Sunday, January 16, 2022

 

पढेर पार लाग्छ

शम्भु सुस्केरा

स्कुल कलेज पढ्दा दिक्दारी पोख्थ्यौँ 'पढेर पार लाग्दैन' भनेर । जब पढ्दापढ्दा दिक्क लाग्थ्यो वा जति पढे पनि दिमागमा घुस्दैनथ्यो अनि निस्किन्थ्यो मुखबाट यस्तो प्रतिक्रिया। सायद पढाइमा औसतस्तरका सबै विद्यार्थीलाई यस्तै लाग्ला ।

'तैँले पढेर खाँदैनस्' आफ्ना बालबालिकाले पढ्न अल्छी गरे वा परिक्षामा कम नम्बर ल्याए भने अभिभावकले पनि यसो भनेको सुनिन्छ । तर पनि नपढी धर छैन । त्यसैले त पढेर कहिले सकिएला भन्ने चिन्ता सबै विद्यार्थीको तनावको विषय हुन सक्छ ।

बाध्यात्मक पढाइमा यस्तो लागे पनि रहरको पढाइमा यस्तो हुँदैन । रहरको पढाइ भनेको आफूलाई मन परेको, पाठ्यपुस्तक भन्दा बाहिरको पुस्तक पढ्नु हो । औपचारिक पढाइ सकेपछि मन परेको पुस्तक फुर्सदमा वा फुर्सद निकाले पढ्दाको मजा अर्कै हुन्छ ।

केही वर्षदेखि पुस्तक पसलेको व्यापार कम भएको छ भने इन्टरनेट कंपनी र मोबाइल कंपनीको व्यापार बढेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।

पुस्तक, मोबाइल र इन्टरनेले दिने लाभ एकै हो त ? गहन बहस गर्न सकिन्छ यस विषयमा । तर्क क्षमता भएकाले जुनसुकै विषयको पक्ष लिए पनि बहस जित्न सक्छन् ।

तर सत्य यो होइन । पुस्तक पुस्तक नै हो पुस्तकलाई हराउन प्रविधिले सक्दैन । बरू कतिपय अवस्थामा प्रविधिले मानिसको क्षमतामा ह्रास ल्याएको छ ।

यात्रा गर्दासमेत पुस्तक पढेको देखिने पश्चिमाहरुले प्रविधिको उपयोग गरिसकेर, स्वाद चाखिसकेर पुस्ततिर नै फर्किएका हुन् भन्न सकिन्छ । पुस्तकले दिने आनन्द अन्त नभेटेर पनि उनीहरूले यसैलाई प्रेम गरेका हुन् भन्न सकिन्छ । तर मसँग यसकाबारेमा कसैले तयार पारेको रिपोर्ट चाहिँ छैन । पाठकलाई खोजको विषय बन्न सक्छ ।

अनुभवका आधारमा भन्न सकिने केहो भने प्रविधिको अधिक प्रयोगले मानिसको रचनात्मक क्षमता घटाउने मात्र होइन मानसिक र शारिरीक स्वाश्यमा समेत नकारात्मक असर गर्छ ।पुस्तक पढ्ने बानीले यसको ठिक उल्टो प्रभाव पार्दछ ।

त्यसैले बानी छुटेको छ भने पनि पुस्तक पढ्न थालौँ । सुचना प्रविधिको यो युगमा एउटा डिभाइसले संसारका सबै कुरा दिन्छ । थप मूल्य तिरेर किन अनेक थरी पुस्तक किन्नु ? सामान्य सत्य जस्तो लागे पनि यो पूर्ण सत्य होइन । पुस्तक मानषपटल र घर दुवै स्थानमा सङ्ग्रहित गर्न सकिने सम्पति हो । प्रविधिको कहिल्यै भर हुँदैन ।

सामान्यतया डिभाइस वा पुस्तक जेमा पढे पनि पढाइबाट प्राप्त हुने कुरा समान हो । तर त्यसको सकारात्मक र नकारात्मक प्रभावको बारेमा माथि भनियो । तपाईले थप खोज गर्न सक्नुहुनेछ ।

अब चर्चा गरौँ । पढ्नु र नपढ्नुको भेद । वा पढ्नु, सुन्नु वा हेर्नुबाट पाइने आनन्दको भेद ।

पढ्नेहरुको शब्द भन्डार बढ्ने त छँदै छ सूचना र ज्ञानको भण्डार समेत बढ्दछ । पुस्तक र फुर्सद छ भने जहाँ जतिबेला पनि पढ्न सकिन्छ । कहीँ कसैलाई पर्खिनुपर्दाको दिक्दारमा बाटोमा उभिएरै समयको सदुपयोग गर्न पनि सकिन्छ । अध्ययनले मानसिक सक्रियता र सिर्जनात्मक क्षमता पनि बढाउँछ । कहिले कहिँ कसैको एउटा कविता पढ्दा अर्को सुन्दर कविता जन्मिएका उदाहरणहरू धेरैसँग छन् । त्यसैले जज वर्नार्ड शले भनेका होलान् एउटा पुस्तक लेख्न सयओटा पुस्तक पढ ।

मानिस तनाव व्यवस्थापनका लागि अनेक तरिका खोज्छ । तर अध्ययन गर्नेहरू स्वयंमा कम चिन्तित हुन्छन् भनिन्छ । उनीहरू आफूलाई आइपरेको जस्तोसुकै अप्ठ्यारोबाट आफूलाई बाहिर निकाल् सक्छन् नै अरुलाई पनि असहज परिस्थितिबाट सहजतातिर लैजान सक्छन् । मुख्य कुरो त के हो भने संसारका प्रखरवक्ताहरूको वकृत्व क्षमता सम्बन्धित विषयको व्यवस्थित अध्ययनबाटै बढेको हो ।

अध्यन गर्ने, टिपोट गर्ने, सम्झिने र लेख्ने बानीले बोल्नका लागि समेत सहयोग गर्दछ । त्यसैले भनिन्छ पुस्तक ज्ञान र अनुभवको श्रृङ्खला हो यसले जीवन बाँच्न त सिकाउँछ नै मृत्यु बुझ्न र त्यसलाई स्वीकार गर्न समेत सहज बनाउँछ रे ।

के पढ्ने र कसरी पढ्ने भन्ने जिज्ञासा हुन सक्छ । पढ्नका लागि आफ्नो रुचीको विषय हुनुपर्दछ भने कतिपय अवस्थामा जीवन उपयोगी पुस्तक पनि खोजेर पढ्नुपर्ने हुन्छ ।

कतिपय मानिसहरू आजकाल किताबको चाङको फोटो खिचेर सामाजिक सञ्जालमा देखाउने गर्छन् । तर धेरै ओटा पुस्तक पढेर  संङ्ख्याको रेकर्ड राख्नुभन्दा एउटा किताब मिहिन ढंगले धेरै पटक पढ्दा कहिल्यै नबिर्सिने गरी महत्वपूर्ण कुरा सिकिन्छ । धेरैओटा खेल खेल्ने खेलाडिभन्दा लामो समय एउटै खेल खेलेको खेलाडिले राम्रो नतिजा दिएका छन् ।

पढ्दा हतार नगरी पढ्ने, आफ्नै पुस्तक हो भने मन परेको कुरा अण्डरलाईन गर्ने, अरुको मागेर पढेको भए कपिमा टिपोट गर्दै पढ्ने । पढेको कुरा एकछिन रोकिएर मनन गर्दै पढ्ने गर्दा दिमागमा छापिएर बस्न सक्छ । टिपोट गरेको कुरा सङ्ग्रह गरेर राख्नाले पछि लेख्न र त्यस विषयमा बोल्न समेत सहयोग गर्दछ ।प्रखर वक्ताहरू यसै गर्ने गर्दछन् ।

पढेर कति काम लाग्छ भन्ने कुरा के सोचले कसरी पढिन्छ  भन्ने कुराले पनि अर्थ राख्छ । त्यसैले पढ्दाखेरि सुचना पहिल्याउने भन्दा पनि त्यसबाट जीवन बदल्नका लागि उपयोग गर्छु भन्ने सोच बनाएर पढ्न सके बढी फलदायी हुन्छ । पुस्तक अध्ययनका लाभ धेरै रहेछन् भन्ने त थाहा भयो तर पढन अल्छि लाग्छ वा पढ्न रुचि नै हुँदैन के गर्ने भन्ने प्रश्न उठ्न सक्छ । त्यसो हो भने जे गर्न मन लाग्दैन बारम्बार त्यही गरिरहने हो भने एक दिन बानी बन्न सक्छ । त्यसका लागि रुटिन बनाएर नियमित एक्काईस दिनसम्म दैनिक पढ्नाले पढ्ने बानीको विकास हुन्छ  

पढदाखेरि एकान्तमा एक्लै वा समुहमा चर्चा गर्दै जसरी रमाईलो हुन्छ त्यसरी पढने गर्नुपर्छ ।

'रिडर्स आर लिडर्स, लिडर्स सुड बी रिडर' यो सत्य हो । त्यसैले भनिन्छ जसले अध्ययन र सिकाइलाई रोक्छ उसको सफलता पनि रोकिन्छ । यसमा विवाद गर्नुपर्ने कारण छैन बरू अनुसरण गरियो भने आफ्नै हित हुनेछ ।

संसारलाई अगुवाइ गर्नेहरुले कितावमात्र होइन विश्वलाई अध्ययन गर्दछन्, मानवको स्वाभावलाई अध्ययन गर्दछन् । आफूले अगुवाइ गर्नुपर्ने विषयलाई अझ बढी अध्ययन गर्दछन् ।

सकेसम्म पुस्तक नै अध्ययनगरौँ । डिभाइस सजिलो लाग्छ भने त्यसमा पनि अनलाइन वा डाउनलोड पढ्न सकिन्छ । तर एकसाथ लामो समय बसियो भने शारिरीक समस्याहरु आउँछ भन्छन् चिकित्सकहरु यसलाई पनि ख्याल गरौँ । तर पढ्ने वानीको विकास गरौँ । विनास नगरौँ ।