Friday, June 21, 2024

सुस्केराको कलम: डेँगुः परिचय, साबधानी र उपचार

सुस्केराको कलम: डेँगुः परिचय, साबधानी र उपचार:   डेँगुः परिचय, साबधानी र उपचार   डेँगु ज्वरो केहो ? डेँगु Aedes adegypti जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा ज्वर...

Saturday, October 21, 2023

किसान मारिएको देश

 

किसानले दूधको भूक्तानी नपाउनुको रहस्य

शम्भु सुस्केरा

यो देश कस्को हो ? कोको बस्ने यहाँ ? के पेशा गर्ने यहाँ बसेर ??? हरेक गाउँ, वस्ती र शहरबाट हरक्षण तिखो स्वरमा यो प्रश्न झङ्कृत भइरहेको छ । तर सुन्ने कोही छैन ।

सायद हरेक दरवारहरुबाट मौन जवाफ यस्तो छः राजनीति गर्ने, जसरी पनि चुनाव जित्ने, सरकारमा जाने अनि कर्मचारी र कार्यकर्ता पजनी गर्ने, तिनैसँग मिलेर देश लुट्ने ।

दलसँग मिलेर दलकै सदस्य बनेर व्यावसाय गर्ने र जनता लुट्ने हामी केही मान्छे र हाम्रा सन्तानको मात्र हो यो देश ।

यो जवाफले कोरलेको प्रश्नको भ्रुण यो पनि हो संसारकै उच्च शिखरको देशलाई कतिन्जेल खाडीले पालिरहने ?

जवाफ स्पष्ट छ जतिन्जेल पिशाचको हातमा परिरहन्छ यो देश ।

यो जवाफ यतिबेला दूध उत्पादक किसान र व्यावासायीको पनि बनेको छ ।

खेती गर्यो बजार छैन । भएको बजार भारतीय उत्पादनले दमन गरेको छ । सरकार उताकै बजारलाई सहयोग हुनेगरी नीति र निर्णय निर्माण गर्छ । बाख्रा पाल्यो उस्तै हालत छ न सरकारी प्रोत्साहन छ न बजार ।

अरुले गाई भैँसी पालेको, घरघरैबाट दूधको किनबेच भएको देख्छ अनि बैँकलाई भएभरको सम्पति राखेर चाकडी गर्दागर्दा रिन निकाल्छ र गाई पाल्छ ।

....फेरि भाग पर्छ बाह्र हातको पिँडालु । किसान मारिएको देश हो यो ।

असारदेखि स्थानीय दूध संकलकहरुले ठूला डेरीबाट रकम पाएका छैनन् । आफूले नपाएपछि किसानलाई कसरी दिने ? शिवसताक्षी ६ स्थित मिलन चिस्यान केन्द्रका मिलन अधिकारीका अनुसार व्यक्ति र संस्थाले ऋण पत्याउन्जेल किसानलाई पैसा दिइयो अब सक्न अवश्था छैन । झण्डै ४० लाख जति लिनु र दिनु छ ।

उनको दूधका नियमित खरिदकर्ता पोखराबाट सञ्चालित सुजल डेरीको आस्वाशन छ किसानलाई ३ करोडभन्दा बढी पैसा दिनु छ । दशैँ अगि बैँकबाट ऋण लिएर आधै भए पनि दिन्छौँ ।

दुग्ध विकास संस्थानले पनि २ महिनादेखि भूक्तानी दिएको छैन । उसका नियमित ग्राहक, चिनजान भनसुनका संकलकलाई जेनतेन दिएको छ । अरुलाई छैन ।

एकहजार लिटर संकलन गरिरहेकाहरुले चारसय पनि संकलन गरेका छैनन्, ४० हजार संकलन गर्नेले १० हजार संकलन गरेका छैनन् । त्यसको पनि समयमा भूक्तानी भएको छैन ।

ठूला डेरीहरुले मूल्य घटाउन साना डेरीहरुलाई दवाव दिइरहेका छन् । किसानसँग ६० रुपैया लिटरमा लिएको दूध ५८ मा कसरी दिने ? साना डेरीहरुको गुनासो छ ।

१० लिटर दूध दिइरहेका किसानबाट यतिबेला ५ लिटर मात्रै लिन्छन् वा दुईदिनमा एक दिन मात्र लिन्छन् उनीहरू । बैँकको किस्ता, गाइलाई दाना र दैनिक गर्जो कसरी टार्ने । किसानको दशैँ खल्लो हुँदैछ ।

सरकारले दूधको मूल्य तोक्यो तर दानाको मूल्यमा मनपर्दी छ । दानाको मूल्य पनि उसैगरी नतोकेसम्म दूधको मूल्य तोक्नुको अर्थ छैन, किसानले मिहिनेतको फल पाउँदैनन् ।

दुग्ध विकास संस्थानका अनुसार दुधको दुई सिजन हुन्छ । पहिलो, माघदेखि साउनसम्मको लिन सिजन । यो सिजनमा दूध कम उत्पादन हुन्छ । उत्पादन खपत र भूक्तानीमा समस्या हुँदैन । भदौदेखि पुषसम्मको फ्लस सिजनमा दूध बढी हुन्छ र कहिलेकहिँ खरिद र बिक्रीमा असन्तुलन देखा पर्छ । यही कारण दुग्ध विकास संस्थानले किसानलाई दुईमहिनाको भुक्तानि गर्न नसकेको हो ।

तर दूध संकलकहरु यो तर्क मान्दैनन् । धेरैओटा चाडपर्वहरु पर्ने सिजनमा दूध धेर हुने र खपत नहुने तर्क झुट हो । यसअगि यस्तो भएकै छैन् ।

२०८० वैसाखसम्म नेपालमा माग अनुसार दूध उत्पादन हुन नसकेकाले भारतबाट दूध ल्याउन ठूला डेरीहरुले सरकारसँग अनुमति मागेका थिए । डेरीहरुमार्फत आएको यो प्रस्ताव कृषि मन्त्रालयले पेश गरे पनि अर्थ मन्त्रालयले अस्वीकार गरेपछि भारतबाट दूध आयात अनुमति रोकियो ।

तर जब गाईमा जब लम्कीस्किन रोग आयो अमेरिका छुर्पी निर्यात रोकियो । अनि नेपालकै दूध बढी भयो । छुर्पी उत्पादन रोकिएपछि ईलामको मात्र ४० हजार लिटर दूध दुग्ध विकास संस्थानमा थपियो । अन्य डेरीहरुले पनि यसैगरी दूधको भार थाम्नु पर्यो ।

दुग्ध विकास संस्थानको तर्कसँग मिल्दो छ सुजल डेरीको तर्क । झापाबाट बढीमा १५ हजार लिटर दूध लिन सक्ने क्षमता भए पनि ४० हजार लिटरभन्दा बढि उठाउनु परेकाले र अन्य विविध समस्याका कारण किसानलाई ३ करोड भूक्तानी गर्न बाँकी रहेको स्वीकार्छन सुजल डेरिका राजेन्द्र वस्ती ।

नेपालमा ४ देखि ४ सय ५० रुपैया लगानीमा उत्पादन भइरहेको १ केजी पाउडर दूध भन्सार र प्रहरीको मिलेमतोमा भारतबाट प्रतिकेजी २ सयमै नेपाल भित्रिरहेको छ ।

यसकारण दुग्ध विकास संस्थान, सीताराम दूध लगायतका सबै कंपनीको बिक्री घटे पनि स्थानीय खुद्रा डेरिहरुलाई यसको कुनै देखिँदैन । बरु बिक्री बढेको छ ।

छुर्पी अमेरिका जान रोकिएको कुरा मान्दैनन् बरू नेपाली छुर्पी निरन्तर अमेरिका निर्यात गरिरहेको बताउँछन् नीजि व्यावसायी । पहिले भन्दा बढी भारतको बाटो हुँदै युरोपसम्म निर्यात भइरहेको दावी छ ।

जति छुर्पी उत्पादन गरिन्छ एकसाथ त्यतिनै घिउ पनि उत्पादन हुने तर घिउको बजार नभएको, यस अगि भइरहेको जापान र कोरियाको निर्यात रोकिएकाले छुर्पीको उत्पादनमा कमी आएको बताउँछन् नेपाल डेरि एसोसियसनका कोशी प्रदेश अध्यक्ष गंगा खड्का ।

खड्काका अनुसार नीजी डेरिहरुले अगिल्लो सरकारको पालामा दूधको मूल्य बढाउन सरकारलाई दवाव दिए र मूल्य बढाए । आफूहरुले मूल्य भन्दा उत्पादन बढाउन जोड गरे पनि सरकारले सुनेन र भारतीय सस्तो बजारको प्रभाव नेपालमा परेको बताउँछन् । अरु देशको तुलनामा नेपाली दूध महङ्गो भएका कारण देश र विदेशको बजार प्रभावित भएको उनको तर्क छ ।

भारतबाट दूध, चीज, नौनी आदि भित्रिनु, गाईमा लम्कीस्किन रोग लाग्नु, मूल्य वृद्धि, आर्थिक मन्दीले क्रयशक्ति कमजोर हुनु, दूधमाथि चरम राजनीति  हुनु हालको मुख्य समस्या रहेको बुझ्न कठिन छैन ।

मिलेमतोमा लुकीछिपी भारतीय दूध नेपाल भित्रिने सुइको पाएकाले नेपाली किसानको दूध होहोइन पक्का भएर मात्र आफूले खरिद गर्ने गरेको उनको दावी छ । र असार साउनमा छुर्पी नबन्ने कारण पनि यो समस्या आएको बताउँछन् अध्यक्ष खड्का ।

दूध मात्र होइन पनिर र मिठाइसमेत भारतबाट आएकाले नेपाली बजार धरापमा परेको मिलन अधिकारीको दाबी छ ।

गरिखानेका लागि नेपाल अब आफ्नो रहेन । ऋणबाट कर्मचारी, घरभाडा, बिजुली, केरियर सबै धानेर दूध व्यावासाय गर्न नसक्ने हुँदा आत्महत्या गर्नुभन्दा पासपोर्ट बनाउने तयारी गरेको बताउँछन् उनी ।

एकातिर किसानलाई दूधको भूक्तानी दिन सकेको छैन अर्कोतिर किसानबाट संकलन गरेर लगेको दूध दुग्ध विकास संस्थान विराटनगरमा खन्याउन मात्र त्यहाँका कर्मचारीलाई ५ हजार घुश दिनुपर्छ । नत्र अनेक बहाना बनाएर फर्काई दिन्छन् ।

यति धेरै गुजुल्टिएको समस्या बोकेर दूध किसान, दूध संकलक र ठूला व्यावसायीहरू चलिरहेका छन् तर हेरिदिने, सुनिदिने र समाधान गरिदिने कोही छैन ।

नेपालमा दूध वा दूधजन्य उत्पादनको खपत कति हो । कति उत्पादन भइरहेको छ । कति उत्पादन गर्न सकिन्छ । बजार कहाँ कसरी खोज्ने ? आदिजस्ता सामान्य कुराको व्यवस्थापन गर्न नसक्ने सरकार कसको पक्षमा के काम गरिरहेको होला ?

निरन्तर दुध उत्पादन गर्ने किसानलाई अनुदान दिने, दूध र घिउको गुणस्तर बढाउने होभने स्वेश र विदेशमा बजार व्यवस्थापन गर्न नीजी क्षेत्र आफैँ सक्षम रहेको बताउँछन् व्यावसायीहरू ।

ए सरकार !! यसरी किसान र व्यावसायीको छातिमा झिर रोपेर सुध्रिएला त देश र जनताको अर्थिक अवश्था ? कि यसमै छ मज्जा ???

 

Sunday, July 30, 2023

डेँगुः परिचय, साबधानी र उपचार

 

डेँगुः परिचय, साबधानी र उपचार

 

डेँगु ज्वरो केहो ?

डेँगु Aedes adegypti जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा ज्वरो हो ।

डेँगु सार्ने लामखुट्टे कहाँ पाइन्छ ?

१.यो लामखुट्टेले सफा पानीमा फुल पार्छ ।

२.वर्षातको समयमा पानी जमेका टिनका डब्बा, रङका खाली बट्टा, टायर, ट्युब, गमला, फूलदानी, एयरकण्डिसन, पानीट्याङ्की आदिमा समेत फुल पार्दछ ।

यो लामखुट्टेको टोकाईबाट बच्न बच्न के गर्ने ?

रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो भन्ने भनाइ अनुसारको साबधानी आवश्यक अपनाउनु बुद्धीमानी हो । जस अनुसार

१.   घर वरपर वा कुनै पनि टोकरी बट्टा आदिमा पानी जम्न नदिने ।

२.   ट्याङ्की, कुलर, फूलदानीहरू हरेकदिन सफा गर्ने

३.   पानी जमेको खाल्डाखुल्डीमा भएका लामखुट्टेको लार्भा मार्न स्थानीय तहसँग समन्वय गरी औषधी छर्ने ।

४.   हमेसा लामो बाहुला भएको कपडा लगाउने

५.   घारी, झाडी, फोहोर स्थानमा नबस्ने ।

६.   घर वरपर पानी जम्न नदिने । घर, वस्तीको सरसफाईमा सामुहिक प्रयास गर्ने ।

७.    राति सुत्दा झुल लगाउने वा धुप तथा लिक्विड (रिपेलेण्ट) प्रयोग गर्ने

लाम खुट्टेले दिउँसो मात्र टोक्नेगर्दछ । तर रातमा पनि साबधानी अपनाउनुपर्दछ ।

डेँगुका लक्षणहरू

१.एक्कासी उच्च ज्वरो आउनु । ज्वरो १ देखी ४ दिनसम्म उच्च हुने र ५ देखि ७ दिनसम्म रहिरहन सक्छ ।

२.धेरै टाउको दुख्ने, आँखाको गेडी तथा टाउकोको पछाडिको भाग दुख्ने

३.हाडजोर्नी तथा माङ्सपेशी दुख्ने

४. वाकवाकी तथा वान्ता हुने

५. पेट दुख्ने

६. नाक वा गिजाबाट रगत बग्ने

७. शरीरमा निलडाम तथा बिमिरा देखा पर्ने

डेँगु ज्वरोको उपचार

१.डेँगु भाइरसका कारण लाग्ने भएकाले यसको खास उपचार छैन तर बिरामीमा देखिएका लक्षण अनुसार उपचार गर्ने गरिन्छ ।

२.ज्वरो घटाउन सिटामल तथा शरीरमा ऊर्जा प्रदान गर्न प्रसस्त झोल कुरा खानुपर्दछ । कुनै किसिमको आइब्रुपोफेन र एसपिरिन जस्ता औषधी खानु हुँदैन ।

३. डेँगुको लक्षण देखा परेमा नजिकैको अस्पताल जानु नै हितकर हुनेछ ।

डेँगु सजिलै निको हुने ज्वरो हो । डराउने, आत्तिने भन्दा पनि उच्च मनोबलका साथ उपचार गरे चाँडै निको हुन्छ । अरुलाई डर देखाउने तर्साउनेभन्दा पनि आत्मबल प्रदान गरौँ । एकलभन्दा सामुहिक प्रयासबाट यसको जोखिम घटाउन सकिन्छ ।

स्वास्थ्य सेवी रविन खड्काको सहयोगमा तयार पारिएको सामग्री

 

गोधूलि गीतको सन्देश : माओवादीसँग दु:खेसो, रास्वपासँग शंका

 

गोधूलि गीतको सन्देश : माओवादीसँग दु:खेसो, रास्वपासँग शंका

‘एउटा कुरा भनौं दिदी ?’ उसले सोध्यो।

‘के कुरा ?’

‘आज चामलको भात खाएर मज्जा लाग्यो।’

मासु पाकेको छाक चामलको भात खान पाएको बेलुकी ईश्वरी बुढा मगरसँग खुशी साटेको थियो १० वर्षे कमरेड खड्गबहादुर पुनले। माओवादी लडाकुले दिनैपिच्छे चामलको भात खान्छन् भन्ने सुनेर ऊ माओवादीमा आएको थियो। तर त्यहाँ पनि चामलको भात खान नपाउँदा विरक्तिएको थियो।

बालबालिकालाई सुरक्षाकर्मीले शंका नगर्ने हुँदा झोलामा ग्रिनेड र चिठी बोकाउने जस्ता काममा प्रयोग गरिएको छ।

ताप्लेजुङका भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ को अंश हो माथिको संवाद। यस अघि रुमानी साँझ कथा सङ्ग्रह प्रकाशित गरिसकेका बोखिमको दोस्रो कृति हो। बीबीसी र एण्टेना फाउण्डेसन नेपालमा गरी नौ वर्षजति काम गर्दाको अनुभव र अध्ययनबाट यो उपन्यास लेखेका हुन्। कलम प्रकाशनले प्रकाशित गरेको उपन्यास ३६१ पृष्ठको रहेको छ।

यो गोधूलि गीतको समीक्षा भन्दा पनि त्यसमाथि एउटा पाठकीय दृष्टिकोण र समयको स्वरसँग उपन्यासको तादाम्यता खोज्ने प्रयत्न मात्र हो।

जसले उपन्यासलाई जीवन्त बनाएको छ

सुन्दै कौतूहल लाग्ने रुमानी साँझ कथा सङ्ग्रह प्रकाशित गरेका भानु बोखिमले त्यति आकर्षक र आधुनिक नलाग्ने शीर्षक ‘गोधूलि गीत’ किन पस्किए ? मसँग जस्तै तपाईंसँग पनि यो प्रश्न हुनसक्छ। तर पुस्तक पढेपछि त्यो जिज्ञाशाको चित्तबुझ्दो निवारण भेटिनेछ।

‘गोधूलि साँझ’ वनबाट चरेर फर्केका गाईबस्तुले बाटोमा उडाएको धुलो र अस्ताउँदो रातो घामले उडेको धुलोमा छर्ने रङको सुन्दरता यसको सकारात्मक पाटो, धुलो उडेर बस्तु धपाउँदै हिंड्ने गोठाला र बाटो छेउका बस्तीमा पर्ने प्रदूषण र असर, यो नकारात्मक पाटो। तत्कालीन संघर्षलाई निरपेक्ष भएर हेर्ने हो भने त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन्। ती दुवै पाटाहरूलाई स्पष्ट औंल्याएर लेखिएको गोधूलि गीतको प्रशंसनीय र सच्याउन सकिने दुवै पाटा छन्।

उपन्यासमा अनेकन् पात्रका अनेकन् कथा समेटिएका छन्। राजनीति र सशस्त्र संघर्षले छुनै नहुने वर्ग शिक्षक, साना नानीहरू र तिनको परिवारलाई कसरी प्रभावित पारेको छ ? जसले राजनीति कहिल्यै सोचेन, जानेन, रुचि बनाएन, त्यही वर्ग युद्धमा होमिन र बलिदानी गर्न कसरी बाध्य हुन्छ ? एउटा गहन प्रश्न र प्राप्त नभएको त्यसको जवाफ वा नतिजा हो गोधूलि गीत।

‘क्रान्तिकारी लडेर मर्छ र लडेरै बाँच्छ’

तालिमका क्रममा प्रशिक्षकबाट आएको यो भनाइ ठूला क्रान्तिकारी जति बाँचेर सानाहरू मरेर भए पनि सार्थक भएको छ। सशस्त्र संघर्षमा भूमिगत राजनीतिक दलको संगठन निर्माण, भूमिगत अवस्थाका अप्ठ्यारा, जनताको समर्थन, सरकारी पक्षबाट हुने निगरानी र आक्रमण, त्यसभित्रका सूक्ष्म व्यवस्थापन र अप्ठ्यारा सबै कुरा मिहिन ढंगले एक युद्ध अनुभवीको बयान झैं सलल बगेका छन्।

चार वटी श्रीमती ल्याएको दोषमा श्रमशिविरमा रहेको रामकुमार कार्की भागेकै कारण भोजपुरको पिप्ले एरिया कमाण्डरबाट ईश्वरीलाई हटाएर जलपुर सरुवा गरिनु र लडाकुको अपेक्षा विपरीत कमरेड अमरलाई जिम्मेवारी दिइनुलाई नेतृत्व आफ्नो अनुकूल पार्ने तिकडमको राजनीति देखिन्छ।

यस्तै धरानमा बीए पढ्दै गरेको झापाको ठिटो, रसियन साहित्यबाट प्रभावित भएर परिवारको समर्थन विना नै कमरेड असिम बनेर संघर्षमा होमिन्छ। तर बाबुको सम्पत्ति र दाजुदिदी सरकारी जागिरे भएकै कारण उसलाई कहिल्यै विश्वास गरेर जिम्मेवारी दिइँदैन। यसरी सँगै संघर्ष गरेका माथि अविश्वास, गुटबन्दी जस्ता विकृत राजनीति बन्दुकको नालसँगै भित्रिएको सत्य जीवन्त लाग्छ।

नेतृत्व समर्थनबाट नभई शक्तिबाट लिनुपर्छ भन्ने उदाहरण प्रेमकलाको अभिव्यक्ति र सफलताले स्पष्ट पार्छ। एउटा प्रहरीको प्रेममा परेर छोरी सहित छाडिएकी उनमा राजनीतिक भन्दा बढी बदलाको भावना छ। सबैभन्दा चाँडो केन्द्रीय सदस्य र सभासद् बनेर सम्भ्रान्त र व्यापारीको घेरामा परेकी उनले ईश्वरीलाई उस्तै प्रेरणा भर्छिन्- पार्टीको काम मात्र गरेर हुँदैन ईश्वरी, पार्टीमा आफ्नो स्थान पनि बनाउनुपर्छ। त्यसका लागि चलखेल चाहिन्छ। र, पार्टीले पत्याएर मात्र हुँदैन देशका विद्वान, व्यापारी र ठूलाठालुले पनि पत्याउनुपर्छ। मैले सिफारिस नगरेकी भए तिमी नै कहाँ जिल्ला सेक्रेटरी हुन्थ्यौ त !

पदबाट हटाइदा पनि दुखी नभएकी ईश्वरी आफ्नो कर्म र क्षमताले भन्दा पनि कसैको सिफारिसले आफू जिल्ला सेक्रेटरी भएको थाहा पाएर निराश हुन्छे।

रोल्पाकै परिवेशमा लेखिनु उपन्यासको बलियो पक्ष हो भने एउटा लडाकु वा युद्ध अनुभवीले लेखेझैं युद्धका दृश्य, शब्द र भाषाको प्रयोग, रोपाईंमै प्रहरीको आक्रमण र शहादत, साँझ घरैमा गफ गर्दैगर्दा महिलाहरूमाथि गोली प्रहार र जबरजस्ती करणी, सँगै कलेज पढेको प्रहरी साथीसँग कुरा गरेकै भरमा आफ्नै समर्थक शिक्षकमाथि सुराकीको आरोपमा हत्या, गरिबलाई ऋण दिएर घरजग्गा हडप्नेमाथिको कारबाही, बालबालिकाको प्रयोग र क्षतिमा समाजका विभिन्न पात्रहरूको यथार्थ चित्रण पर्याप्त छन्।

अझ माओवादी र सुरक्षाकर्मीबीचको लुकामारी जीवन्त लाग्छ। प्रहरीले माओवादी भेष धारण गरी झुक्याएर पक्राउ र हत्या गरेका दृश्यहरू, एकापसमा पासवर्ड आदानप्रदान गरेर मात्र आफ्नो इलाकामा छिर्न दिने, बालबालिका र विद्यालयको प्रयोग, त्यसबाट उत्पन्न क्षति, परिवर्तनको पक्षधर नै शंकाको घेरामा परेर मारिएको सत्यले वास्तविक विद्रोहको गतिविधिसँग मेल खाने देखिन्छ।

गीत–संगीतका लागि उसबेला रेडियो नेपाल एक मात्र विकल्प, त्यस समयको श्रोता प्रतिनिधि पनि हो- ईश्वरी। पढाइलेखाइ गर्दा समेत रेडियो नेपाल सुनिरहने समयको कथा जो अहिले पनि दुर्गममा त्यसको निरन्तरता हुनसक्छ, जीवन्त लाग्छ चित्रण।

नसमेटिएको पाटो

रोल्पाको पहिलो र प्रचारित घटना २०५८ सालमा होलेरी प्रहरी चौकीमा माओवादीको आक्रमण र ७१ जना प्रहरीको अपहरण, २०५६ मा जेल्बाङ दङ्गा प्रहरी र घर्ती गाउँ प्रहरीमा आक्रमण र २०५९ लिस्नेमा दिउँसै प्रहरीसँग भिडन्त जस्ता मुख्य घटना कतै उल्लेख छैन।

ज्यादती सुरक्षाकर्मीले मात्र गरेनन् माओवादीले पनि गरेका छन्। त्यो कतै उल्लेख भएन। संघर्षका बेला धेरै सताइएको वर्ग पत्रकार पनि हो। रेडियो नेपाल सुर्खेतमा कार्यरत धनबहादुर रोकायालाई माओवादीले अपहरण गरी मारेका थिए। मुख्य र उल्लेखनीय घटनाहरू नआउँदा त्यो वर्गले उपन्यासमाथि अपनत्व नलिन सक्छ।

रोल्पामा माओवादीबाट पीडा भोग्नेको कथा थिएन कि ? वा सबै जनता माओवादीका समर्थक मात्रै थिए ? सायद पाठकको मनमा यो प्रश्न उठ्न सक्छ।

जसरी सुरक्षाकर्मीबाट भएको यौनशोषण उल्लेख छ माओवादीभित्रको यौन विकृतिको चर्चा हुन्थ्यो उसबेला, त्यो पाटोमा अध्ययन नभएको वा नदेखाएको हो यो। माओवादीलाई अधिक लोकप्रिय बनाएको ‘भाटे कारबाही’ कतै उल्लेख नहुँदा अलिनो लाग्न सक्छ।

कथाको विविधतामा प्रेम

स्वभावमा चञ्चले नदेखिए पनि प्रेम गर्ने सवालमा निकै छिटी देखिन्छे ईश्वरी बुढा मगर। बाल्यावस्थामा सँगै स्कुल पढेको कुमार ओलीसँगको प्रेम अन्त्यसम्म तन्केर आइरहन्छ। जो अन्य प्रेम कथामा जस्तो खुलस्त भने देखिंदैन। कमरेड बतास र प्रशिक्षक कमरेड पासाङसँग पनि तुरुन्तै लोभिएको देखिन्छे। तर दुवै प्रेमीले शहादत प्राप्त गरेपछि सकिन्छ।

सच्याउन सकिने सन्दर्भहरू

निदाउनु छ घना जंगलमा

उठ्नेछ नयाँ बिहानी लिएर

बदल्नको लागि समाज व्यवस्था

जानुछ माटोलाई केही दिएर

मुक्तक भनेर लेखिएको यी ४ लाइन मुक्तक संरचनामा छैन। लेखकले ख्याल नगरे पनि सम्पादकले सच्याउन सक्थे।

त्यसबेलाका त्यहाँका बालबालिकाले सायद ‘रुकस्याक’ थाहा पाएका थिएनन्। पछाडि भिर्ने झोला भन्थे होला, हामी त्यसै भन्थ्यौं।

‘पेन्सन मात्रै पाकेको भए जिल्लै छोडेर हिंड्थें। छोरो जीवनलाई पढाएर आफूभन्दा माथिल्लो तहको शिक्षक बनाउनुछ, छोरी ईश्वरीलाई नर्स बनाउनु छ, के गर्ने होला अझै ३ वर्ष बाँकी छ पेन्सन पाक्न।’ प्रहरीले दुःख दिन थालेपछि श्रीमतीसँग चिन्ता गरेका धनबहादुर बुढामगर केही समयपछि नै मारिन्छन्। तर आमाको नाममा पेन्सन आएको सन्दर्भ त्रुटिवश समावेश भए जस्तो लाग्छ।

उपन्यासमा ६२ वटा शीर्षक छन्। अघिल्ला सन्दर्भका कारण अब के हुन्छ भन्ने कुरा कतिपय शीर्षक हेर्दै अनुमान गर्न सकिन्छ। कुनै कौतूहल हुँदैन। र केही पृष्ठहरू नभए पनि हुनेजस्तो लाग्न सक्छ।

‘हिंडेर आएको बाटो’ शीर्षकमा उपन्यासको सार लेखिएको जस्तो लाग्छ।

४४ प्रतिशत मगरको बाहुल्य रहेको समाजको कथा लेखिंदा तिनको खानपान, जीवनशैली, संस्कृति, संस्कारजन्य मुख्य कुरा आइदिएको भए हुनेथियो भन्ने लाग्नु नकारात्मक होइन।

झनै कारुणिक कथा

रेडियोले भिडन्तको समाचार नभनेको रात मस्तले निदाएकी मनमती आमाको कथा। त्यसबेलाका माओवादी, सैनिक र प्रहरीका आमा, श्रीमती र सन्तानहरूको प्रतिनिधि कथा, धनबहादुर बुढामगर भीरबाट गोरु लडाएर माओवादीलाई खान दिएको आरोपमा मारिन्छन्। परीक्षा दिन हिंडेको उसको छोरो जीवनलाई प्रहरीले दुःख दिन थालेपछि बाबुको न्याय र प्रहरीसँग बदला लिन हतियार बोक्छ र भिडन्तमा मारिन्छ। त्यो खबर उसकी आमा मनमती र बहिनी ईश्वरीले पाउँछन्। तर शोकको घाउ नसेलाउँदै जीवनको चिठी आउँछ।

चिठीमा जीवनकै अक्षर छ। ईश्वरी उत्साहका साथ चिठी पढ्न थाल्छे। आशा, खुशी र कौतूहल बोकेर कान ठाडो पार्छिन् आमा।

‘मलाई सन्चै छ मेरो चिन्ता नगर्नु, म चाँडै घर आउनेछु’ भनेर लेखिएको छ। उनीहरूको एउटै विश्वास छ जीवन मरेको खबर झुटो रहेछ। अब ऊ आउनेछ। खुशीले पुलकित भएकी ईश्वरीका आँसुका धमिला आँखाले जब चिठी लेखेको मिति उसको मृत्यु अघिको हो भन्ने देख्छन् अनि के हुन्छ ? अनुमान गरौं त।

पाठकको आशा विपरीत

माओवादी ज्यादती खेप्न नसकेर रोल्पाबाट कपिलवस्तु सरेका हुन् कुमार ओलीको परिवार। बारम्बार ईश्वरीलाई पत्र पठाइरहने कुमारले युद्ध मैदानमा समेत स्कुले साथीको जीवन बक्सिस दिएर ऊप्रतिको गहिरो प्रेम प्रस्तुत गरेको छ। त्यही कुमार शान्ति प्रक्रिया सुरु भएपछि अचानक बैसाखीको सहारामा भेटिन्छ।

ईश्वरीले नमान्दा नमान्दै पनि आफ्नो घर लिएर जान्छ र मेरी साथी भनेर बाआमालाई चिनाउँछ। आमाले ईश्वरीसँग पीडा पोख्छिन्- नानी मेरो छोरो अपाङ्ग भयो, अब यसको बिहे पनि हुँदैन होला, बुहारी र नाति नातिना हेर्ने रहर पूरा नहुने भयो।

ईश्वरीले कुमारसँग बिहे गरेर बाल्यकालदेखिको प्रेम सार्थक बनाई कथामा संयोगान्त सौन्दर्य थपेको भए कति राम्रो हुन्थ्यो ?

निराशाको उकालो यात्रा

गोधूलि गीत माओवादी सशस्त्र संघर्षमा रोल्पाको जीवन, समर्थन, सहभागिता, अपेक्षा, भरोशा र त्यसबाट सिर्जित असरहरूको एउटा स्पष्ट चित्र हो।

माओवादी युद्धको उद्गम, जहाँ १९०० जनाले शहादत प्राप्त गरे। नन्दकिशोर पुन, ओनसरी घर्ती, कृष्णबहादुर महरा र वर्षमान पुन जस्ता नेता जन्माएको रोल्पाभूमि, त्यहीं र तिनैको कथामा लेखिएको राजनीतिक उपन्यास ‘गोधूलि गीत’।

यत्रो इतिहास र यत्रा नेता निर्माण गर्न सफल एक नायकमा निराशा संचार हुन थाल्छ जब ईश्वरी काठमाडौं आउँछे र देख्छे आफ्ना नेताहरूको सवारी। जतिसुकै विकटमा पनि पैदल हिंड्थे, जहाँ जे भेटे पनि खान्थे, बाध्य नभई घोडा चढ्दैनथे।

नेता कमरेडहरूको परिवर्तन सोच्दैगर्दा अचानक भेटिएको कमररेड असिमले झन् निराशा थप्छ ‘यिनीहरू पनि काङ्ग्रेस एमाले बन्नेछन् एकदिन।’

देशमै गर्छु, देशमै मर्छु भनेर युद्धमा होमिएका कसैका छोराछोरी अपाङ्ग, कसैका बाआमा, कसैको घर रित्तो कि बाबुआमा बेसहारा, कोही घाइते ज्यान बोकेर त कोही शरीरमा छर्रा बोकेर विदेश पलायन भइरहेका छन्। कमरेड असिम पनि दमकबाट बीए सकेर अष्ट्रेलियातिर लाग्छ।

उपन्यासको स्पष्ट सन्देश

दशवर्षे युद्ध व्यवस्थापन भइसकेपछिको १६ वर्षपछि गोधूलि गीत लेखिनु माओवादीलाई उनीहरूको विगत सम्झाएको त हो नै एउटा धारिलो व्यङ्ग्य र लोप्पा पनि हो। र रास्वपाहरूलाई खबरदारीको चोर औंलो समेत हो भनेर बुझ्न यिनको सन्दर्भ उल्लेख भइरहनुपर्दैन।

जसरी माओवादीले मान्छेको मनमा विद्रोहको बीउ रोपेर आँसु र रगतबाट माटो भिजायो ठिक यस्तै तर आँसु र रगतको क्षति नगरिकन नै रास्वपाले छरेको आशाको शीतलताले जनताको छाती भिजाएको छ।

जसरी कमरेड असिमले माओवादी पनि काङ्ग्रेस एमाले बन्नेछन् भनेर चिन्ता व्यक्त गर्छ, त्यसरी नै हरेक मान्छेको प्रार्थना छ ‘रास्वपा पुराना दल जस्तो नबनोस्।’ भोलिको रास्वपा आजको माओवादी बन्ने डरको घण्टी जनमनमा बजिरहेको छ।

दश वर्षको रगत र पसिनाबाट २०६४ मा माओवादीले जुन मत पायो र गुमायो पनि त्यसलाई फिर्ता ल्याउन सकेन वा फिर्ता पाउने चरित्र निर्माण गरेन। सायद सक्दैन पनि।

तत्कालीन तीन वटा राजनीतिक शक्तिहरूको भ्रूणबाट माओवादी संघर्षको जन्म भए जसरी नै माओवादीकै भ्रूणको सकारात्मक ऊर्जाबाट क्रमशः बालेन, हर्क र रविहरूको जन्म भएको हो। र नकारात्मक मोटिभेशनको त्यही भ्रूणबाट प्रेम आचार्यहरूको आत्मदाह जन्मियो र निरन्तर जन्मिरहेको छ।

६ महिनामै रास्वपाले २०६४ को माओवादी स्तरको जुन विश्वासको सौभाग्य पायो उसले पनि त्यो भरोशालाई बचाउन र बढाउन सकेन भने प्रेम आचार्यहरूको दुर्भाग्य शृङ्खला रोकिने छैन नै आशाको शीतलताले भिजेको जनताको छाती चर्चरी चिरिनेछ।

हिजो माओवादीबाट जो डराउँथे आज तिनैबाट डराएर हिंड्नुपरेको छ वा शिर ठाडो छैन लडाकुको। हेपिएका र अपमानित भएका छन्। बुर्जुवा शिक्षा ठानेर पढाइ छाडी युद्धमा होमिएका कमरेड असिमहरू विदेश हान्निएका छन्। अवसर दिने ठाउँमा पार्टीले पढेलेखेका कमरेडहरू छान्न थालेपछि ईश्वरी बुढा मगरहरू ३० वर्षको उमेरमा फेरि स्कुल धाउन र नर्स बनेर बाबुको सपना पूरा गर्ने सपना देख्न थालेका छन्।

दल खुम्चेर मरीचजत्रो भएको छ तर दोष टण्टलापुर घामलाई दिइरहेको छ र निरन्तर चाउरिंदो यात्रामा छ।

कहिल्यै राजनीति नगरेका युवा हुत्तिएर राजनीतिमा आएका छन्। २०७९ सम्म द्विविधामा रहेका अरु दलका निराश मान्छेहरू २०८० को वैशाखदेखि रास्वपा विद्रोहमा मिसिन थालेका छन्।

जसरी आजकाल जनयुद्ध दिवसका दिन रोल्पा सुनसान हुन्छ त्यसैगरी आगामी दिनका असार ७ गतेहरूमा घण्टीको रालो खुस्कियो भने के हुन्छ ?

त्यसैले उपन्यास गोधूलि गीत राजनीतिक दलको नाकैमा लगेर देखाएको ऐना हो र घण्टीधारीहरूलाई आफ्नै कानमा घण्टी बजाइरहन चेतावनी पनि।

Monday, January 30, 2023

फेरि भेटिइनन् दिदी

 

फेरि भेटिइनन् दिदी

शम्भु सुस्केरा

नमस्कार दिदी !

म हात जोड्दै उनको नजिक गएँ ।

उनको अनुहारमा कुनै प्रतिक्रिया थिएन । न त नमस्कार नै फर्काइन् । मैले एकछिन उनको अनुहारमा हेरेँ । र उनको घरतिर आँखा डुलाएँ । घर के भन्नु भत्किनै लागेको झुप्रो थियो । छानोबाट भाटा झर्नैलागेका, पुराना खिया लागेका जस्ता मुस्किलले अडिएका थिए छानामा ।

उनको छेउमा एउटी किशोरी पनि थिइन् । मैले दुबै अनुहारतिर हेरेँ । नमस्कारको प्रतिक्रिया कसैबाट नआएपछि विस्तारै मैले मेरा हात तल झारेँ ।

को हो तिमरु ? किन आका ? फुङ्ङ उँडेको उनको अनुहार, रुखोजस्तो तर थकित आवाजमा प्रश्न गरिन् केहीबेर हेरेर ।

उनको प्रस्तुतिले म अलिक हच्केजस्तो भएँ । सायद पहिलोपटक राजनीति र चुनावी अनुभव गर्दै भएर पनि होला असहज जस्तो लागेको । तैपनि सहज मानेर बोले -म फलाना..., फलानो पार्टीको उम्मेद्वार भोट माग्न आएको, चुनाव चिन्ह फलानो ।

एकछिन केही बोलिनन् । 

तीस सेकेण्डको आफ्नै मौनता चिर्दै बोलिन् मेरो उपचार गर्न सक्छौ ?

के को उपचार ? मेले सोधेँ । उनी खोक्न थालिन् । उनको छेउकी केटी झुप्रो भित्र छिरिन् ।

के हुनु निको नहुने रोग लाग्यो रे । बाँच्दिनस् भनेका छन् । उनले जवाफ दिइन् ।

निको नहुने क्यान्सर रोग लागेको छ । बाँच्दिनस् भनेका छन् ।

मरिन्छ भन्ने पनि थाहा छ तर सहज छ उनको जवाफ । सायद आँसु सकिए होला, पीडा जीवितै छ अनुहार र आवाजमा ।

भित्रबाट किशोरी स्टिलको गिलासमा पानी बोकेर आइन्  र तिनलाई दिइन् उनले घटघटी पिइन् ।

मेरो टिमका एकजना साथी पनि आइपुगे र भने भयो हिँड जाऔँ । उनले खास कुरा सुन्न पाएका थिएनन् । तपाईहरु जाँदैगर्नुस्  म आउँछु भनेँ । र म केहीबेर त्यहीँ रहेँ ।

भोट माग्न हिँडेको यतिलामो गफिएर हुन्छ ?  फतफताउँदै हिँडे तिनी ।

को हुन् यी नानी ? मैले किशोरीतिर हेर्दै सोधेँ ती दिदीलाई ।

 छोरी हो । ठूली छोरी ।

अरु ?

एउटीको विहे भयो । छोरो एउटा छ ५ मा पढ्छ ।

श्रीमान् ? मैले सोधेँ ।

१० वर्ष भयो विदेश गएको फर्केर आएन । जिउँदो छ की मरेको थाहा छैन ।

म केही बेर चुप लागेँ सायद बोल्ने कुरा केही थिएन । भोट माग्न आएको कुरा पनि बिर्सेजस्तो भयो ।

उनैले थपिन्-धेरैलाई भोट दिइयो केही लछारेनन् । अब त के का लागि दिनु र भोट ?

जसले मेरो उपचार गर्छ उसैलाई दिन्छु ।

उनको अनुहारमा हेरिरहने आँट आएन । के भन्नु के नभन्नु । केही नबोली निस्केर जानु ? म पो समाधानबिहिन भएँ ।

ठ्याक्कै कुरा आयो मनमा । तपाई र मजस्ता सामान्य मान्छेलाई आज कुनै ठूलै रोग लाग्यो भने यी यस्तै हुन्छ । आफूसँग सम्पति हुँदैन, सरकारले उपचार गर्दैन । अब तपाई हाम्रा सन्ततिको यस्तो हालत नहोस् भन्नका लागि पनि हामीजस्ता स्वतन्त्र र नयाँ राजनीतिक शक्तिलाई भोट हाल्नुपर्ने भो दिदी !

मैले नजानिँदो गरी मेरो चुनावी स्वास्थ्य योजना सुनाएँ ।

धेरै भयो यस्तै सुन्दै आकी । उस्तै निराशाको जवाफ पोखिन् ।

र मलाई उपेक्षा गर्दै उठेर भित्र छिरिन् । एकछिन उभिएँ र म पनि गएँ ।

यही र यस्तै अवस्थाका नेपालीका लागि त राजनीति रोजेँ मैले । थाहा छैन राजनीतिले मलाई रोज्छ की रोज्दैन । मतदाताले मलाई चुन्छन् की चुन्दैनन् । मैले यी र यस्ता नेपालीका लागि उपायको कानुन बनाउने अवसर पाउँछु की पाउँदिन ?

मनभरि कुरा खेलाउँदै अगाडि बढेँ । अर्को घरमा छिर्न पनि मन लागेन ।

अलिक जोशिलो हुनुस् न यार । उम्मेद्वारजस्तो देखिनु । चर्किँदै एकजना आए साथी ।

रीस पनि उठ्यो साथीको कुरा सुनेर । समवेदनाविहिन मान्छे । मनले यसो भन्यो मुख बोलेन् । घरघर हात जोड्दै कृतिम मुस्कुराउँदै उनीहरुको पछि लागेँ ।

जता गए पनि दिल खुश पारेर भन्थे मान्छेहरू यसपाली त पुरानालाई भोट नदिने । तँलाई नै दिने । तिनै दिदीलाई सम्झिन्थेँ । जितौँ त दिदी तिमी र तिमीजस्ता आममान्छेकै लागि गरिछाड्छु । जसअपजस तिम्रै कर्म ।

मंशिर ४ गते पनि आयो ।

बेलैमा आफ्नो मतदान केन्द्रबाट भोट दिएँ । सकेसम्म सबै मतदान केन्द्र पुग्ने योजना छ । ३ जनाको टिम बोकेर अगि बढेँ म । काठको पुल भत्केको सडकछेको एउटा मतदान केन्द्र पुगेपछि झसङ्ग तिनै दिदी यादमा आइन् । उनकै घर पर्तिरको केन्द्र थियो त्यो ।

चालक भाइले गाडि रोके । म मतदान केन्द्रभित्र छिरेँ । महिलाको लाइनमा उनलाई निकैबेर खोजे मेरा आँखाहरुले ।

मनमा लाग्दैथियो- लाखौँ रकम उपचार खर्च कुन उम्मेद्वारले देलान् ।

टोलटोलमा लाखौँ रकम बाँडे रे । कानमा कुरो आयो ।

व्यक्तिपिच्छे रसपानका लागि रकम बाँड्नु भन्दा बरु तिनै दिदीलाई एकमुष्ट दिएका भए पुञ्य हुन्थ्यो ।

भोट किनेर जित्नु वा हार्नु दुबै अपराध ।

दिदी मतदान केन्द्रमा देखिइनन् । उनको घरतिर गाडि मोड्यौँ ।

आफ्ना सन्तानले आफूलेजस्तो जिउँदै मर्नु नपरोस् भन्ने कुन आमाबाले सोच्दैन र ? मेरा कुराले हामीप्रति केही आश त गरिन् तिनले । पक्कै भोट मलाई नै दिइन् । अरुप्रति त उनको आश मरिसकेको थियो ।

यस्तो सोच्दैगर्दा उनको घर अगाडि पुग्यौँ ।

गाडि रोकियो । म उत्रिएँ र उनको झुप्रोनेर गएँ । कोही थिएन घरमा । ढोका खुल्लै थियो । यसो भित्र चिहाएर हेरेँ । कोही देखीएन । घरमा ताला नलगाई कता गइन् । टाढा त पक्कै गएकी छैनन् ।

अलि पर्तिर रहेको अर्को झुप्रोमा गएँ त्यहाँको ढोकामा ताला लगाएको थियो ।

दिदीको घरको ढोकामा ताला पनि थिएन । बालबच्चा पनि कोही थिएनन् । किन यस्तो ?

मनमा प्रश्न बोकेर फर्केँ र गाडि चढेँ । गाडि अगाडि बढ्यो । मनभरि अनेक कुरा खेलिरहे । किन देखिन तिनलाई मतदान केन्द्रमा ? किन थिइनन् घरमा ? तिनका बालबच्चा कता गए । सोध्ने मान्छे पनि कोही थिएन ।

भोलि स्कुटर चढेर फेरि आउनेछु । मनमनै आफैसँग बाचा गरेँ ।