Wednesday, January 9, 2019

रेडलाइट एरिया र छोरीको व्यापार https://www.onlinekhabar.com/2018/12/730787

रेडलाइट एरिया र छोरीको व्यापार

रेडलाइट एरियाको विकास गरी यौन पर्यटक भित्र्याउन सकिन्छ र त्यसैको कमाइले देश विकासमा टेवा पुग्छ भन्ने अचम्मलाग्दो कुतर्क पछिल्ला केही वर्षदेखि नेपालमा एउटा सुनिँदै/पढिँदैछ ।
यस्ता विषयलाई ‘बहस’ भनेर ‘बहस’ शब्द र यसको ‘अर्थ’ गरिमाको अवमूल्यन गर्नु उपयुक्त नहोला । बहस सकारात्मक, अग्रगामी, सुसंस्कृत र सभ्यता निर्माण गर्ने कुरामा हुनसक्छ । मानव सभ्यताका खिलाफमा आफ्नै आमा, दिदीबहिनी र छोरीको अस्मितामा व्यापार गरी भात खाने कुरामा बहस हुन सक्दैन ।
नारी अस्मितामाथि साँढे छोडेर देस बन्छ भन्ने कुरा बहसको विषय होइन, जघन्य अपराधको विषय बन्नुपर्छ ।
यस्ता विषय उछालेर किन कुतर्क गर्छ मान्छे ? किन ‘आमा (छोरी) अस्मिता’ लाई वस्तुको रुपमा रुपान्तरण गर्ने प्रयास गरिन्छ पटकपटक ?
कतै मान्छेले आफैभित्रको तीब्र यौनेच्छा, फरकफरक पात्रबाट फरक स्वाद लिने भ्रम र धेरै संख्यामा सहबास गर्ने चाहनालाई मूर्तता प्रदान गर्न यस्ता कुतर्क ओकलिरहेको त छैन ?
हाम्रो नेपाली सभ्यताको उत्पति र विकासको कुरा, गर्व गर्नलायक हाम्रा पूर्विय धर्म र दर्शनले स्वीकारेको नारी सम्मान, शक्तिमहिमा र पूजाको कुरा मात्र होइन, आजको संसार सञ्चालनमा विश्वका सबै नारीको भूमिका अतुलनीय र सम्माननीय छ ।
केही मानव निर्मित शास्त्र, पुराणहरुले नारीहरुलाई अपमान गर्नु र नारीलाई मान्छे भन्दा तल राखेर प्रस्तुत गरिनु अपवाद र पूर्वाग्रह बाहेक केही होइन । यो तत्कालीन समयका यस्तै विचार पे्ररित केही सन्की र अगुवाहरुको हेपाहा सोच हो भन्न द्विविधा हुनुपर्ने कारण छैन ।
त्यही पूर्वाग्रही सोच जस्तै आजका हामी केही (अ)मानवहरु हाम्रा सम्मानित नारीहरुलाई उसैगरी वस्तुकोरुपमा परिचय बदल्न खोज्दैछौँ । राम्रा युवतीहरु छानीछानी फरकफरक मोल तिरेर उपभोग गर्न सकियोस्, त्यसपछि झन कुतर्क गर्न सकियोस् नारी वस्तु नै हो । नारी केबल भोग्य सामग्री नै हो भनेर । यसबाहेक अरु प्रयोजन देखिँदैन तिनको कुतर्कमा । यस्ता विचारलाई कानुनीरुपमै दण्डनीय बनाउनु पर्नेहरुले नै कुतर्क गर्नु अर्को दुर्भाग्य हो ।
एकातिर ‘मुलुकी संहिता २०७५’ भन्छ दुइटी विहे गर्नेबित्तिकै अबैध मानौँ, श्रीमतीको चाहना बिपरित यौन इच्छा मेटाउन खोज्ने श्रीमानलाई बलत्कारी ठानौँ, नारी जातिलाई दुरासयपूर्ण कर्के हेराई मात्र पनि आसय करणी जानौँ ।
तर, कानुन र सामाजिक सभ्यताका विपरित केही ठालुहरु, बोल्ने अवसर मिल्नासाथ तिनै सम्मानित नारीहरुलाई ‘सुपर वेश्यालय’को सोकेसमा सजाउन पाऊँ, ग्राहक बनेर लाइनमा बसेर सामान छानेझैँ छान्न पाऊँ र बील तिरेर भोग्न पाउ“m । यस्तो पैरवी गर्छन् ।
यो कुतर्कको अर्थवोध यस्तो पनि होला नारीहरु सस्तिउन, उपभोक्ता महगोमा परुन् र ब्यापारी मोटाउन् । मोटाउने ब्यापारी आफैँ हुन सकौँ ।
यी कुतर्कदाताको तर्क हुन सक्छ, आखिर लुकीछिपी आफूलाई बेचेकै छन् । त्यसलाई नियन्त्रण गर्न सकिएको छैन । त्यसैले उनीहरुकै पेेशाको सुरक्षा र सम्मानका लागि कानुनी बाटो दिने हो ।
चेतना होला आफ्नो अस्मिता बचाउन नसक्दा आत्महत्या गर्ने नारी हुन् हाम्रा । उनीहरुको अस्मिताका लागि छोरा, भाइ वा श्रीमान्को भूमिकामा युद्ध लड्ने पुरुष हौँ नेपाली । यस्ता नारीहरुले के रहरले बेचेका होलान् आफूलाई । यदि कसैले रहर र रमाइलोको लागि त्यसो गर्दो हो त कानुनको बार छँदैछ, पालना गराऊँ । बाध्यताले आँसु पिएर आफूलाई बेचिरहेकाहरुका लागि जीवनयापनको बिकल्प दिउ“m र अरुलाई निरुत्साहित गरौँ ।
गर्न नखोज्ने वा त्यसैको आडमा कमाइ गर्ने अनि नियन्त्रणमा छैन, मान्यता दिऊँ भन्नु कति जायज हो । यदि नियन्त्रण गर्ने प्रयास भएर पनि नसकिएको हो भने नियन्त्रण गर्न नसकिएका अरु पनि त्यस्ता असभ्यता र अपराध धेरै छन् ।
ती सबैलाई स्थान छुट्याएर बैध बनाउँदै जाने हो भने नेपालमा भ्रष्टाचार पनि नियन्त्रणभन्दा बाहिर छ, तोकि दिऔँ फलाफलाना कार्यालयमा भ्रष्टाचार गर्न छुट । काठमाडौँमा दिउँसो हुने चोरीका लागि पनि भनिदिऔँ यति बजेदेखि यति बजेसम्म चोरी गर्न छुट । शिशुदेखि हजुरआमासम्म बलात्कारमा परेकै छन्, बलत्कारीलाई भनिदिऔँ फलानोफलानो ठाउँमा चै छुट छ । त्यतातिर महिला आएभने झम्टीहाल ।
यसैगरी अपहरण, चन्दा असुली, हत्या जे जे छन् सभ्य समाजमा नहुनुपर्ने बिकृति र अपराध सबैका लागि समय र स्थान छुट्याउँ अनि त्यसबापत कर लिऔँ । त्यही बेथिती हेर्न दुनियाँलाई निम्ता गरौँ । ती आउन्, हाम्रा आमा, दिदीबहिनी, छोरी र श्रीमतीहरुलाई भोगुन्, हामीलाई गिज्याउन्, तिनलाई पर्यटक ठानौँ र पैसा कमाऔँ ।
अरु देशमा कानुन र प्रहरी कोर्रा कडा भएकाले नेपालमा आएर बैँक एटीएम ठगी गरेको, पक्राउ परेका टर्किसहरुले बयान दिएको कुरा सार्वजनिक भएको थियो । तिनलाई पनि प्रोत्साहित गरौँ ।
अन्यथा नियन्त्रण प्रयास नगर्ने, अनि नियन्त्रण नभएको कुतर्क गर्ने ? यही कुतर्कको बलमा राष्ट्रकै परिचयलाई धुमिल र लज्जाबोध गर्ने अभिव्यक्ति दिने । कहाँको अग्रगामी सोच हो ?
यस्ता कुतर्क गर्नेले सोचेका होलान् तिनको योजनाको यौन ब्यापारमा केबल अरु मात्रै पर्छन् । तिनले कल्पना गरेका छैनन् ती ठाउँमा तिनकै आमा, दिदीबहिनी र छोरी छोरीबुहारीले पनि ब्यापार गर्नेछन् र देशले कमाउनेछ । र आफ्नै श्रीमतीसँग ती ठाउँमा जम्काभेट हुनेछ कुनै दिन ।
संसारका कतिपय विकसित वा अविकसित, असभ्य मुलुक वा समाजले जे गर्‍यो त्यही ठीक मान्ने हाम्रो रोगी सोच र कमजोर आत्मबलको उपज हो यो कुतर्क ।
युगाण्डाकी एउटी युवतीले एउटा नेपाली पात्रसँग किन संवाद गर्छे र कल्पना गर्छे यदि अर्को जन्म हुन्छ भने म नेपालमै जन्मिन चाहन्छु र एउटै मात्र पुरुषको अँगालोमा बेरिएर जिउन चाहन्छु । सरिया कानुनले ४ वटीसम्म बिहे गर्न अनुमति दिएको सुडानजस्ता देसका नारीले किन सपना देख्छन् -म नेपाली भएको भए मेरा श्रीमान्ले म बाहेक अर्कीसँग बिहे गर्न पाउँदैन थियो, मेरो श्रीमान् सधैँ मेरै रहिरहन्थ्यो भनेर ?
युगाण्डाको राजधानी कम्पलामा हरेकजसो होटलमा यौन व्यापार हुन्छ, त्यहाँ सबै महिलाले आफूलाई खुशीले बेचिरिहेको होलान् भन्ने लाग्छ । तर यौन कर्म नगर्ने र गर्नु हुँदैन भन्नेको संख्या धेरै छ ।
यदि कुनै महिलाको कमाइ कम छ वा बेरोजगार छन् भने तिनको समाज र परिवारले भन्छ कस्ती बेगारी भकी जानु नि मालदार पुरुषसँग ।
हामीकहाँ घुस नखाने कर्मचारीलाई बेबकुफ भनेजस्तै गर्छन् यौन व्यापार गर्न नचाहने त्यहाँका नारीलाई । त्यसैले यस्ता कुराको प्रवेशका बारेमा सोच्नु पनि घातक हुन्छ ।
लहडमा यस्ता कुराको सुरुवात गरियो भने भविष्यमा चाहेर पनि निस्कन सकिन्न । भविष्यमा पश्चाताप गर्नु सिवाय अर्काे उपाय हुँदैन । भालुको कन्पट भइदिन्छ न समातिरहनु न छोड्नु । अन्ततः सन्त्तीले सराप्नेछन् भोलि ।
आजै सिक्नका लागि केही मुलुकका यस्ता उदाहरण हाम्रा लागि प्रसस्ती छन् । नेपालको कानुन, सभ्यता र नारीप्रतिको सम्मान अरुका लागि आदर्श र सुन्दर सभ्यता बनेका छन् । यसलाई अझै प्रोत्साहित गरिनुपर्छ ।
नारी शक्ति र सम्मानको पूजा गर्ने पुरानो सभ्यता र संस्कारको विकास गर्नैपर्छ । यसका लागि नारीकाप्रति दुराग्रह राखेर अपराध गर्नेहरुको रोग पत्ता लगाएर उपचार नगरी हुन्न । त्यस्तैलाई बल पुग्नेगरी भाषणबाज गरिनु राष्ट्रहित बिपरित छ ।
आफूलाई वस्तुकैरुपमा विकास गरेर अरुलाई व्यापार गर्न दिने केही अर्धनग्न सोचहरुलाई निरुत्साहित गरौँ । र नारी अङ्गको होइन तिनका मस्तिष्कको व्यापार फैलाऔँँ । यसमा छ समाज, राज्य र सिङ्गै नारीको उत्थान ।
हामीकहाँ भएका बिरलै उदाहरण संसारमा सबैसँग छैनन् । २१ औँ सताब्दीमा आइपुग्दा पनि अमेरिका जस्तो देशले महिला राष्ट्रपति स्वीकार्न सकेको छैन । हामी राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला बनाइसकेका नेपाली हौँ ।
के हामी बाँच्नकै लागि नारी अस्मिता बेच्ने कल्पना समेत गर्ने अवस्थामा छौँ ? छौँ भने यसको जिम्मेवार को ? विवेकको सहयोग लिएर आफ्नै आमा वा छोरीको अस्मिताको कसम खाएर सोचौँ । र संवेदनशील होऊँ ।
यौनकर्मलाई व्यापार मानेर यसको हाट लगाउँदै जाने हो भने भोलिका हाम्रा साना बालबालिकाले बाटो ढुकेर ‘अंकल हाम्री ममी सबै भन्दा राम्री छिन्, आइदिनुस् न’ भनेर आफ्ना ममीहरुका लागि ग्राहक खोज्ने दिन आउँदैन र ?
न यो अग्रगामी छलाङको बाटो हो न राष्ट्र समृद्दीको राजमार्ग ? नरकको परिचय हो यो । यस्तै परिचय थप्न खोजेका हौँ नेपालको ?
‘बुद्ध र सगरमाथाको देश’ अझै संसारले चिनिसकेको छैन । अभियान त यो हुनुपर्ने हो आफूलाई चिनाउने ।
किन ‘यौन व्यापारी देश’ चिनाउने कल्पना गर्छाैं  ?
एउटा नानीले आफ्नी आमा लागि, एउटी आमाले सन्तानको दुईछाक र आधारभूत शिक्षाका लागि ग्राहक खोजिरहँदा महलमा बस्ने, नामको अगाडि मन्त्री, डक्टर, ईन्जिनियर, लेखक पत्रकार वा अरु यस्तै विशेषण थपेर टाइ लगाइ हिँड्नेको इज्जत पनि त त्यही भङगालोमा हेलिँदो हो ।
‘छोरी बेचेर भात खानेहरु’ भन्दैन दुनियाँले ? चाहे हाम्रा प्रधानमन्त्री हुन् वा उद्योग वाणिज्यमहासंघका अध्यक्ष, तीन करोड नेपालीलाई आज खाडि वा अन्य मुलुकले चिन्ने केबल ‘मजदुर नेपाली’ होइन र ?
हे कुतर्क महोदय । चेत होस् तिम्रो ठाँटको विदेस भ्रमणमा तिमीसँगै गएका तिम्री छोरी हुन् वा श्रीमती, त्यसबेला कसैले तिनको मूल्य तिमीसँगै सोध्नेछ । त्यसबेला तिमीले रिसाउन वा हिनताबोध गर्न पाउँछौ र ?
तिमीसँग तिम्री श्रीमती वा छोरी रहन्न । तिमीले व्यापार गरेको बजारको वस्तु बनाइसकेका हुनेछौ उनीहरुलाई । केबल इमान्दार प्रयास गर्ने हो भने नेपालमा नियन्त्रण भन्दा बाहिर छँदैछैन यौन कर्म । आफू नबिक्ने, कानुन र कर्तब्यको पालना मात्र गर्ने हो भने २४ घण्टामा समाधान हुन्छ केही शहरमा देखिएका केही यस्ता समस्याहरु ।
यसलाई रोक्ने जिम्मेवारी पाएका ठेकेदारहरुको उल्टो गतिका कारण यी असभ्यताहरु मौलाएका हुन् भन्न लजाउनु वा डराउनु पर्ने कारण छैन । त्यो गतिलाई सही दिशामा घुमाऊँ ।
हाम्रा आमा दिदीबहिनी र श्रीमतीहरुको सम्मानलाई शीखरजस्तै अग्लो बनाऊँ  । नारीहरुको सम्मान, शक्ति र प्रतिष्ठाले मात्र राज्यको पुरुष शक्ति र इज्जत बढेको छ । नबिर्सौं, शास्त्र, इतिहास र वर्तमानका समेत ।

‘प्रसाद’ नेपाली साहित्यको उत्कृष्ट रचना http://koribati.com/category/Article/2018_12_16/_TUnDJ

‘प्रसाद’ नेपाली साहित्यको उत्कृष्ट रचना

‘पुजारीले प्रसाद बाँड्छन् भक्तजनले कहिल्यै चासो गर्दैनन् कि त्यो प्रसाद कसले, कहिले, कसरी, के फल प्राप्त गर्न चढायो । पूर्ण आश्थाका साथ प्रसाद खाइदिन्छन् ।’
‘प्रसाद’ सिनेमाको यो संवाद पुरै सिनेमाको सार पनि हो ।
केही महिना अघि एकजना मित्रले एक कफी गफका क्रममा सुनाए ।
‘दाइ तपाइको कथा ‘सरोगेट लोग्ने’ जस्तै कथामा सिनेमा बन्दैरहेछ नि ‘प्रसाद’ । 
उनको कुरा मेरो मनमा गहिरोगरी गढ्यो । र, मेरो मनमा एउटा स्मृतिले पर्दा खोल्यो । तुलसी घिमिरेले बनाएको सिनेमा ‘दुईथोपा आँसु’ मेरो कथा हो भन्दै कसैले दाबी गरेको समाचार पढेको थिएँ । त्यस्तो नियति अहिले नदोहोरियोस् यत्ति कामना गरेँ ।
त्यही कामना सहित ‘प्रसाद’ हेरेँ भरखरै । खुब सचेततापूर्वक ।
कथा ‘सरोगेट लोग्ने’ पढेपछि खाँदबारीका एकजना शिक्षकलाई कसैले सुनाएछ तेरो जस्तै कथा लेखेछ शम्भु सुस्केरा भन्ने मान्छेले भनेर । ती शिक्षकले आत्तिएर मलाई फोन गरे । मैँले मेरो कथा पढन आग्रह गरेँ र उनको पनि मागेँ । 
एउटै विषय र बिचारमा विभिन्न साहित्य रचना हुन सक्छन् भन्ने हामी दुबैलाई ज्ञान भयो त्यसबेला । र सिनेमा हेरिसकेपछिको वर्तमान विश्वास पनि के हो भने विषय र बिचार मिले पनि भाषिक शिल्प, कला, पात्र, परिवेश र लेखाइको उद्देश्य फरक पर्नसक्छ । 
प्रसाद हेरिसकेपछिको मेरो नश्किर्ष ।
सुशिल पौडेलको कथामा सुभाष प्रोडक्सनले बनाएको सिनेमाका निर्देशक दिनेश राउतले पूर्ण न्याय गरेका छन् । २ घण्टाको सिनेमा हेर्दा हलका ९५ प्रतिसत दर्शकलाई राम्रैसँग बााँधेर राख्न सफल छ सिनेमा ।
गण्डकी प्रदेशको बागलुङ र आसपासको आञ्चलिक भाषिक लवजलाई सिनेमाका नायक नायिका बिपिन कार्की र नम्रता श्रेष्ठले उत्तिकै न्याय मात्र गरेका छैनन् पात्र अनुसारको चरित्र उत्कृष्ट ढंगले निर्वाह गरेका छन् ।
सिनेमा बनाउन जोडजाड गरिएको कथा र पटकथा जस्तो मात्र  नभएर नेपाली सहित्यको एक पठनीय रचना हो ‘प्रसाद’ भन्न कुनै आग्रही भइरहनु पर्दैन । 
सिनेमामा नायक र खलनायकको भाक्कभुक्क हानाहान नभइ हुन्न भन्ने मान्यता भत्काउन अरु केही नेपाली फिल्मलेझैँ यसले पनि भूमिका खेलेको छ । त्यस्तो द्वन्द्व नभएर पनि पुरै सिनेमा एक दम्पतिको गहिरो मनोवैत्रानिक द्वन्द्व बोकेर गतिशील भएको छ ।
राम्रा नेपाली सिनेमा खोजेर हेर्ने म जस्तै दर्शकका लागि सुरुमै मेरो सिफारिस रहन्छ कि तपाइको समय र पैसाको लगानीले पुरा इज्जत पाउँछ । धोखा हुँदैन । 
सिनेमाको प्राविधिक पाटो तपाईं हाम्रा दर्शकीय पक्षले भेट्टाउँदैन । त्यो सम्बन्धित विज्ञलाई नै छाडिदिऊँ । बसको यात्रा गर्नेले यात्राको सुगमता र बस स्टाफको व्यवहार हेर्ने हो बस जुनसुकै कंपनीको होस् वा जुनसुकै कारिगरले जुनसुकै औजार प्रयोग गरेर बनाएको होस्, अर्थ राख्दैन ।
कथा दलितको नभएपनि दलितको भूमिकामा नायक बिपन कार्की अपेक्षा गरिएसरह नै जमेका छन् चरित्रमा । तर नायिका नम्रता श्रेष्ठलाई त्यस्तो चरित्रमा त्यति धेरै अपेक्षा सायद कसैले गरेको होस् । अपेक्षाभन्दा बढी नै भेटिन्छ । र, निश्चल बस्नेतले खलनायकी अवधारणाको रुप नै परिवर्तन गरिदिएका छन् सफलतापूर्वक ।
नेपाली साहित्य र त्यसलाई फिल्मीकरण गर्दा समेत कस्तो दर्शन र सभ्यता निर्माण गर्ने भन्ने अन्यौलमा बाँचेका नेपाली पाठक र दर्शक हौँ हामी । प्रसादले केही मात्रमा भए पनि त्यो अन्यौलतालाई चिरेको छ । बहस गर्न सकिन्छ यसले उत्पादन गरेको दर्शनकाप्रति ।
तीजमा भोकभोकै श्रीमान्को गोडाको पानी खान उसैलाई कुरेर बसेकी श्रीमतीका अघिल्तिर रक्सीले मातेर आएको श्रीमानको ‘आम कथा’ र त्यसले उत्पन्न गर्ने आम नेपाली महिलाको मनोविज्ञान, काठमाडौँका घरबेटीको सोच, बग्रेल्ती संचालित दोहोरीको चरित्र, लगायतका अन्य थुप्रै विषयलाई एकसाथ उठान गरेपनि भद्दा लाग्दैन सिनेमा । 
बरु सानासाना विषयभित्र नेपाली समाज अटाएर चित्रण गर्न सफल भएकै कारण छिनमा भावुकताले स्तब्ध बनेका दर्शक छिनमा हाँसोले हल गुञ्जाउँछन् । 
तसर्थ प्रसादलाई भावुकता र मनोरञ्नको मिस्रित पकवान पनि भन्न सकिन्छ । न दर्शकलाई रुवाइरहन्छ न हँसाइरहन्छ । जीवन जस्तै बनेको छ दुःख र सुखको समागम ।
‘शहरमा सबैको मन फाटेको हुन्छ कपडा जोडजाड गरेर सिलाउने र त्यसलाई छोप्ने ।’ काठमाडौँको जीवन बुझ्न काफी छ यो अर्थपूर्ण संवाद । मोफसलको अन्जान व्यक्ति वा परिवारका लागि काठमाडौँको सकसपूर्ण संघर्षको चित्रण अर्को चरित्र हो सिनेमाको ।
नारीलाई कमजोर पात्रकारुपमा साहित्य र सिनेमामा प्रस्तुत गरिन्छ धेरै जसो । 
‘बीउको अधिकार बीउसँग मात्र रहन्छ । फलको अधिकार किसानसँग सुरक्षित हुन्छ । मेरो पेटको बच्चा जन्माउने कि फाल्ने त्यो अरुको निर्णय होइन मेरो अधिकारको कुरा हो । म यस बच्चाको किसान हुँ ।’ सिनेमामा एउटी नारी पात्रको यो साहस आम नेपाली नारीको कमजोर आत्मबललाई हिम्मत बन्न सक्छ ।
तसर्थ आजको नेपाली समाजको आवस्यकता हो प्रसाद ।
निसन्तान हुनु एउटी महिलाको मात्र होइन पुरुषका लागि समेत पीडाको विषय हो भन्ने कुरा आत्मसात नगरेको नेपाली समाजलाई झस्काएको छ यसले । मुख्य कुरो त निसन्तान दम्पतिको आपसी प्रेम र द्वन्द्वको अवस्था र प्रकृतिलाई प्राकृतिक चित्रण गरिएको छ न कि सिनेमाको अभिनय जस्तो अप्राकृति होस् ।
विवाह सन्तान उत्पादन गर्नकै लागि होइन । सन्तान नभएकै कारण नारी अपूर्ण हुँदिन । श्रीमान्सँगको प्रेम, परिवारसँगको भूमिका, सम्बन्ध र समाजमा उसले निर्वाह गर्ने भूमिकाले पनि नारीलाई पूर्ण बनाउँछ । 
यस्ता कैयन समसामयिक र महत्वपूर्ण सन्देश स्पष्टसँग बाँड्न सक्नु सिनेमाको महत्वपूर्ण पक्ष हो ।
सिनेमा केबल दर्शकीय मन र आँखाले मात्र हेर्दा पनि यसको आधुनिक, दार्शनिक, सामाजिक, पारिवारिक, बैचारिक र वैज्ञानिकता प्रष्टैसँग देख्न सकिन्छ ।
सिनेमामा त्रुटी नभएको होइन । सिनेमाकी नायिकाले आफूलाई बिपद आइलाग्दा पनि छिमेकी वा घरबेटी नगुहार्नु, प्रहरी वा कानुनको सहाराको बिकल्प नभएको अवस्थामा पनि नायक नायिकालाई त्यो बाटो नदिइनु सिनेमाले अस्वाभाविक द्वद्न्द्वको बाटो पछ्याए जस्तो लाग्छ ।
तर सिनेमा हेरिरहेका दर्शकका लागि सिनेमाको अन्त्यतिर सम्भावित सडक दुर्घटनाले एउटा ठूलो त्रासको अवस्था सिर्जना गरेको छ । दर्शकको सम्भावित निराशालार्ई अर्कै संयोगतिर मोडिदिएर ९९ प्रतिसत दर्शकको मनोविज्ञान छाम्न सफल देखिएका छन् निर्देशक । र ती त्रुटीलाई भुल्न बाध्य पारेका छन् ।
तसर्थ प्रसाद एउटा उत्कृष्ट संयोगान्त नेपाली सिनेमा बन्न सफल भएको छ । बधाइ सिनेमा समुह ।
अन्त्यमा,
राम्रो कथामा राम्रो सिनेमा बनोस भनेर कामना गर्नुमा कुनै स्वार्थ वा आग्रहको उपस्थिती आवस्यक पर्दैन । नेपाली सिनेमाको उत्थान र विकास नेपाली नागरिकको कर्तब्यभित्र पर्छ भन्ठानेँ । र, यत्ति गरेँ ।