पढेर पार लाग्छ
शम्भु सुस्केरा
स्कुल कलेज पढ्दा दिक्दारी पोख्थ्यौँ
'पढेर पार लाग्दैन' भनेर । जब पढ्दापढ्दा दिक्क लाग्थ्यो वा जति पढे पनि दिमागमा
घुस्दैनथ्यो अनि निस्किन्थ्यो मुखबाट यस्तो प्रतिक्रिया। सायद पढाइमा औसतस्तरका
सबै विद्यार्थीलाई यस्तै लाग्ला ।
'तैँले पढेर खाँदैनस्' आफ्ना बालबालिकाले पढ्न
अल्छी गरे वा परिक्षामा कम नम्बर ल्याए भने अभिभावकले पनि यसो भनेको सुनिन्छ । तर
पनि नपढी धर छैन । त्यसैले त पढेर कहिले सकिएला भन्ने चिन्ता सबै विद्यार्थीको तनावको
विषय हुन सक्छ ।
बाध्यात्मक पढाइमा यस्तो लागे पनि रहरको पढाइमा
यस्तो हुँदैन । रहरको पढाइ भनेको आफूलाई मन परेको, पाठ्यपुस्तक भन्दा बाहिरको
पुस्तक पढ्नु हो । औपचारिक पढाइ सकेपछि मन परेको पुस्तक फुर्सदमा वा फुर्सद निकाले
पढ्दाको मजा अर्कै हुन्छ ।
केही वर्षदेखि पुस्तक पसलेको व्यापार कम भएको छ
भने इन्टरनेट कंपनी र मोबाइल कंपनीको व्यापार बढेको छ भन्ने कुरा सहजै अनुमान गर्न
सकिन्छ ।
पुस्तक, मोबाइल र इन्टरनेले दिने लाभ एकै हो त ?
गहन बहस गर्न सकिन्छ यस विषयमा । तर्क क्षमता भएकाले जुनसुकै विषयको पक्ष लिए पनि
बहस जित्न सक्छन् ।
तर सत्य यो होइन । पुस्तक पुस्तक नै हो पुस्तकलाई
हराउन प्रविधिले सक्दैन । बरू कतिपय अवस्थामा प्रविधिले मानिसको क्षमतामा ह्रास
ल्याएको छ ।
यात्रा गर्दासमेत पुस्तक पढेको देखिने
पश्चिमाहरुले प्रविधिको उपयोग गरिसकेर, स्वाद चाखिसकेर पुस्ततिर नै फर्किएका हुन्
भन्न सकिन्छ । पुस्तकले दिने आनन्द अन्त नभेटेर पनि उनीहरूले यसैलाई प्रेम गरेका
हुन् भन्न सकिन्छ । तर मसँग यसकाबारेमा कसैले तयार पारेको रिपोर्ट चाहिँ छैन । पाठकलाई
खोजको विषय बन्न सक्छ ।
अनुभवका आधारमा भन्न सकिने केहो भने प्रविधिको
अधिक प्रयोगले मानिसको रचनात्मक क्षमता घटाउने मात्र होइन मानसिक र शारिरीक
स्वाश्यमा समेत नकारात्मक असर गर्छ ।पुस्तक पढ्ने बानीले यसको ठिक उल्टो प्रभाव
पार्दछ ।
त्यसैले बानी छुटेको छ भने पनि पुस्तक पढ्न थालौँ
। सुचना प्रविधिको यो युगमा एउटा डिभाइसले संसारका सबै कुरा दिन्छ । थप मूल्य
तिरेर किन अनेक थरी पुस्तक किन्नु ? सामान्य सत्य जस्तो लागे पनि यो पूर्ण सत्य
होइन । पुस्तक मानषपटल र घर दुवै स्थानमा सङ्ग्रहित गर्न सकिने सम्पति हो ।
प्रविधिको कहिल्यै भर हुँदैन ।
सामान्यतया डिभाइस वा पुस्तक जेमा पढे पनि
पढाइबाट प्राप्त हुने कुरा समान हो । तर त्यसको सकारात्मक र नकारात्मक प्रभावको
बारेमा माथि भनियो । तपाईले थप खोज गर्न सक्नुहुनेछ ।
अब चर्चा गरौँ । पढ्नु र नपढ्नुको भेद । वा
पढ्नु, सुन्नु वा हेर्नुबाट पाइने आनन्दको भेद ।
पढ्नेहरुको शब्द भन्डार बढ्ने त छँदै छ सूचना र
ज्ञानको भण्डार समेत बढ्दछ । पुस्तक र फुर्सद छ भने जहाँ जतिबेला पनि पढ्न सकिन्छ
। कहीँ कसैलाई पर्खिनुपर्दाको दिक्दारमा बाटोमा उभिएरै समयको सदुपयोग गर्न पनि
सकिन्छ । अध्ययनले मानसिक सक्रियता र सिर्जनात्मक क्षमता पनि बढाउँछ । कहिले कहिँ
कसैको एउटा कविता पढ्दा अर्को सुन्दर कविता जन्मिएका उदाहरणहरू धेरैसँग छन् ।
त्यसैले जज वर्नार्ड शले भनेका होलान् एउटा पुस्तक लेख्न सयओटा पुस्तक पढ ।
मानिस तनाव व्यवस्थापनका लागि अनेक तरिका खोज्छ ।
तर अध्ययन गर्नेहरू स्वयंमा कम चिन्तित हुन्छन् भनिन्छ । उनीहरू आफूलाई आइपरेको
जस्तोसुकै अप्ठ्यारोबाट आफूलाई बाहिर निकाल् सक्छन् नै अरुलाई पनि असहज परिस्थितिबाट
सहजतातिर लैजान सक्छन् । मुख्य कुरो त के हो भने संसारका प्रखरवक्ताहरूको वकृत्व क्षमता
सम्बन्धित विषयको व्यवस्थित अध्ययनबाटै बढेको हो ।
अध्यन गर्ने, टिपोट गर्ने, सम्झिने र लेख्ने
बानीले बोल्नका लागि समेत सहयोग गर्दछ । त्यसैले भनिन्छ पुस्तक ज्ञान र अनुभवको
श्रृङ्खला हो यसले जीवन बाँच्न त सिकाउँछ नै मृत्यु बुझ्न र त्यसलाई स्वीकार गर्न
समेत सहज बनाउँछ रे ।
के पढ्ने र कसरी पढ्ने भन्ने जिज्ञासा हुन सक्छ ।
पढ्नका लागि आफ्नो रुचीको विषय हुनुपर्दछ भने कतिपय अवस्थामा जीवन उपयोगी पुस्तक
पनि खोजेर पढ्नुपर्ने हुन्छ ।
कतिपय मानिसहरू आजकाल किताबको चाङको फोटो खिचेर
सामाजिक सञ्जालमा देखाउने गर्छन् । तर धेरै ओटा पुस्तक पढेर संङ्ख्याको रेकर्ड राख्नुभन्दा एउटा किताब
मिहिन ढंगले धेरै पटक पढ्दा कहिल्यै नबिर्सिने गरी महत्वपूर्ण कुरा सिकिन्छ ।
धेरैओटा खेल खेल्ने खेलाडिभन्दा लामो समय एउटै खेल खेलेको खेलाडिले राम्रो नतिजा
दिएका छन् ।
पढ्दा हतार नगरी पढ्ने, आफ्नै पुस्तक हो भने मन
परेको कुरा अण्डरलाईन गर्ने, अरुको मागेर पढेको भए कपिमा टिपोट गर्दै पढ्ने ।
पढेको कुरा एकछिन रोकिएर मनन गर्दै पढ्ने गर्दा दिमागमा छापिएर बस्न सक्छ । टिपोट गरेको
कुरा सङ्ग्रह गरेर राख्नाले पछि लेख्न र त्यस विषयमा बोल्न समेत सहयोग गर्दछ ।प्रखर
वक्ताहरू यसै गर्ने गर्दछन् ।
पढेर कति काम लाग्छ भन्ने कुरा के सोचले कसरी
पढिन्छ भन्ने कुराले पनि अर्थ राख्छ ।
त्यसैले पढ्दाखेरि सुचना पहिल्याउने भन्दा पनि त्यसबाट जीवन बदल्नका लागि उपयोग
गर्छु भन्ने सोच बनाएर पढ्न सके बढी फलदायी हुन्छ । पुस्तक अध्ययनका लाभ धेरै
रहेछन् भन्ने त थाहा भयो तर पढन अल्छि लाग्छ वा पढ्न रुचि नै हुँदैन के गर्ने
भन्ने प्रश्न उठ्न सक्छ । त्यसो हो भने जे गर्न मन लाग्दैन बारम्बार त्यही गरिरहने
हो भने एक दिन बानी बन्न सक्छ । त्यसका लागि रुटिन बनाएर नियमित एक्काईस दिनसम्म
दैनिक पढ्नाले पढ्ने बानीको विकास हुन्छ ।
पढदाखेरि एकान्तमा एक्लै वा समुहमा
चर्चा गर्दै जसरी रमाईलो हुन्छ त्यसरी पढने गर्नुपर्छ ।
'रिडर्स आर लिडर्स, लिडर्स सुड बी रिडर' यो सत्य
हो । त्यसैले भनिन्छ जसले अध्ययन र सिकाइलाई रोक्छ उसको सफलता पनि रोकिन्छ । यसमा
विवाद गर्नुपर्ने कारण छैन बरू अनुसरण गरियो भने आफ्नै हित हुनेछ ।
संसारलाई अगुवाइ गर्नेहरुले कितावमात्र होइन
विश्वलाई अध्ययन गर्दछन्, मानवको स्वाभावलाई अध्ययन गर्दछन् । आफूले अगुवाइ
गर्नुपर्ने विषयलाई अझ बढी अध्ययन गर्दछन् ।
सकेसम्म पुस्तक नै अध्ययनगरौँ । डिभाइस सजिलो
लाग्छ भने त्यसमा पनि अनलाइन वा डाउनलोड पढ्न सकिन्छ । तर एकसाथ लामो समय बसियो
भने शारिरीक समस्याहरु आउँछ भन्छन् चिकित्सकहरु यसलाई पनि ख्याल गरौँ । तर पढ्ने
वानीको विकास गरौँ । विनास नगरौँ ।