गल्ती नगर्ने
प्रहरी, प्रिय प्रहरी
शम्भु सुस्केरा
२०७५ असोज २२ गते १७:२० मा प्रकाशित
प्रहरीको वर्दी नागरिक सेवाको सुन्दर राजमार्ग हो । यो पवित्र
राजमार्गमा यात्रा गर्न पाउनु विश्वास गर्नेका लागि पूर्वजन्मको फल नगर्नेका लागि
राष्ट्र सेवाको अनुपम अवसर । यो अवसरका लागि विशिष्ट शारीरिक अवस्था, मानसिक क्षमता र
समर्पण भावको आवश्यकता पर्दछ ।
मानव जीवनको छोटो अवधिमा प्राप्त हुने यो सुन्दर अवसरले प्राप्त
हुने सामाजिक पहिचान र सम्मानका कारण धेरै युवायुवतीका लागि सपनाको विषय हो ।
नबुझेको कसैले छैन । तर,
कहिलेकहिँ कुनै घटनाक्रम र त्यसमा
जोडिने केही प्रहरीका कारण त्यो सामाजिक प्रतिष्ठा र सपनाको विषयलाई खण्डित
गरिदिन्छ र समाजको सबैभन्दा खराब तत्व नै प्रहरी हो कि भन्ने जसरी तरङ्गति हुन्छ
सञ्चार र सञ्जालहरुमार्फत समाज ।
एक व्यक्तिले लगाएको वर्दीको सम्बन्ध अर्को अमूक प्रहरीसँग पनि
संस्थागतरुपमै बलियो गरी गाँसिएको हुन्छ । यसै कारण समाजले प्रहरीको एक व्यक्तिबाट
हने कार्यको जस अपजस सबैलाई वा प्रहरी संगठनलाई दिने गरेको पाइन्छ । एक प्रहरीले
गर्ने गलत कार्य व्यक्तिको खराब आचरणको प्रतिफल मात्र हो, संगठनको नीति, आम प्रहरीको कर्म
वा आदर्श होइन भनेर नबुझेको वा बुझ्न नसकेको देखिन्छ । र, विषय सामान्यिकरण
तर्फ उन्मुख हुनेगर्छ ।
म आफू प्रहरी महानिरीक्षकका निर्देशनको पहुँचमा पुगेपछि ०६३ देखि
२०७५ सम्म आइपुग्दा सबैले भनेको सुनेको छु । राम्रो मात्र गर, नराम्रो गर्दै नगर, घुस नखाऊ, भ्रष्टाचार गर्दै
नगर, सेवाग्राहीसँग रुखोपीरो नबोल ।
निश्पक्ष होऊ, पक्षपात गर्दै नगर । र, निडर होऊ तिम्रो
आँट म हुँ ।
ती भाषणहरु मोफसलको तल्लो तहसम्म कति पुग्छ थाहा छैन । तर अधिकांश
अधिकृतका कानमा पुगेकै हुन्छ । तर परिणाम ठ्याक्कै त्यस्तो नआइदिँदा के लाग्छ भने
भनाइलाई सार्थक बनाउन योजनासहितको आक्रामक कार्यान्वयनको आवस्यकता पर्छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीलाई पटकपटक
भन्नुभएकै छ आवाजबिहीनको आवाज बन, पहुँचबिहीनको पहुँच
बन, केबल ठालुहरुको पछि नलाग । तर किन
त्यस्तो देखिँदैन वा भएका त्यस्ता असल कार्यलाई एक दुई गलत कार्यले छोपेको छ ।
केही दिन अघि पनि उहाँले एक आन्तरिक कार्यक्रममा प्रहरी
कर्मचारीलाई वर्दीको गरिमा र संवेदनशीलता नभुल्न निर्देशन गर्नु भयो । अवकासपछि
पनि गर्व गर्न सक्ने प्रहरी निर्माण गर्न आग्रह गर्नुभयो । ‘२४ घण्टे कामले
आफ्ना बाआमालाई प्रत्यक्ष हेरचाह गर्न भ्याइँदैन, दुईचार सय खर्च
पठाउन नभुल, फोन गरिराख ।’ उहाँको विशेष
पारिवारिक र सुन्दर आग्रह थियो प्रहरी कर्मचारीलाई ।
ट्राफिक प्रहरीप्रति पनि कहिलेकाहीँ गुनासो आउने गर्छ । केही
गुनासा नियम मिच्न नपाउँदा आउँछन् भने केहि प्रहरीका कमजोरीले नै आउँछन् । असोज ९
गते महानगरीय ट्राफिक प्रहरी महाशाखामा यसका प्रमुख एसएसपी वसन्त पन्तले तल्लो
तहका अधिकांश प्रहरीलाई भेला गरेर निर्देशन गर्नुभयो-भिखारी बनेर कसैसँग हात
नथाप्नु, सकेसम्म मीठो बोल्नु र सबैलाई समान
व्यवहार गर्नु, कसैको प्रभाव र दवाब जति झेल्नुपर्छ म
झेल्छु निडर भएर जे सत्य हो त्यो मात्र गर्नु । उहाँको स्पष्ट निर्देशन थियो
प्रहरी सेवामा रहुन्जेल चाडहरु हाम्रा हुन सक्दैनन् तर नागरिकका लागि वातावरण
बनाउन पाउनु चाहिँ हाम्रो चाड हो ।
यी र यस्ता निर्देशन प्रहरीभित्र भइरहन्छ, निर्देशन दिने र
ग्रहण गर्ने दुबै पक्षले पालना गर्ने हो भने प्रहरीबाट जानाजान कहिल्यै गल्ति
हुँदैन । गल्ती गर्न नचाहँदा नचाहँदै पनि गल्ती हुने गर्छ । ती क्षम्य पनि भएका
छन् । तर, जानाजान गरेको गल्तीसमेत क्षम्य
भइदिँदा गल्तीहरु एकबाट दश दशबाट सय र सयबाट हजार हुँदै जाने हुन् ।
आफैमा जो सचेत छ उसलाई निर्देशन चाहिन्न । खराबहरुलाई जति गरेपनि
असल हुन चाहँदैन । त्यसो भए खराबहरु चिनेर किन तिनलाई उपचार नगर्ने ? कतिबेला उसले गल्ती
गर्छ भनेर कारबाहीको अवसर ताकेर बस्ने कि खराब आचारणलाई पहिचान गरी सुधार वा
कारबाही संयन्त्रको विकास गर्ने ?
प्रहरी महानिरीक्षक भन्नु नै संगठन हो । उहाँको निर्देशन संगठनको
निर्देशन हो । कतिपयलाई संगठनको असल निर्देशन नमान्ने साहस कहाँबाट आउँछ । र ९९ राम्रा
कामलाई ओझेलमा पार्ने गरी ७५ हजारले लगाएको वर्दीमा किन घरिघरि हिलो छ्यापिरहन्छन्
। अनि यस्ता एकाधका कर्मलाई संगठनकै निर्देशनमा भएका काम जसरी बुझिन्छ ? यी दुबै दुःखद हुन्
।
केही दिनअघि कोटेस्वरबाट नौजना प्रहरी कर्मचारी अख्तियारको छड्केमा
परे । के तिनको आँट आफैँभित्र थियो कि उदाहरण र घटनाक्रमले बढायो । घरिघरि
माथिल्लो तहका अधिकृतसमेत समातिने, निलम्बन हुने र
फेरि फुकुवा हुने, पदोन्नति हुने र तिनैलाई सधैँ सलाम
गर्नुपर्ने, तिनकै इज्जत सम्मान उच्च हुने, तिनकै ठूलो डाकोमा
निर्देसित भइरहनुपर्ने कारण नै अरुका लागि प्रेरणाको स्रोत बनेको त होइन ? यो गम्भीर प्रश्न
हो ।
गुनासा सुने देखेका छौँ कतिपय जिल्लामा एउटा प्रहरी प्रमुख वा
अनुसन्धान अधिकृत अन्यायी, पूर्वाग्रही भए र
लोभी भए । त्यही मुद्दामा अर्को अधिकृत गएपछि अघिल्लोले नियतबस वा कार्यक्षमताको
कमिले गर्न नसकेको वा गर्न नचाहेको कार्यसम्पादन गरेर पछिल्लोले पीडितलाई न्याय
दिन्छ, समाजबाट स्याबासी पाउँछ र बर्दीमा
छ्यापिएको हिलो पखाल्छ ।
अब कुरो ती दुईको गरौँ । हिलो छ्याप्ने र पखाल्ने एकै
प्रतिस्पर्धामा छन् भने दुवैलाई एकै मूल्यांकनमा पारियो वा हिलो छ्याप्ने छानिएर
हिलो पखाल्ने चाहिँ पछि पारियो भने के सन्देश जान्छ । त्यसैले फालिने हुनुभन्दा
पालिने हुन खोज्नु अस्वाभाविक होइन । र त सुन्तली तामाङ र निर्मला पन्तहरुको
आत्माले न्याय र शान्ति पाउन अर्को असल प्रहरीको खोजी हुन्छ ।
कोटेश्वरमा केही हजार रुपैयाकालागि केही प्रहरीले आफू र परिवारलाई
त बदनामीमा लगे नै प्रहरी संगठनलाई पनि आलोचित बनाए । भनिन्छ, डर नहुनेको भर
हुँदैन । यही भनाइ लागु भइरहे बूढानीलकण्ठ खण्डको धोबीखोला छेउछाउबाट कोटेश्वरको
जसरी नै त्यहाँका प्रहरीहरु समातिए भने अनौठो नमाने हुन्छ । पहिले त ‘प्रहरीलाई मात्र
दोषी मानिन्थ्यो अहिले जनप्रतिनिधि पनि यसमा मिसिएजस्तो देखिन्छ । न तिनको फोन
उठ्छ, न प्रहरी आउँछ र दोहन रोकिन्छ ।’ प्रकृतिलाई माया
गर्ने सचेत स्थानीय गुनासो गर्छन् ।
कतै गल्ती पो हुने कि भनेर सेवाकालभर संवेदनशील भई काम गर्ने
इमान्दार प्रहरीको मन सधैँ अमिलिइरहन्छ यस्ता कुकर्मले ।
जानकारहरु भन्छन् प्रहरी, तस्कर र
जनप्रतिनिधि मिलेर बालुवा खाका छन् त कहाँ रोकिन्छ । बालुवा, गिटी खान पाउने, दुर्घटना बढी हुने, अश्लिलता वा अपराध
हुने, तस्करी बढी हुने ठाउँमा त्यसलाई रोक्न
नभइ त्यसबाट लाभ लिन र दिन नै मेरो वा तेरो मान्छे छान्ने प्रवृत्ति अझैँ रहेछ
भन्ने यस्तै परिणामले देखाउँछ ।
अनि एकातिर खराबहरुलाई सत्तोसराप गरेजस्तो गर्छ समाज, अर्कातिर तिनै खराब
कर्मचारी आफन्त वा परिवारका सदस्य छने भने जे गरेपनि छुट दिन्छ । इमान्दार बनेर
सामान्य जीवन यापन गरेकालाई हेप्छ र तिनै चुरीफुरीवाला भ्रष्टलाई सम्मान दिन्छ । र
सबैलाई उसको आफन्तकै चरित्रबाट मूल्यांकन गर्छ ।
खलनायकहरुले सम्मान पाइरहने यो समाजमा अपमानित भएर नायकीय आचरण
पालना गरिरहँदा ती स्वयं र परिवारको मनमा प्रश्न उठ्छ त्यो इमान्दारी केका लागि ? यसको जवाफ राज्यसँग
हुनुपर्छ व्यवहारमै ।
हामी भित्र यस्ता बिकृति छन्, यसलाई रोकौँ, यस्ता विषयले
समाजमा प्रतिष्ठा गिर्यो भनेर सुनाउने र त्यसलाई सम्बोधन हुने प्रहरी संगठन वा
सरकारमा संयन्त्र छैन । तिनलाई निरुत्साहित गरेर संगठनको साख बचाउनेहरुलाई प्रोत्साहित
गर्ने परिपाटी पनि छैन ।
‘कञ्चनपुर घटनाले
उब्जाएको बदनामीले सबै प्रहरीलाई लज्जीत पारेको होला । यसको अपजस म मात्र लिन्छु, लज्जीत म मात्र
हुन्छु, तिमीहरुले कति पनि अपमान बोध नगरी काम
गर्नु ।’ प्रहरी महानिरीक्षकले व्यक्त
गर्नुभएको अविभावकीय कर्तब्य थियो यो । तर, यस्ता घटनाले
लज्जित नहुने त रोबोर्ट मात्रै हुँदो हो । प्रहरीको इज्जत बढ्ने कामले होस् वा
प्रतिष्ठा घट्ने कामले सबै प्रहरी वा अवकास भएकाको मन बराबरि छुन्छ ।
हरेक बिहान पत्रिका पढ्ने बानी परेको १० वर्षे छोराले सुरुमै
प्रहरी सम्बन्धी समाचार पढ्छ । र, सोध्छ बाबा प्रहरी
अंकलले नै प्रहरी अंकललाई थुनेको ? निर्मला काण्ड वा
यस्तै अरु समाचारका बारेमा श्रीमतीले सोध्छे के तिनीहरु प्रभाव वा दबावमा परेकै
हुन् ? घरबाट सुरु हुने यी र यस्ता सवालहरु
रातमा नसुतेसम्म झेलिरहनुपर्छ ।
अझ प्रहरीसँगै मिलेर प्रहरीको बदनाम गर्नेहरुसमेत जानाजान हाम्रो
इमान्दारीमा उपहास गर्न यस्ता कैयन रुखा प्रश्नले हान्ने गर्छन् । अनि कसरी नगर्नु
हामीले अपमान र लज्जाबोध । एकातिर अरु जस्तै बेइमान हुन नसकेको लज्जाबोध, अर्कातिर अरुभन्दा
फरक भएकोमा लज्जाबोध ।
जबसम्म चाल्नीमा पिठो छाने जसरी प्रहरीबाट घुन र चामल छानिन्न सायद
यस्तै भईरहन्छ । कुनै प्रहरीले गल्ती गरेको समाचार आउला र कारबाही गरौँला भनेर
पर्खिनेभन्दा पनि समाचारमा नआएका तर संगठनले चिनेका वा चिनेर मूल्यांकनमा राखिरहनु
पर्छ । र अनुभवी, त्यागी, इमान्दार र
संगठनकाप्रति सधैँ चिन्ता गर्ने सबै तहका प्रहरीसँगको परामर्श र साथ प्रहरी संगठन
र नेतृत्वको बल हो भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ ।
तर,
त्यस्तो देखिँदैन । कुनै पनि परिवर्तन
वा आन्दोलनले व्यक्तिभित्रको सामन्ती मानसिकता तोड्न नसक्नेरहेछ भन्ने कुरा क्रमश
समयको पुस्तकले सिकाइरहेको छ । रक्तरंजित परिवर्तनपछि बनेको सरकारका पालामा समेत
माथि बस्नेहरुमा झन्झन् सनातनी सामन्ती सोच मौलाएको देखिन्छ । एकातिर त्यागी, बलिदानी, इमान्दार र
बफादारहरुको भन्दा बेइमान र जसरी पनि धन कमाउनेकै इज्जत चुलिँदो छ । अर्कातिर
तल्लो तहकासँग क्षमता,
योग्यता र बुद्धी केही पनि हुँदैन, ठूला घरमा बस्ने र
माथिल्लो पदमा पुगेकाले मात्र सल्लाह र साथ दिन सक्छन्, आफ्नो संगठनको माया
तिनैलाई मात्रै हुन्छ भन्ने सोचले जरा गाडेकै छ माथिकाको दिमागमा ।
न तल्लो तहसँग कुनै परामर्श गर्ने संस्कृति छ, न विश्वासको बल ।
प्रहरीका निमित्त वा प्रहरीसँग सम्बन्धित ऐन नियमावली मस्यौदा गर्दा तल्लो तहको
अनुभव र आकांक्षालाई नसेट्नु सामन्ती सोचकै उपज हो, अरु कारण छैन ।
आफ्नो सरुवा, बढुवा, वा यस्तै व्यक्तिगत
लाभहानीका कुरा गर्नेसँग भन्दा संगठनका विकृति देखाउने र संस्कृति निर्माणका उपाय
बोकेर आउने कर्मचारीका कुरा सुन्ने आधुनिक, वैज्ञानिक सोच र
फराकिलो छातीको विकास हुनु जरुरी छ ।
सरकारबाट हुने विभेदका कुरामा, बोलिदिने र गरिदिने
आजसम्म कोही देखिएन । भदौ २२ मा निजामति दिवसका अवसरमा २ लाखदेखि ५० हजारसम्मका ४१
वटा पुरस्कारका लागि २७ लाख प्रदान गर्छ सरकार । जुन स्वाभाविक पनि छ ।
त्यही सरकार मातहतको प्रहरी जसले आफ्नो परिवार, चाडपर्व, स्वास्थ्य, निन्द्रा र आफ्नो
परिवारसमेत नभनी १८ घण्टा खुट्ाको बुट नखोली राज्यका निम्ति खट्छ । र, त्यसबाट जस सरकारले
नै लिन्छ । उता २७ लाख पुरस्कार दिने सरकार यता असोज ३१ को प्रहरी दिवसमा २७ हजार
पनि दिँदैन । बरु नागरिकले स्थापना गरेका केही पुरस्कार बाँड्न अतिथि बनेर चाहिँ
हाजिर हुन्छ ।
पुरस्कारका लागि कसैले काम गर्नुहुन्न । तर एउटै सरकारका
निकायहरुबीच आफ्नो हक अधिकारका लागि आन्दोलन गर्न सक्ने र नसक्नेहरुमा विभेद गर्नु
पनि त हुँदैन । न पुरस्कार न दण्ड । संसारको कुनै पनि मुलुकमा दण्ड र
पुरस्कारबिनाको प्रशासन वा कर्मचारी तन्त्रको कल्पना मात्र आजको युग सुहाउँदो होला
त ?
यति मात्र होइन, विकृति र विभेदका
अन्य थुप्रै बुँदाहरु केलाउन सकिन्छ, जसले प्रहरीलाई
आत्मवल प्रदान गरोस् र असल प्रहरी निर्माणमा टेवा पुगोस् ।
असल खराबको कुरा गर्दा हरेक वर्षको ट्रान्सपरेन्सी इण्टर नेशनलको
रिपोर्टले भन्छ प्रहरी भन्दा खराब अरु धेरै निकाय छन् । त्यसो भए प्रहरीकै आलोचना
किन बढी । प्रश्न उठ्छ । उत्तर प्रष्ट छ प्रहरीप्रति नागरिकको अपेक्षा र प्रहरी
कार्यक्षेत्र व्यापक र संवेदनशील छ । त्यो संवेदनशीलता अनुसार हुन सकेको छैन ।
प्रहरी भन्दा अरु धेरै खराब छन् भने प्रहरी मात्र किन असल
हुनुपर्ने ? किनभने प्रहरीको बिकल्प छैन ।
प्रहरीको बिकल्प जनमैत्री, बलियो, स्वायत्त, निश्पक्ष, नैतिकवान र निडर
प्रहरी नै हो । यस्तो प्रहरीले मात्र अरु सबै खराबहरुलाई तह लगाउन सक्छ । यति भएमा
प्रहरी आजको जस्तो आलोचित हुँदैन । २०७२ को भूकम्पको बेलाको जस्तै सम्मानित हुन्छ
। यत्ति गर्न कुनै पहाड फोर्नु पर्दैन, इच्छाशक्ति भएपुग्छ
।
तसर्थ अहिलेको
प्रहरी नेतृत्वलाई सनातनी कार्य सम्पादनबाट मात्र अवकास लिने सुविधा छैन । उहाँकै
आफ्नो उर्जा सहितको पुरानो साखमा आधारित प्रहरी कर्मचारी र नागरिकको अपेक्षा ठूलो
छ । प्रहरीले गल्ती नै गर्दैन, उसले केबल निश्पक्ष
र निडरतापूर्वका जनताका लागि काम गर्छ, भन्ने विशिष्ट
विश्वास नागरिकमा पैदा गर्ने प्रयासको खोजिमा लाग्नु अहं र विशेष जिम्मेवारी रहन्छ
। त्यसलाई सघाउनु सरकार र सकल प्रहरीको कर्तब्यभित्र पर्दछ र यो सबैको साझा सवाल र
दायित्व पनि हो । ६३ प्रहरी दिवसको संघारमा आइपुग्दा यो अपेक्षा प्राप्तिउन्मुख
होस् । आफैँलाई शुभकामना