ । त्यहाँ मैले देखेको देशको शासन प्रशासन फरक छ ।

कथाका अनुसार; यो देश महिलाले मात्रै चलाउन् । केवल महिलाले । वडा सदस्यदेखि राष्ट्रपतिसम्म, सिपाहीदेखि आइजिपीसम्म सबै महिला । चुनावमा उम्मेदवार बन्न समेत यी भ्रष्ट पुरुषले नपाउन् । त्यसपछि पुरुषले खोजुन् आरक्षण र भाग । गरुन् आन्दोलन ।

महिला आमा हुन्, देश पनि आमा हो । आमाले आमा लुटेर खोक्रो नपार्लान् भन्ने अपेक्षा र आशय हो मेरो कथाको, अरु केही होइन ।

यो देशका राजदूत भए महिला, मन्त्रीहरु महिला भए, राष्ट्रपति महिला, प्रधानन्यायाधिस, सभामुख महिला भइसके (खासै लछारपाटो लाउन नसके पनि हुन त भए नि ।)
अब हुन बाँकी भनेको प्रधानमन्त्री र सुरक्षा प्रमुख मात्रै हो ।

प्रधानमन्त्री नै बन्ने खालको भिजनरी महिला राजनीतिज्ञ देखा परेका छैनन । सबै उनै आजका पुरुष जस्तै देखिन्छन् ढर्रामै चल्ने । सायद दुवै स्थानमा उपयुक्त पात्र आइनपुगेर वा समय नआएर हो । यसरी पनि सोचौँ ।

नेपाली सेना र सशस्त्र प्रहरीको कुरा पछि खोजौँला, जोडौँला । अहिले नेपाल पुलिसका सत्र जना डिआइजिपीकै कुरा गरौँ । त्यसमा पनि चारजना महिलाहरु किरण बज्राचार्य, दुर्गा सिँह, मिरा चौधरी र किरण राणाको प्रसङ्ग जोडौँ ।

चार जना महिला एकसाथ डिआइजी हुनुभएको छ । सेवा प्रवेश गर्दा आजजस्तो आरक्षण कोटा थिएन । पुरुषभन्दा कम प्रतिष्पर्धी भएर होइन पुरुषसरह पर्खाल नाघेर, उति नै दौडेर, उति नै उफ्रेर, उति नै रगत पसिना बगाएर आउनुभएको हो उहाँहरु ।

र कार्यक्षेत्रमा पनि उस्तै वा कतिपय कामविनाको प्रचार गर्ने व्याचमेट पुरुषभन्दा अब्बल प्रस्तुति दिएर यहाँसम्म आउनुभएको देखिन्छ । बाँकी त उहाँहरुसँग प्रत्यक्ष काम गरेका कलिगलाई थाहा छ ।

इतिहास साक्षी राख्ने र भविष्यका लागि वर्तमानले मूल्याङ्कन गर्ने हुनुपर्छ । नेताको चाकडीमा कसको कस्तो सोच वा अग्रसरता छ मलाई थाहा हुने विषय भएन । देशले देख्ने गरी न्यायका पक्षमा, जनताका पक्षमा निडर भएर निर्णय लिन सक्ने क्षमतातर्फ आफूलाई लान सक्नुहुनेछ वा छैन अब त्यो घडि आएको छ ।

चारैजनालाई उस्तै परिणाम निकाल्ने ठाउँको जिम्मेवारी दिएर भावी आइजिपीका लागि तयार गर्नुपर्छ अब । बाँकी तेह्र जनालाई पछि पार्न सक्नुभएन भने उहाँहरुको कमजोरी भयो । तर अवसर पाउने कुरा उहाँहरुको हातमा छैन तसर्थ अवसरबाट बञ्चित नगरियोस् ।

मेरो आशय महिला मात्र एकातिर पुरुष अर्कोतिर भन्ने होइन । महिलाको प्रतिष्पर्धी केबल महिला भन्ने पनि होइन । माथि उल्लेख गरिसकेँ उहाँहरु प्रहरी प्रवेश र कार्य सम्पादनमा त्यो इतिहास छैन । वर्तमान र भविष्य दुबै त्यस्तो नहोस् ।

जसका कारण नेपाल प्रहरीले एउटी अब्बल महिलालाई प्रहरी महानिरीक्षक पाउनेछ । नेपाल प्रहरीले हालसम्म २९ जना महानिरीक्षक पाइसक्दा एकजना महिला पनि आउन सकेका छैनन् । यो अवसर त्यही इतिहास र वर्तमान तोड्नका निमित्त पनि हो । अवसर ती चारजनाका लागि मात्र होइन प्रहरी संगठन र राष्ट्रका लागि पनि हो ।

हुन त बि.सं.२००८ सालमै चैतमाया डङ्गोल प्रहरी बन्नु भएको थियो । महिला प्रहरीको इतिहास पुरुषसरह नै लामो छ । तर माथिल्लो पदमा थिएन । त्यसबेलाको समय र सोचले महिलाले नेतृत्व गर्न सक्छन् भन्ने अन्दाज गर्न सकेन । स्वाभाविक मान्न सकिन्छ । त्यो समय र शासकलाई गाली गर्नु मुर्खता हुनेछ । तर, अब पनि त्यो सोच नभत्किए कहिले भत्किन्छ ?

एउटा प्रमुख सुरक्षा अङ्गको नेतृत्व एकजना महिलाले लिएको दिन नेपालका मात्र होइन संसारभरका महिलाको शिर, आत्मबल र आत्मविश्वास पनि उचो हुनेछ । त्योभन्दा ठूलो खुशी एउटी आमाले आम नेपालीका लागि आमा भएर सुरक्षा प्रदान गर्नु पुरुषका लागि समेत गर्वको विषय हुनेछ र हुनुपर्छ ।

यसका लागि आजैदेखि उहाँहरुका व्याचमेट साथीहरु, प्रहरी महानिरीक्षक, त्यसबेला र अहिलेका प्रधानमन्त्री र मन्त्रीहरु पनि सकारात्मक भएर स्याबासी पाउनेखालको एउटा इतिहास रचुन् । मेरो आशय यो होइन की चारजना महिलामाथि सहानुभूति राखौँ । मेरो आशय यो हो पुरुष सरह मैदान दिऔँ । दौड आफैँ पुरा गर्नुहुनेछ । उहाँहरुको दौडमा कोही बाधक नबनौँ ।

अब आग्रह चारैजना महिला डिआइजीसाबहरुका लागि । एउटा उदाहरणले सम्झाउन चाहन्छु । एउटा प्रशिक्षणमा यो स्तम्भकारसहित २४ जना पुरुष र ६ जना महिला थियौँ । तीन महिनाको त्यो तालिममा पुरुषहरुबीच कहिल्यै बेमेल भएन तर महिलाहरुबीच कहिल्यै पनि मेल भएन ।

तपाईहरु एकापसको सहकार्य र सच्चा मित्रताले मात्र देशले इतिहास रच्न सक्छ, हामी पुरुषहरुले हाम्रो रक्षक ‘आमा’ पाउनेछौँ । नत्र त माछोमाछो भ्यागुतो हुनेछ । अर्को कुरा कोही केबल कामलाई पुजा गर्ने र कोही चाकडीलाई पुजा गर्ने भयो भने पनि रचिएको इतिहास सम्मान योग्य हुनेछैन ।

पौराणिक कालका देवीहरुले त चाकडी गरेनन्, क्षमता र सत्यताकै बलले असुरहरुलाई हराए भने यो आधुनिक युगमा चाकडी वा अरु पर्दापछाडिको वस्तुको सहारा लिएर संसारभरका आमा र सन्ततिको शिर नझुकाउहोला ।

बरु चाकडी र भ्रष्ट संस्कृतिको जरा उखेल्ने कार्यमा योगदान गर्नुहोस् आइजिपी नभएभन्दा बढी इज्जत रहनेछ त्यसमा । तपाइ हामी जानकार छौँ आज कति आइजिपी र उपल्लो पदबाट अवकास लिएकाहरु समाजका अघिल्तिर निस्किँदा मुख छोप्नु परेको छ । भरसक त निस्किन नै सकेका छैनन् ।

यो भावनाको बहकाइ होइन । भावना हो र भावना मात्र होइन आवश्यकता र वास्तविकता पनि हो । आजलाई यति नै बाँकी तपाई “आमा आइजिपी“ भएका दिन लेखौँला । धन्यवाद र बधाइ भनौँला तपाई, नेपाल प्रहरी र सारा नेपालीलाई ।

 

No comments:

Post a Comment