Tuesday, May 25, 2021

https://rojgarmanch.com/opinion/2021/05/24946/आइजिपी साब, बिरालो कि बाघ ?

 

अनुभूति : आइजिपी साब, बिरालो कि बाघ ?

जेट ६ गते बिहान फेसबुक खोल्नासाथ देखिएको दृष्यले साँच्चै बिचलित बनायो । दिनमा २ सय भन्दा बढि मानिसको मृत्यु भएको समाचारले जति पीडा दिइरहेको थियो त्यो भन्दा बढी पीडा एकजना प्रियजनको मृत्युले दियो ।

ज्ञात भयो आफन्त वा आफुलाई माया गर्ने मान्छेको मृत्यु कति भयानक हुन्छ । त्यो पनि आफ्नै उमेरको मित्रको मृत्युले अझै कठोर बनेर सताउँदोरहेछ ।

डिएसपी राजकुमार केसीभन्दा अगाडि पनि थुप्रै प्रहरीको ज्यान गइसकेको थियो । हरेक दिन हरेकप्रकारका मानिसहरुको छेउ गइरहनुपर्ने प्रहरीहरू धन्न जोगिएका छन् । यस्तै सहानुभूति र शोक एकसाथ व्यक्त हुन्थ्यो । तर आज झनै बढि निराश भएँ । ०५९ सालदेखिको चिनजान, एकेडेमीमा सँगै तालिम र डिउटी, अनि फेरि निरन्तर सुमधुर सम्बन्ध । सायद यही थियो धेरै चोट महसुश हुनुपर्ने कारण ।

महामारीको अवस्थामा यस्ता दुःखहरु जसलाई जतिबेला पनि पर्नसक्छ । धेरै चिन्ता लिएर पनि हुन्न । यसरी सकारात्मक हुन खोज्दै गर्दा एउटा नकारात्मक सुचना आइलाग्यो । डिएसपी केसीलाई अस्पतालमा भर्ना हुनै सकस भयो रे । चारतिर गुहार्दा पनि बिहान ७ बजे आएको मान्छे राति ११ बजे मात्र बेड मिल्यो रे ।

शोक अब शंका र आक्रोसमा बदलियो । यसअघि मृत्यु भएका प्रहरीहरूले समयमा उपचार त पाएका थिए ? काठमाडौँमा कार्यरत त्यो तहको मान्छेले समयमा भर्ना नपाएर उनका हाकिमले अस्पतालका निर्देशकसँग झगडा गर्नुपर्छ भने झगडा गर्न नसक्नेको के हालत होला ?

प्रहरी अस्पताल कसका लागि ? गम्भीर प्रश्न पनि जन्मियो ।

उनको निधनमा सलामी दिन जसरी जति पुगे तिनको प्रयत्न हरेक प्रहरीको उपचारमा भइदिए ?

म प्रहरी अस्पताल र त्यहाँबाट पाएको सुविधाप्रति सकारात्मक मात्रै होइन अनुगृहित पनि छु । आफू प्रहरी भएकै कारण मेरी आमा, मेरी श्रीमती र छोराका लागि लाखौँको उपचार भएको छ । यो चानचुन सुविधा होइन ।

डिएसपी राजकुमार केसीले अस्पतालमा भर्ना पाएपछि उहाँको उपचारमा कमी आयो भन्ने एकरति पनि सोच्दिन । मलाई पुरा भरोसा छ त्यहाँका डाक्टर र नर्सप्रति । तर कुरा भर्ना हुनै कठिन भयो भन्ने मै जाऔँ ।

समय लाग्न सक्छ । यस्तो महामारीको अवस्थामा विरामीको चाप धेरै हुन्छ, उपचाररत बिरामीलाई निकालेर अर्कोलाई राख्ने कुरा पनि आएन । तर समयको आँकनल गरेर व्यवस्थापन किन गरिएन ।

हरसम्भव व्यवस्थापन गरेर पनि अस्पतालले नै धान्न नसक्ने गरी प्रहरी र तिनका परिवार संक्रमित भएका छन् ? त्यसो हो भने पनि अस्पतालमा स्वास्थ्यकर्मी र स्पेसको कमी छैन । अस्थायी व्यवस्था गरेर पनि उपचार गर्न सकिन्छ । यो अनुभव टेकु अस्पतालको हो । ग्यारेजमा समेत अक्सिजनको व्यवस्था गरेर उपचार गरेको थाहा पाइयो । इच्छाशक्ति छ भने अरूबाट सिक्न सकिन्छ नि ।

सानातिना मान्छेले आँखा लगाउँदा पनि बात लाग्ने भिआइपी वार्ड कसका लागि हुन् ? महामारीले भिआइपी र ननभिआइपी छुटयाएको छैन । बरू भिआइपी नै बढी सुरक्षित छन् । जिम्मेवारी र जोखिमको हिसाबले । यस घडिको उपचारमा तहगत विभेद हुनुहुन्न ।

आफु सुरक्षित रहेकोमा तपाई प्रहरी महानिरीक्षक र अस्पतालका निर्देशक जति ढुक्क हुनुहुन्छ त्यतिनै ढुक्क आम प्रहरी, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी पनि हुनुपर्छ । संक्रमण भइहाले तपाईहरुले जुन स्तरको उपचार र सेवा पाउनुहुन्छ त्यो स्तरको उपचार पाउँछु भन्ने आत्मविश्वास तपाईहरुका सबै कर्मचारीमा हुनुपर्छ ।

त्यो छ ? छैन भने किन छैन ? तपाईहरुका स्वास्थ्यकर्मी र आम प्रहरी तपाईहरुभन्दा कयौँ गुना बढि जोखिममा छन् । उनीहरुलाई समयमा र गुणस्तरको उपचार पाउछु भन्ने आत्मविश्वास भएन भने त्यो भन्दा घातक के हुन्छ देशका लागि । यो घडिमा जुध्न सकिन्छ ? यसले नागरिकको पनि मनोबल घटाउँछ ।

उनीहरूले एउटा मास्क पनि आफैँ किनेर लगाउनुपर्ने, स्वास्थ्य सुरक्षाको भरपर्दो सामग्री किन नपाउने ?

तपाई चढ्ने गाडि र तपाई बस्ने सुरक्षित भवन के के लागि ? तपाईहरूलाई सुरक्षित र कम जोखिमस्थानमा राखिएको आफ्ना कर्मचारीको ख्याल गर्नु सक्नुहोस् भनेर हो ।
हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको हुनसक्छ । तर डिएसपी राजकुमार केसी र अरू प्रहरीको निधनले आम प्रहरीमा के सन्देश गएको छ । जो सडकमा छन् । जसले परिवारलाई बिचल्ली मै छाडेर रातदिन खटेका छन् तिनको मनोबलको अवस्था कस्तो होला ।

अझ राजधानी बाहिरका प्रहरी के सोच्दै होलान् ? काठमाडौँमा आफ्नै अस्पताल भएको ठाउँमा, आइजीपीकै आँखाअगाडि डिएसपीको जिवन बच्दैन भने हामी कसरी सुरक्षित हुन्छौँ ? अनि तिनका परिवार र आफन्तले के सोच्दै होलान् ।

के यो मनोविज्ञान द्वन्द्वकालको जस्तै भयानक होइन ?

प्रहरी अस्पताल आम प्रहरी कर्मचारी, अवकासप्राप्त प्रहरी र तिनका परिवारको आफ्नो अस्पताल हो । होइन भने एकछिन आँखा चिम्म गरेर अस्पताल निर्माता स्व. प्रहरी महानिरीक डिबी लामालाई सोधौँ ।

समयमा भर्ना नपाउने त कल्पना नगरौँ सुचना पाएपछि घरैमा एम्बुलेन्स गएर बिरामी ल्याएर उपचार गरिनुपर्छ । यही उत्तर आउला ।

होइन प्रहरी अस्पताल नेता र नेताका मान्छेका लागि बनाएको थिएँ भनेछन् भने स्वीकार गरौँला । हामी अस्पताल नजाउँला ।

संकटकै वेला हो अभिभावकको भूमिका देखिनुपर्ने । अहिले त सारा ध्यान प्रहरीको स्वास्थ्य सुरक्षामा जानुपर्ने हो । प्रहरी सुरक्षित नभइ नागरिक सुरक्षित हुन्छन् ? जसरी फिल्डमा खटेर प्रहरीले नागिककको सुरक्षा गरेको छ । अस्पतालले प्रहरीको उपचार गर्नु अप्रत्यक्षरुपमा नागरिककै सेवा गर्नु हो ।

प्रहरी अस्पतालले सर्वसाधारणको उपचार थालेपछि प्रहरीहरू वेवास्तामा परेको आरोप दुईवर्ष अघि नै लागेको हो । तथ्य के हो ? सर्वसाधारणको उपचार गर्नका लागि हो की ठूलाहरुका आफन्त, साथीभाइ र चाकडी गर्नुपर्नेहरुलाई आफ्नो बनाउन यसो गरिएको हो । यसको जवाफ सडकका प्रहरी र उसका निरिह परिवारलाई चाहिन्छ ।

नागरिकको मन जित्ने पनि यहीवेला हो प्रहरीले । स्रोत, साधन र क्षमता बढाएर नागरिकको उपचार गर्नसक्नुपर्छ । बन्दै गरेको नयाँ भवनमा अस्थाइ उपचार गर्न सकिन्छ । भूकम्पका वेला झैँ आँगनमै राखेर उपचार गर्न सकिन्छ ।

त्यसका लागि सरकारसँग टेबल ठोकेर लिन सक्नुपर्छ स्रोत साधन । जनताका लागि काम गर्न कसैले रोक्छ भने बोले हुन्छ । यसबेला नबोले कहिले बोल्ने ? तर सस्तो लोकप्रियताका लागि आफू सक्षम नभइ अरुलाई सेवा गर्न खोज्नु सेवा नभइ धोका हुन्छ ।

अस्पतालका निर्देशकज्यू ! यस घडिमा सामान्य अवस्थाको मिहिनेतले मात्र पुग्छ ? सिनियरलाई पछि पारेर जिम्मेवारी सम्हालेपछि काम पनि अरुलाई पछि पार्नेखालको हुनुपर्छ । आसेपासे, आफन्तलाई काखी च्यापेको आरोप चिर्नेवेला हो यो ?

तपाईको क्षमता र मिहिनेतले प्रहरी र नागरिकको जीवन त बच्छ नै आम नेपाली महिलाको प्रतिष्ठा पनि माथी लैजान सक्नुहुन्छ । एउटी नारीले चाहँदा गर्नसक्छे भन्ने देखाउन तपाईबाहेक अरु कसैले तपाईलाई रोक्न सक्दैन । क्षमता प्रदर्शन गर्नेबेला यही हो ।

संगठन प्रमुखले देशभरको सुरक्षाको भार थाम्नुपर्छ । तपाई संगठनको दोस्रो हैसियतमा हुनुहुन्छ । तपाईलाई त्यत्रो भार केही छैन केबल प्रहरी र तिनका परिवारलाई उपचारको प्रत्याभुति दिनुस् । मलाई र मेरो परिवारलाई केही भइहाले डा. आशासिंह हुनुहुन्छ भन्ने भरोसा दिलाउनुहोला । अस्पतालका कर्मचारीलाई कसरी मोटिभेट गर्ने तपाईको काम हो । सरकार वा संगठनबाट कसरी साधनस्रोत ल्याउने तपाईको क्षमता हो । चिकित्सक र नर्सले स्वास्थ्य सुरक्षाका सामाग्री पाएनन् भने काम गर्न सक्दैनन् त्यो तपाईले सोच्ने हो ।

खेल्नुस् न सरकारसँग सिँगौरी । यसबेला पनि नखेले कहिले खेल्नुहुन्छ ? कसैको ज्यान बचाउन सिँगौरी खेल्ने अवसर तपाइको हातमा छ । चाहेर पनि यो अवसर अरुले पाएनन् ।

प्रहरी महानिरिक्षकज्यू ! असीम सम्मान छ तपाईप्रति । आर्थिक अनुशासनमा नेपाल प्रहरीमा होइन नेपालमै अर्को व्यक्ति होला नहोला । तपाईबाट यो अनुशासन र त्याग सबैले सिक्नुपर्छ । आचरण र क्षमता एकै नभए पनि आचरणले क्षमता बढाउनु पर्ने हो । तर आचरणका भरमा मात्र यो समयमा त्यो कुर्सी सोभा दिँदैन ।

असार ५ गते ९३ वर्षको उमेरमा महाप्रस्थान गर्नुभएका आइजीपी खड्गजित बरालप्रति आम सिपाहीहरुको किन त्यतिबिधी श्रद्धा भयो । समकालीन पूर्व आइजिपी नचिन्नेले पनि बराललाई चिनिरहे । बाँच्दा र मर्दा पनि किन सम्मानित भइरहे मलाईभन्दा बढि यहाँलाई थाहा छ ।

हरेक प्रहरीलाई थाहा छ यहाँको बिनम्र स्वाभावले संगठनको बिकृति हटाउन सक्दैन । तर यस घडिमा एउटा भरोसिलो अभिभावकको भुमिका निर्वाह गर्नसक्नुहुन्छ । किनभने यहाँले हरेक भाषणमा भन्नुहुन्छ मेरी पनि एउटी छोरी छिन् । म अभिभावक पनि हुँ । त्यसैले असल अभिभावक हुन आउँछ यहालाई, भइदिनुस् ।

तपाई भरखरै आइजिपी भएकोवेलाको कुरो हो । ट्राफिक एफएममा एकजना ट्याक्सी चालक आएका थिए । उनी पूर्व प्रहरी रहेछन् । मैले तपाइको खुब प्रसंशा गरेँ । उनले प्रतिक्रिया दिए धेरै नफुर्किनुहोला यिनले केही लछार्दैनन् ।

जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहँदा चुनाबमा आएको रकम बढी भएपछि शैलेस थापा क्षेत्रीले फिर्ता गर्नुभएछ । अरुले त कागज मिलाएर खान्छन् रे भनेर उनलाई सुनाएँ ।

आर्थिक अनुशासनको मन र तल्लो तहप्रति सकारात्मक हुने मन मुटु फरक हुनेरहेछ । उनमा त्यो मनमुटु छैन, उनी अनुदार छन् । यसरी तितो पोखे उनले ।
मैले उनको कुरामा आजसम्म पनि विश्वास गरेको छैन । त्यही अविश्वासले यति कुरा लेख्न प्रेरित गरेको छ ।

तपाईंले ०७७ असारबाट नेपाल प्रहरीको नेतृत्व लिनुभयो । सरकारले संक्रमणमा खटिने प्रहरीलाई भत्ता दिन्छु भन्यो । मेची कालीका सबै प्रहरी आफैँ सिंहदरबारमा सरकार भेट्न आउने कुरा भएन । तपाई नक्सालबाट सिँहदरबार पुगेर ल्याइदिन सक्नुभएन ।

यो कुराले ती ट्याक्सीचालक पूर्व प्रहरीको कुरालाई बल दिएको छ ।

वन छेउको खेतमा लगाएको बाली त पाक्यो तर बाँदरले खाइदिन्छ । परिवारका सदस्यसहित गएर बन्दुक पड्काएर बाँदर लखेटेर पनि बालबालिकाको भोक मेट्नुपर्ने दायित्व हुन्छ बावुको । बाँदरले मकै खाएछ, तिमीहरू खाजा नमाग, साँझ एकै चोटी आमाले भात दिन्छे भन्न त नमिल्ला नि ।

तर त्यो कुर्सीले त्यसो भनाउँदो रहेछ । हामीले यो पुगेन त्यो पुगेन भनेर माग्ने होइन । भनेर मुख बुझो लगाएको अनुभव छ लेखकसँग ।

निजामति कर्मचारीले प्रदेश समायोजनमा पाएको सुविधा नेपाल प्रहरीले पनि पाओस् भनेर कुरा गर्दा राज्यव्यवस्था समितिका ९० प्रतिशत सदस्य सहमत थिए । तर तत्कालीन आइजीपी त्यसको बाधक भएको कुरा चासो राख्ने सबै प्रहरीका कानले सुने आँखाले देखे ।

समयको जटिलतालाई देखाएर संगठनका लागि अरु केही नगर्ने छुट हुनसक्छ । तर प्रहरीका नाबालक सन्तान र तिनका यौवना श्रीमतीका आँसुले नपोलोस् । यसका लागि पनि आफ्ना कर्मचारीको उपचारमा कुनै कसर बाँकी नराख्नुहोला ।

यो जस्तो पुञ्यकर्म अरु हुनसक्दैन ।

तिनकै कारण तिनको परिवार संक्रमित भएका छन्, लामो समय प्रहरी सेवामा रगत पसिना बगाएर सेवा निवृत्तहरुलाई पनि नबिर्सिनुहोला ।

यसभन्दा बढि सक्नुहुन्छ भने बाँदर खेद्ने बन्दुक र बन्दुक बोक्ने लाठेहरु लिएर सिंहदरबार, बालुवाटार जानहोस् । ढुकुटीमा ढुँडि पर्न लागेको सम्पति छ त्यो लिएर आउनुहोस् र जनताको पनि उपचार गर्नुहोस् ।

एकजना हवल्दार साबको हातमा पत्र पठाएर त्यति गरिबक्सेला हजुर भनेर फोन गर्दैमा गर्दिबक्सिने कर्मचारीतन्त्र र सरकार छैन ।

छ भने कहाँ छ ? गर्ने र मर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई रुवाएर आफू घरभित्र बसी भत्ता खानमा मस्त होलान् । नपत्याए मन्त्रालयको खर्च हेर्नुहोस् । मलाई गलत साबित गर्नुहोस् ।

वर्दी केही अवस्थामा मात्रै सेवा हो । धेरै ठाउँमा फोर्स नै हो । वर्दी धारण गरेर बिरालो होइन बाघ बन्न सक्नुपर्छ । आइजिपी खड्गजित बरालको किस्सा सबैलाई थाहा छ । तत्कालीन गृहमन्त्रीले प्रहरी संगठनलाई वेवास्ता गर्दा आइजिपीले उनलाई कुन शब्दले गाली गरे ? आइजिपीले मलाई गाली गर्यो भनेर गृहमन्त्रीले राजा विरेन्द्रकहाँ उजुर गरे । राजाले दुबैलाई बोलाए र गृहमन्त्रीलाई नै गाली गरे ।

प्रहरीको वर्दी जति शक्तिशाली बन्छ त्यति नै अधिकार सम्पन्न र सुरक्षित बन्छन्, नागरिक र प्रहरी दुबै ।

सबैसँग सम्बन्ध बनाउन खोज्दा मुख्य जिम्मेवारी ओझेलमा पर्नसक्छ । गृहमन्त्री वा मन्त्रालयसँग सम्बन्ध बिग्रिएका प्रहरी महानिरीक्षकहरुलाई हेर्ने हो भने उहाँहरुले खराब काम गरेर होइन खराब काम गर्न रोकेका कारण हो । र जजसको सम्बन्ध राम्रो जस्तो देखियो राम्रो काम गरेर होइन प्रहरी संगठनलाई केही नगर्न वा बिगार्नमा सहयोग गरेर हो । संगठनलाई माया गर्ने सबैलाई थाहा छ ।

समयमा सही निर्णय गरेकाहरू नै सफल भएका छन् । अरुबाट सिक्नु बुद्दीमानी हुनेछ नत्र पश्चाताप मात्रै ।

अवकासपछि मैले के गरेँ पछि फर्केर हेर्दा असन्तुष्टी र पश्चातापमात्रै नदेखियोस् । जीवनभर जलाएर मार्छ त्यसले । त्यसपछि आफ्नो कर्मलाई दोहोर्याएर सच्याउने अवसर पनि त पाइदैन ।

त्यो कुर्सीमा नपुग्नेले मात्रै म भएको भए यसोउसो गर्थेँ भन्ने हो पुगेकाको त्यो भन्ने अवसर पनि गुमिसकेको हुन्छ ।

समय बाँकी छ श्रीमान् ! रोकिएका प्रमोशन र अरु धेरै काम गर्न नसकेपनि प्रहरीको स्वास्थ्य सुरक्षामा अर्जुन दृष्टि लगाउनुहोला । यति गर्दा पनि कसैको ज्यान गए उसका आफन्तका अगाडि आँखा जुदाएर बोल्न सक्नुहुनेछ । र आइजिपी बरालले जत्तिकै जीवन र निर्जिवन दुबैमा उस्तै श्रद्धा र आशिर्वाद पाउनुहुनेछ ।

जयनेपाल !

No comments:

Post a Comment