संस्मरण : सिपाही भाइलाई श्रद्दाञ्जली !
- पुस २५, २०७७
सतहत्तर साल पुष ८ गते बुधबार । दुस्खद खबरको बार भइदियो एकाएक ।
बिहानै आएको एउटा खबर स् वासु ढुंगानाको अमेरिकामा निधन भयो रे त । कन्काई नगरपालिका वडा नम्डर १ प्रजापतिमा उनको घर, अहिले गरमकालीमा छ एउटा घर जहाँ उनका भाइ गोपाल बस्छन् । अर्को घर लक्ष्मीपुरमा छ रे जहाँ उनकी आमा र श्रीमती बस्छन् ।
छिनमै अर्को खबर आयो – तल्तो गाउँको डाँगी जेठाकी बुहारीले आत्महत्या गरीन् रे ।
छोरो डिभि भिसा मार्फत अमेरिकामा बस्ने, बुहारी घरैमा सासुससुराको सेवा गरेर बसेकी थिइन् रे । सासु ससुराकी प्यारी नै थिइन् । उताबाट लोग्नेले कुनै पीडा दियो होला र त आत्महत्या गरी । कुरा अनेक चले ।
गए राति निलम राई पनि बित्यो रे । छिनमै आएको अर्को खबर ।
हे भगवान ! के भएको यस्तो ? मृत्युका खबरमात्र किन आइरहेका छन् पानीझैँ दर्केर । यो संयोग मात्रै हो कि सृङ्खलाको सुरुवात । मनमा भय उम्रियो एकाएक ।
मृत्यहरुमा चर्चा चल्न थाल्यो गरमकाली चौकमा । समुहको चर्चाबिच म एक्लो जस्तो भइरहेको छु, बिचारसून्य । निलम राईको मृत्यु, उसँगको मेरो बाल्यकाल र स्कुले जीवन उफ्रीउफ्री आइरह्यो मनमस्तिष्कमा ।
उसको घर मेरोभन्दा ५ मिनेट पश्चिम जामुनाबारीमा पर्थ्यो । सरस्वती प्रावि जामुनाबारीमा शिशु कक्षादेखि सँगै पढ्यौँ । कन्काई माविमा ९ कक्षासम्म सँगै पढ्यौँ ।
साह्रै कम मान्छेमा हुने खालको उटपट्याङ् स्वाभाव उसको । आफूले रमाइलो गर्दा अरूको मन दुख्छ भन्ने कुरा पटक्कै नभएको । तर मनचाहिँ नदीको पानीजस्तै सङ्लो, एकदमै बालापन ।
के भएर बितेछ यार । यादहरू भङ्ग गर्दै बिस्तारै फुसफुसाएँ म ।
खाइ बिमार हो दाइ खाइ बिमार । रामकृष्ण नेपालले प्रतिक्रिया दिए ।
अति नै पिउने । पिएरै रोगाएछ । भद्रपुर बस्ने उसलाई उसका दिदीबहिनीले घरैमा ल्याएर उपचार गरेपछि तङ्ग्रिएको थियो । गाउँघर, आफन्त सबैले रक्सी नखान र यतै आमा दिदीसँगै बस्न अनुरोध गरे । तर मानेन । सानो छोरो र श्रीमतीका साथ साउनमा भद्रपुर गइछाड्यो ।
फेरि सुरु भएछ पिउने क्रम । त्यसबेला लाख बिन्ति गर्दा नसुध्रिएको मान्छे मर्नुअघिल्लो दिन सुधार केन्द्र गएछ । मनमा के आयो कुन्नी जामुनाबारीमा दिदी र काठमाडौँमा भाइलाई फोन गरिवरी गएको रे । सानो छोरो, अल्लारे श्रीमती, यिनका लागि पनि सुध्रिनु पर्छ भन्ने लाग्यो होला सायद ।
उसको सुध्रिने कुरा सुनेर सबै खुशी भए । तर दुर्भाग्य उसको निर्णय नै ढिलो गरी आएछ, त्योभन्दा छिटो उसको मृत्यु आइसकेको रहेछ । सुधारकेन्द्र पुगेकै रात उसको हालत नाजुक भएछ । हतारमा अस्पताल पुर्याउँदा सास गइसकेको रहेछ ।
मित्रहरू देबी अधिकारी, छत्र बोहोरा, छत्र बस्नेत र दुर्गा भण्डारीहरू
बितेर गए अल्पायुमै । तर कसैको मलामी जान नजुरेको मलाई निलमकै मलामी जान
झापा आएको रहेछु ।
कन्काई घाटको पूर्वी किनाराको सबैभन्दा उत्तरको चितामा जलिरहेछ ऊ, उभन्दा तलतिर डाँगी दाइकी बुहारी ।
उमेरले मभन्दा केही महिना जेठो तर बिहे मभन्दा पछि गरेछ । उसको ५ वर्षे छोरो र युवा वयकी श्रीमतीको अनुहार, उसकी आमा, दिदी, बहिनी र भाइको रोदन सहीसक्नु थिएन हेर्नेका लागि।
अलेली याद छ उसलाई सबैले सिपाही भाइ भन्थे । उसका बा वन रक्षक थिए वर्दीधारी । त्यसैले होला सबैले उसलाई मायाले सिपाही भाइ भन्थे । तर ऊ ठूलो हुँदै गएपछि उसलाई जिस्क्याउने नाम बन्यो ।
९ कक्षासम्म पढ्दाको मिलन ऊ, धुलाबारी गएर रोशन बनेर पढेछ ।
त्यही सिपाही भाई, निलम र रोशन एकसाथ जलिरहेको साक्षी बसिरहेछु आज म । तैले त बाँचुन्जेल पनि खुब सताइस्, मरेपछि पनि आफू जलेर मेरो मन पनि जलाइस्, मेरा आँखाका डिल र मनको कुनो यस्तै बोल्दै थिए कसैले नसुन्ने गरी ।
उसँगका स्मृतिहरु चिताको आगो सरी फरफराइरहे मेरा सम्झनामा । कसैलाई दुखोस् की पोलोस्, ख्यालै नगरी बोल्ने, हाँसी दिने । चिनेको होस् वा अन्जान जो देख्यो भने पनि भनिदिने आम्मामा कत्रो ठूलो नाक, कस्तो कुरुप अनुहार । साथीभाइ होस् वा आफूभन्दा सिनियर कस्ती मोटी तेरी श्रीमती भनिदिने ।
आफ्ना कुराले रिसाए भने गलल हाँस्ने ऊ । सबैसँग समान किसिमले यस्तै व्यवहार गर्थ्यो ।
म पनि ६ कक्षादेखि सुरुङ्गा स्कुल पढ्न थालेँ । अरुका छोराछोरी साइकलमा गएको देखेर होला आमाको मन न हो मलाई पनि तीनसयमा एउटा थोत्रो साइकल किनिदिनु भयो आमाले । मर्मत गरेर चढ्न थालेँ ।
साइकलमा सानले स्कुल जान थालेको मलाई मेरै साथी घाँडो भइदियो ।
साइकलमै स्कुल जाने ऊ स्कुलबाट फर्किँदा मेरो पछिपछि हुन्थ्यो । परबाट तिब्र गतिमा ल्याएर ड्याम्म मेरो साइकलमा ठोक्काउँथ्यो उसको साइकल । ऊ अघि जाओस् भनेर म रोकिन्थेँ तर जाँदैनथ्यो । हाँसेर पर्खिरहन्थ्यो ।
एक दिन म हिँडेर आउँदैथिएँ, ऊ पनि मेरो पछिपछि हिँडेरै आउँदैरहेछ ।
सिमसिम पानी परिरहेको थियो । ओइ शम्भु तेरो गणित किताब ले त भन्यो । केही
नसोधी, केही नसोची दिएँ ।
ऊ मभन्दा अघि फटाफट हिँड्यो र मेरो किताब पल्टाएर उत्तानो पारेर टाउकोमा
ओढ्यो पो । उसको व्यवहारले एकछिन अलमल्ल परेँ र किताब थुत्न उसको पछि दौडेँ
। ऊ झन दौडियो । करिब आधा घण्टाको बाटो ऊ अघि म पछि दौडिरह्यौँ ।
आफुसँग भएका किताब पनि पानीबाट जोगाउनु थियो । उसलाई भेट्न सकिन । उसको घर नजिक चोकमा फुत्त किताब फालेर घरतिर लाग्यो । किताब टिपेर म उसको पछि लागेँ । आजचाहिँ भकुर्छु भन्ने नै छ रिस ।
ऊ घरभित्र पसेन टाँडे घरको वरिपरि दौडियो, म उसको पछिपछि । दुईचार चक्कर काटेर माथि चढ्यो र ढोका लगायो । म फर्किएँ ।
सुरूङ्गा गाविसको वडा नम्बर १ मेरो, उसको ३ । हरेक वर्षजसो जामुनाबारीको चौरमा वडा स्तरीय फुटबल खेल हुने गर्दथ्यो । प्रायस् फाइनल प्रतिष्पर्धा १ र ३ कै हुने गर्दथ्यो । वर्ष यकिन छैन, आयोजक समितिको तर्फबाट म सहसचिब थिएँ ।
वडा नम्बर १ र ३ को खेल चलिरहँदा विवाद भयो । १ नम्बरका खेलाडि जंग थापाले आफ्नै छिमेकी ३ नम्बरका खेलाडि साथीबाट कुटाइ खाए । समितिको तर्फबाट हामी सबै चौरमा गयौँ । विवाद मत्थर गरेर पुनस् खेल संचालन गर्नुथियो । हुलकोबिचमा थिएँ म । बोल्दैबोल्दै यसो आकासतिर के आँखा परेका थिए निलम त आफ्ना दुई हातलाई बन्चरोजस्तो बनाएर मेरो टाउकोमा प्रहार गर्न लागेको थियो ।
मैले देख्नासाथ हिहि गर्दै हाँसेर पछि हट्यो ।
अर्को अनुभव छ खेलकै । मेरो घर नजिक गरमकालीस्थित जंगलको किनारमा भएको सानो चौरमा बालबालिकाका लागि फुटवल र ठूलाहरुका लागि अन्य खेलहरु आयोजना गरेका थियौँ । हाल एपिएफ क्लबको खेलाडि रहेको उसको भाइ १३ वर्ष नाघेको कारण ३ नम्बर वडाको टिमबाट खेल्न पाएन । आफ्नो भाइले खेल्न नपाएका कारण रिसले जंगलको बाटो हुँदै मलाई काट्न खुकुरी बोकेर आएको रहेछ ।
गाउँका महिला केटाकेटीहरू खुब डराए । मलाई थाहा थियो उसले मलाई कहिल्यै प्रहार गर्दैन । गरेन पनि । मेरो छेउमै आएन । खेल पनि अवरोध गरेन ।
उसको स्वाभावजस्तै बिचित्रको सम्बन्ध थियो उसको र मेरो । ऊ भद्रपुरतिर लागेछ । म प्रहरी सेवामा आएँ । त्यसपछि भेटघाट हरायो ।
केही वर्षअघि एउटा नयाँ नम्बरबाट फोन आयो । मैले उठाएँ । ओइ ! पुलिस भएर मनपरी गरेको छस्, तँलाई ठिक पारौँ भन्यो ।
कोहो तपाई भनेर सोधेँ । म जोसुकै हुँ, तँ सुध्री भन्यो । तपाई अख्तियारको प्रमुख भए पनि यसरी प्रस्तुत हुन मिल्दैन । तपाईलाई कसले के सुचना दियो मलाई थाहा छैन । पहिले मलाई चिन्नुस्, आफूले पाएको सुचनाको सही विश्लेषण गर्नुस् अनि अनुसन्धान गर्न मन लागे गर्नुहोला । तर यस्तो असभ्य व्यवहार प्रस्तुत नगर्नुस् ।
मेरो कुरा सुनेर ऊ गलल हाँस्यो र भन्यो ओइ चिनिनस् म निलम राई । एकछिन त्यस्तै अन्टसन्ट कुराकानी भए । अरु साथी र दाइहरुलाई पनि यसै गरी थर्काउँदा त उनीहरु डराएका थिए । को हजुर, बसेर कुरा गरौँ सर भन्थे तँ त डराइनस् भन्यो ।
गल्ति गरेपो डराउनु । मैँले जवाफ दिएँ ।
त्यसपछि पनि एकदुई पटक नयाँ नम्बरबाटै फोन गर्यो । तर परिचय दिन्थ्यो पहिले ।
सम्बन्ध सौहार्द्र पनि भएन, सत्रुता पनि रहेन, मित्रता अनौठो रहिरह्यो । माया बसिरह्यो एकअर्कामा । व्यक्तिगत र पारिवारिक समस्या साझेदारी गर्ने निकट साथिहरूको मलामी जाने अवसर जुरेन ।
कस्तो संयोग निलम ! तेरो चिता जलेको हेरिरहेको छु । भिजेका आँखाले साक्षी बसिरहेको छु म । सायद तँ हाँसिरहेको होलास् हगि मलाई देखेर ।
तेरो स्वाभाव र साथित्वको फोटो मेरो मनमा सधैँ रहिरहनेछ । हार्दिक श्रद्दान्जली सिपाही भाइ, बैकुण्ठ बास होस्