किसानले दूधको भूक्तानी नपाउनुको रहस्य
शम्भु सुस्केरा
यो देश कस्को हो ? कोको बस्ने यहाँ ? के पेशा
गर्ने यहाँ बसेर ??? हरेक गाउँ, वस्ती र शहरबाट हरक्षण तिखो स्वरमा यो प्रश्न
झङ्कृत भइरहेको छ । तर सुन्ने कोही छैन ।
सायद हरेक दरवारहरुबाट मौन जवाफ यस्तो छः राजनीति
गर्ने, जसरी पनि चुनाव जित्ने, सरकारमा जाने अनि कर्मचारी र कार्यकर्ता पजनी
गर्ने, तिनैसँग मिलेर देश लुट्ने ।
दलसँग मिलेर दलकै सदस्य बनेर व्यावसाय गर्ने र
जनता लुट्ने हामी केही मान्छे र हाम्रा सन्तानको मात्र हो यो देश ।
यो जवाफले कोरलेको प्रश्नको भ्रुण यो पनि हो संसारकै
उच्च शिखरको देशलाई कतिन्जेल खाडीले पालिरहने ?
जवाफ स्पष्ट छ जतिन्जेल पिशाचको हातमा परिरहन्छ
यो देश ।
यो जवाफ यतिबेला दूध उत्पादक किसान र व्यावासायीको
पनि बनेको छ ।
खेती गर्यो बजार छैन । भएको बजार भारतीय
उत्पादनले दमन गरेको छ । सरकार उताकै बजारलाई सहयोग हुनेगरी नीति र निर्णय निर्माण
गर्छ । बाख्रा पाल्यो उस्तै हालत छ न सरकारी प्रोत्साहन छ न बजार ।
अरुले गाई भैँसी पालेको, घरघरैबाट दूधको किनबेच
भएको देख्छ अनि बैँकलाई भएभरको सम्पति राखेर चाकडी गर्दागर्दा रिन निकाल्छ र गाई
पाल्छ ।
....फेरि भाग पर्छ बाह्र हातको पिँडालु । किसान
मारिएको देश हो यो ।
असारदेखि स्थानीय दूध संकलकहरुले ठूला डेरीबाट
रकम पाएका छैनन् । आफूले नपाएपछि किसानलाई कसरी दिने ? शिवसताक्षी ६ स्थित मिलन
चिस्यान केन्द्रका मिलन अधिकारीका अनुसार व्यक्ति र संस्थाले ऋण पत्याउन्जेल
किसानलाई पैसा दिइयो अब सक्न अवश्था छैन । झण्डै ४० लाख जति लिनु र दिनु छ ।
उनको दूधका नियमित खरिदकर्ता पोखराबाट सञ्चालित
सुजल डेरीको आस्वाशन छ किसानलाई ३ करोडभन्दा बढी पैसा दिनु छ । दशैँ अगि बैँकबाट
ऋण लिएर आधै भए पनि दिन्छौँ ।
दुग्ध विकास संस्थानले पनि २ महिनादेखि भूक्तानी दिएको
छैन । उसका नियमित ग्राहक, चिनजान भनसुनका संकलकलाई जेनतेन दिएको छ । अरुलाई छैन ।
एकहजार लिटर संकलन गरिरहेकाहरुले चारसय पनि संकलन
गरेका छैनन्, ४० हजार संकलन गर्नेले १० हजार संकलन गरेका छैनन् । त्यसको पनि समयमा
भूक्तानी भएको छैन ।
ठूला डेरीहरुले मूल्य घटाउन साना डेरीहरुलाई दवाव
दिइरहेका छन् । किसानसँग ६० रुपैया लिटरमा लिएको दूध ५८ मा कसरी दिने ? साना
डेरीहरुको गुनासो छ ।
१० लिटर दूध दिइरहेका किसानबाट यतिबेला ५ लिटर
मात्रै लिन्छन् वा दुईदिनमा एक दिन मात्र लिन्छन् उनीहरू । बैँकको किस्ता, गाइलाई
दाना र दैनिक गर्जो कसरी टार्ने । किसानको दशैँ खल्लो हुँदैछ ।
सरकारले दूधको मूल्य तोक्यो तर दानाको मूल्यमा
मनपर्दी छ । दानाको मूल्य पनि उसैगरी नतोकेसम्म दूधको मूल्य तोक्नुको अर्थ छैन,
किसानले मिहिनेतको फल पाउँदैनन् ।
दुग्ध विकास संस्थानका अनुसार दुधको दुई सिजन
हुन्छ । पहिलो, माघदेखि साउनसम्मको लिन सिजन । यो सिजनमा दूध कम उत्पादन हुन्छ ।
उत्पादन खपत र भूक्तानीमा समस्या हुँदैन । भदौदेखि पुषसम्मको फ्लस सिजनमा दूध बढी
हुन्छ र कहिलेकहिँ खरिद र बिक्रीमा असन्तुलन देखा पर्छ । यही कारण दुग्ध विकास
संस्थानले किसानलाई दुईमहिनाको भुक्तानि गर्न नसकेको हो ।
तर दूध संकलकहरु यो तर्क मान्दैनन् । धेरैओटा चाडपर्वहरु
पर्ने सिजनमा दूध धेर हुने र खपत नहुने तर्क झुट हो । यसअगि यस्तो भएकै छैन् ।
२०८० वैसाखसम्म नेपालमा माग अनुसार दूध उत्पादन हुन
नसकेकाले भारतबाट दूध ल्याउन ठूला डेरीहरुले सरकारसँग अनुमति मागेका थिए । डेरीहरुमार्फत
आएको यो प्रस्ताव कृषि मन्त्रालयले पेश गरे पनि अर्थ मन्त्रालयले अस्वीकार गरेपछि भारतबाट
दूध आयात अनुमति रोकियो ।
तर जब गाईमा जब लम्कीस्किन रोग आयो अमेरिका
छुर्पी निर्यात रोकियो । अनि नेपालकै दूध बढी भयो । छुर्पी उत्पादन रोकिएपछि ईलामको
मात्र ४० हजार लिटर दूध दुग्ध विकास संस्थानमा थपियो । अन्य डेरीहरुले पनि यसैगरी
दूधको भार थाम्नु पर्यो ।
दुग्ध विकास संस्थानको तर्कसँग मिल्दो छ सुजल
डेरीको तर्क । झापाबाट बढीमा १५ हजार लिटर दूध लिन सक्ने क्षमता भए पनि ४० हजार
लिटरभन्दा बढि उठाउनु परेकाले र अन्य विविध समस्याका कारण किसानलाई ३ करोड भूक्तानी
गर्न बाँकी रहेको स्वीकार्छन सुजल डेरिका राजेन्द्र वस्ती ।
नेपालमा ४ देखि ४ सय ५० रुपैया लगानीमा उत्पादन
भइरहेको १ केजी पाउडर दूध भन्सार र प्रहरीको मिलेमतोमा भारतबाट प्रतिकेजी २ सयमै
नेपाल भित्रिरहेको छ ।
यसकारण दुग्ध विकास संस्थान, सीताराम दूध लगायतका
सबै कंपनीको बिक्री घटे पनि स्थानीय खुद्रा डेरिहरुलाई यसको कुनै देखिँदैन । बरु
बिक्री बढेको छ ।
छुर्पी अमेरिका जान रोकिएको कुरा मान्दैनन् बरू नेपाली
छुर्पी निरन्तर अमेरिका निर्यात गरिरहेको बताउँछन् नीजि व्यावसायी । पहिले भन्दा
बढी भारतको बाटो हुँदै युरोपसम्म निर्यात भइरहेको दावी छ ।
जति छुर्पी उत्पादन गरिन्छ एकसाथ त्यतिनै घिउ पनि
उत्पादन हुने तर घिउको बजार नभएको, यस अगि भइरहेको जापान र कोरियाको निर्यात
रोकिएकाले छुर्पीको उत्पादनमा कमी आएको बताउँछन् नेपाल डेरि एसोसियसनका कोशी
प्रदेश अध्यक्ष गंगा खड्का ।
खड्काका अनुसार नीजी डेरिहरुले अगिल्लो सरकारको
पालामा दूधको मूल्य बढाउन सरकारलाई दवाव दिए र मूल्य बढाए । आफूहरुले मूल्य भन्दा
उत्पादन बढाउन जोड गरे पनि सरकारले सुनेन र भारतीय सस्तो बजारको प्रभाव नेपालमा
परेको बताउँछन् । अरु देशको तुलनामा नेपाली दूध महङ्गो भएका कारण देश र विदेशको
बजार प्रभावित भएको उनको तर्क छ ।
भारतबाट दूध, चीज, नौनी आदि भित्रिनु, गाईमा
लम्कीस्किन रोग लाग्नु, मूल्य वृद्धि, आर्थिक मन्दीले क्रयशक्ति कमजोर हुनु,
दूधमाथि चरम राजनीति हुनु हालको मुख्य
समस्या रहेको बुझ्न कठिन छैन ।
मिलेमतोमा लुकीछिपी भारतीय दूध नेपाल भित्रिने
सुइको पाएकाले नेपाली किसानको दूध होहोइन पक्का भएर मात्र आफूले खरिद गर्ने गरेको उनको
दावी छ । र असार साउनमा छुर्पी नबन्ने कारण पनि यो समस्या आएको बताउँछन् अध्यक्ष
खड्का ।
दूध मात्र होइन पनिर र मिठाइसमेत भारतबाट आएकाले
नेपाली बजार धरापमा परेको मिलन अधिकारीको दाबी छ ।
गरिखानेका लागि नेपाल अब आफ्नो रहेन । ऋणबाट
कर्मचारी, घरभाडा, बिजुली, केरियर सबै धानेर दूध व्यावासाय गर्न नसक्ने हुँदा
आत्महत्या गर्नुभन्दा पासपोर्ट बनाउने तयारी गरेको बताउँछन् उनी ।
एकातिर किसानलाई दूधको भूक्तानी दिन सकेको छैन
अर्कोतिर किसानबाट संकलन गरेर लगेको दूध दुग्ध विकास संस्थान विराटनगरमा खन्याउन
मात्र त्यहाँका कर्मचारीलाई ५ हजार घुश दिनुपर्छ । नत्र अनेक बहाना बनाएर फर्काई
दिन्छन् ।
यति धेरै गुजुल्टिएको समस्या बोकेर दूध किसान,
दूध संकलक र ठूला व्यावसायीहरू चलिरहेका छन् तर हेरिदिने, सुनिदिने र समाधान
गरिदिने कोही छैन ।
नेपालमा दूध वा दूधजन्य उत्पादनको खपत कति हो ।
कति उत्पादन भइरहेको छ । कति उत्पादन गर्न सकिन्छ । बजार कहाँ कसरी खोज्ने ? आदिजस्ता
सामान्य कुराको व्यवस्थापन गर्न नसक्ने सरकार कसको पक्षमा के काम गरिरहेको होला ?
निरन्तर दुध उत्पादन गर्ने किसानलाई अनुदान दिने,
दूध र घिउको गुणस्तर बढाउने होभने स्वेश र विदेशमा बजार व्यवस्थापन गर्न नीजी
क्षेत्र आफैँ सक्षम रहेको बताउँछन् व्यावसायीहरू ।
ए सरकार !! यसरी किसान र व्यावसायीको छातिमा झिर
रोपेर सुध्रिएला त देश र जनताको अर्थिक अवश्था ? कि यसमै छ मज्जा ???